३ कार्तिक २०८३, मंगलबार

नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक शर्माको अर्को ‘अपराध’ !

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । अदक्ष चिकित्सक राखी प्रत्येक दिनजसो उपचारका नाममा लापरवाही गरी बिमारीको ज्यान दिने बिराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक सुनिल शर्मा (राजेन्द्र न्यौपाने)ले नेतालाई पालेको, घुस खुवाएको भरमा आवश्यकताभन्दा बढि भर्नाअनुमति लिएको खुलासा भएको छ ।

‘घुस लिने र दिने देशका शत्रु हुन्, यस्तो काम अपराध हो’ भन्नेमा शंकै छैन । विभिन्न अपराधको श्रृङ्खला चलाएर शून्यबाट अर्बौंको मालिक बन्ने महत्वकांक्षाको बाटो समातेका शर्माले राज्यलाई पनि गुमराहमा राखेका छन् । उनले मेडिकल काउन्सिललाई दिएको विवरणका आधारमा नोबेल शिक्षण अस्पतालका ४ सय ५० बेड नै गायब छन् ।

असार ०६७ मा अनुगमन गर्न गएको नेपाल मेडिकल काउन्सिलको टोलीले नोबेल मेडिकल कलेज विराटनगरमा ४२० बेड रहेको प्रतिवेदन दिएको थियो । त्यहाँ ६३० बेड थप्ने प्रतिबद्धतापछि शर्माको मेडिकल कलेजलाई एक सय ५० विद्यार्थी भर्नाको अनुमति दिइएको थियो । नोबेलले मेडिकल शिक्षामा प्रति विद्यार्थी ४७ लाख ९० हजार लिने गरेको थियो । यो हिसाबले काउन्सिले दिएको अनुमतिका आधारमा उसले त्यस बर्षमात्र ७२ करोड रकम उठाएको थियो । जुन सर्त उसले पुरा गरेको छैन ।

नौ महिनापछि वैशाख ०६८ मा अनुगमन गर्न गएको काउन्सिलको टोलीले ७२१ बेड पुगेको प्रतिवेदन दिएको थियो । करिब एक वर्षपछि असार ०६९ मा गएको अर्को टोलीले अस्पतालमा नौ सय बेड पुगेको जानकारी दिएको थियो । तर, सात महिनापछि प्रा.डा. विमलकुमार सिन्हाको नेतृत्वमा गएको टोलीले नोबेल मेडिकल कलेजमा ४५० मात्र बेड भेट्टाएको थियो । यस हिसाबले ४५० बेड नभएको मेडिकल कलेजले विद्यार्थी भर्नावापत उठाएको रकमले २ सय ५० करोड आर्थिक अपराध गरेको ठहर्छ । नोबेलले प्रति विद्यार्थी कम्तिमा ४७ लाख ९० हजार भर्नाशुल्क मात्र लिने गरेको छ ।

मापदण्ड नपुगे पनि विद्यार्थी भर्ना गर्न र मेडिकल कलेजको नाममा व्यापार बढाउन यसरी कागजी प्रक्रिया मिलाउने गरिएको छ । छानबिन समितिका अनुसार पूर्वाधार र अध्यापक नहुँदानहुँदै पनि जथाभावी बढाएर नोबेल मेडिकल कलेजलाई सिट दिइयो, खाने भाँडो बनाइयो, चिकित्सा शिक्षाको स्तर खसाल्ने काम गरियो, अधिकारको दुरुपयोग गरियो ।

नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले र नेकपा माओवादीका उच्च तहका नेतासँगको सम्बन्धका कारण प्रतिवेदनमा झूठ उल्लेख गरेर शर्माले आर्थिक अपराध पनि मच्चाएका छन् ।

यता, नोबेल अस्पतालमा पनि विभिन्न रोगका बिरामीको उपचारका नाममा लाखौं रकम उठाएका शर्मा विरामीको गलत उपचारका कारण भएका मृत्यु प्रकरणमा पनि विवादमा तानिन् गरेका छन् ।