१ कार्तिक २०८३, शनिबार

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा नेपालीको मन जित्यो

59k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विश्वराज थापा

बाल्टिमोर, (अमेरिका), २९ असार । संसारका प्रतिष्ठित चलचित्र महोत्सवमा डेढ दर्जन अवार्ड जित्न सफल भएको बहुचर्चित बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ले अमेरिकाबासी नेपालीहरुको मन जितेको छ ।

लमजुङ – अमेरिका सेवा समाजले बाल्टिमोरमा गरेको विशेष च्यारिटी शोमा अमेरिकाबासी नेपालीहरुले भाग्यले बाँचेकाहरुको मुक्तकण्ठले प्रशंसा गरे । ५५ मिनेटको वृत्तचित्र हेरिञ्जेल कोही आँशु झार्दै थिए, कोही टोलाउँदै थिए ।

वृत्तचित्र हेर्न आइपुगेका नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत एवं वरिष्ठ लोकगायक प्रेमराजा महतले आफूले जीवनमा कहिल्यै पनि भाग्यले बाँचेकाहरु जस्तो उत्कृष्ट डकुमेन्ट्री नहेरेको बताए । नेपालको इतिहासमा अत्यन्तै राम्रो डकुमेन्ट्री बनेको भन्दै उनले भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेको प्रशंसा गरे ।

दर्शकदीर्घाको पहिलो पंक्तिमा बसेकी बाल्टिमोरमा रहेका नेपालीहरुको छाता संस्था बाल्टिमोर एशोशियशन अफ नेप्लीज इन अमेरिकन् (बाना) की अध्यक्ष अनुशया वन्तले झन आफूलाई सम्हाल्नै सकिनन् । भक्कानिएर रुँदै गरेकी उनले आफूहरु पनि भाग्यले नै बाँचेको बताइन् । एनआरएन मेरिल्याण्डका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभुराम थापा, बाल्टिमोर आमा समूहकी अध्यक्ष काजिङ गुरुङ, उपाध्यक्ष सुवर्ण लामा, बानाका वरिष्ठ उपाध्यक्ष सुबोधविलास पन्त, पूर्वउपाध्यक्ष शतिश चापागाईं, शिव मल्ल, प्रकाश श्रेष्ठ लगायत भक्कानिरहेका देखिन्थे ।

कार्यक्रममा लमजुङ – अमेरिका सेवा समाजका अध्यक्ष शशी थापाले सर्वाधिक चर्चामा रहेको डकुमेन्ट्री बाल्टिमोरबासीलाई देखाउन पाउँदा आफूहरु निकै हर्षित भएको बताए ।

‘भाग्यले बाँचेकाहरु’ हेरेर भक्कानिएका लमजुङ समाजका अध्यक्ष थापा र उनकी धर्मपत्नी अप्सरा कुँवर थापाले भाग्यले बाँचेकाहरुका पात्र अर्घाखाँचीका ऋषि खनाललाई व्यक्तिगत रुपमा दुई सय डलर रुपैँया प्रदान गरेका छन् । भूकम्पमा परेर खुट्टा गुमाएका ऋषिकी धर्मपत्नी कविताको पनि अहिले स्वास्थ्य खराब भएकाले उनको उपचारका लागि थापा दम्पतीले सहयोग गरेका हुन् । अन्य दर्शकहरुले पनि भाग्यले बाँचेकाहरुका पात्रहरुलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

कार्यक्रममा उपाध्यक्ष अरुणआकाश श्रेष्ठले लमजुङ समाजका तर्फबाट निर्देशक पाण्डेलाई निर्देशक पाण्डेलाई सम्मान गरेका थिए भने महासचिव रमेशकुमार श्रेष्ठले भाग्यले बाँचेकाहरु कार्यक्रम सफल बनाउन सहयोग गर्ने बाल्टिमोरबासी नेपाली र स्वयमसेवकहरुलाई धन्यवाद दिए ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा बाँच्न सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ । यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा समेत प्रथम बन्न सफल यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको छ ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो ।

यो वृत्तचित्र आगामी जुलाई १५ आइतबार र २० तारिख शुक्रबार शेर्पा किदुङको हल न्यूयोर्कमा प्रदर्शन हुँदैछ । कार्यक्रमको तयारी भव्य रुपमा भइरहेकोले भाग्यले बाँचेकाहरु हेर्नका लागि उपस्थित भइदिन युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्देन शेर्पाले आग्रह गरेका छन् ।