
काठमाडौँ, २९ असार । पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मार्याम शुक्रबार पाकिस्तानको लाहोरबाट पक्राउ पर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हाल लण्डनमा रहेका उनीहरु शुक्रबार नै पाकिस्तान फर्किदै छन् । स्थानीय समय अनुसार साँझ सवा ६ बजे उनीहरुलाई पक्राउ गरिनेछ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएपछि उनलाई अदालतले १० वर्षको जेल सजाय तोकेको छ भने उनकी छोरी मार्यामलाई ७ वर्षको जेल सजाय तोकेको छ । ६७ वर्षका सरिफ विगत ३० वर्ष देखि पाकिस्ताको मुख्य नेताको रुपमा चिनिदै आएका छन् । तर, सरिफसँगै उनकी छोरी पनि पक्राउ पर्ने कुरा पाकिस्तानी भ्रष्टाचार नियमन निकायका लागि टाउको दुखाईको विषय बनेको छ ।
ईस्लामावादस्थित नेसनल एकाउन्टबिलिटी ब्यूरो (एनएबी) ले उनी कैदका लागि पक्राउ पर्ने पहिलो पाकिस्तानकी दोषी महिला रहेको उल्लेख गरेको छ ।
मार्याम भ्रष्टाचारमा प्रत्यक्ष सहभागी भएको नदेखिएको भन्दै अदालतले सात वर्षको कैद सुनाएको हो । यस विषयमा प्रतिक्रिया दिँदै सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले भनेको छ, ‘त्यहाँ एक समय थियो जब हामी एक राज्यभित्र एक राज्य भन्थ्यौं, अब यो राज्य भन्दा माथि एक राज्य हो ।’
पाकिस्तानी सर्वोच्च अदालतले सरिफलाई आगामी चुनावको लागि अयोग्य घोषित गरिसकेको छ । पाकिस्तानमा आगामी जुलाई २५ मा आम चुनाव हुँदैछ । -एजेन्सी















प्रतिक्रिया