लण्डन, ३१ असार । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिका करबरले विम्बल्डन टेनिसमा महिला एकलतर्फको उपाधि जितेकी छन् । शनिबार राति भएको फाइनलमा करबरले सातपटककी च्याम्पियन विलियम्सलाई ६–३ र ६–३ को सेटमा हराएकी हुन् ।
११ औँ बरियताकी करबरसँगको हारसँगै २३ पटक ग्राण्डसलाम उपाधि जितेकी सेरेनाको आमा बनेपछि पनि च्याम्पियन बनेर कीर्तिमान कायम गर्ने सपना तत्कालका लागि टुटेको छ ।
गएको सेप्टेम्बरमा छोरी जन्माएको केही महिनापछि मैदान फर्किएकी सेरेनाको यो त्यसयताको चौथो प्रतियोगिता थियो । उनले राम्रो प्रदर्शन गर्दै उपाधि नजिक पुगेकी थिइन् ।
करबरले त्यो सफल हुन दिइनन् । करबर सन् १९९६ यता विम्बल्डनको उपाधि जित्ने पहिलो जर्मन महिला बनेकी छन् ।
उता, विश्व नम्बर एक राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलबाट बाहिरिएका छन् । नोभाक जोकोविचले नाडालाई दुई दिनलगाएर हराएका हुन् ।
शुक्रबार तीन सेट तथा शनिबार दुई सेटको खेल भएकोमा जोकोविच विजयी भएका हुन् । जोकोविचले नाडालाई ६–४, ३–६ र ७–६ ९११–९०, ३–६ र १०–८ को सेटमा जित निकालेका हुन् । अब जोकोविचले उपाधिका लागि केविन एन्डर्सनसँग आइतबार प्रतिस्पर्धा गर्नेछन् ।
शुक्रबार केविन एन्डर्सन र जोन इस्नरबिचको सेमिफाइनल खेल लामो भएपछि नाडाल र जोकोविचको खेल ढिला सुरु भएको थियो । त्यसैले गर्दा खेल शनिबारका लागि स्थगित गरिएको थियो । शुक्रबारको खेलमा नै अग्रता लिएका जोकोविचले जित निकाले । एजेन्सी















प्रतिक्रिया