शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

नोबेल मेडिकल र सुनिल शर्मालाई कसले दियो ‘मान्छे मार्ने’ लाइसेन्स ?

प्रहरीकै मध्यस्तता भएपछि पीडितले कहाँ दिने उजुरी ?

दैनिक नेपाल २०७५ असार २७ गते १४:३२

काठमाडौं, २७ असार । बिराटनगरको कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज र त्यसका सञ्चालक सुनिल शर्माको ‘मान्छे मार्ने’ दादागिरीले सीमा नाघेको छ ।

पीडित परिवारलाई बोलकबोल गरेको क्षतिपूर्ति दिनुको साटो धम्क्याउने गरेको नोबेल प्रशासनले प्रसुती गराउन पुगेका विरामीको लापरवाही उपचार गर्दा ज्यान जाने गरेको छ । जुन एकप्रकारको ‘हत्या’ नै ठहर्छ । ‘अदक्ष डाक्टर र गलत उपचारले मृत्यु भएपछि त्यो एक प्रकारको हत्या नै हो’, सर्वसाधारण भन्छन् ।

नोबेलमा प्रसुतीका लागि आएका बिरामी एक पछि अर्को गरी मृत्यु हुन थालेपछि नोबेल मेडिकल कलेज र त्यसका सञ्चालक सुनिल शर्माको पहुँच र शक्तिकेन्द्र आडको दादागिरीले सीमा नाघेको हो ।

यसै सातामात्र दुई जना प्रसुती गराउन आएका महिलाको नोबेलले ज्यान लिएको छ । २ जनामध्ये सुनसरी गढी– ६ की चाँदनी मेहताको परिवारलाई क्षतिपूर्ति दिन अस्पताल प्रशासन तयार भएको थियो । प्रहरीसहितको मध्यस्तता भएपछि पीडित परिवार उजुरी दिनुको साटो सहमतिमा आउन बाध्य पारिए । र, ५ लाख क्षतिपूर्ति रकम अस्पतालले दिने विषयमा सहमति भयो । जुन रकम अस्पताल प्रशासनले अहिले सम्म दिएको छैन, बरु उल्टै पीडितलाई धम्की दिइने गरेको छ ।

चाँदनीको शनिबार दिउँसो ३ बजे ज्यान गएको थियो । मृत्यु हुनुभन्दा ५ दिन अघि भर्ना भएकी चाँदनीको सामान्य अवस्था हुँदाहुँदै चिकित्सकले लापरवाही गरे । ‘अस्पतालमा बचाउन ल्याउने हो, स्वस्थ्य मानिस मार्न ल्याउने होइन, यहाँ यस्तै भइरहेको छ’, चाँदनीका आफन्तले भने,‘त्यसपछि हप्की दप्की पनि खेप्नु परेको छ ।’

प्रहरीको रहोबरमा अस्पताल प्रशासनले पीडित परिवारलाई दिने ५ लाख नगद मृतकका २ छोरीका नाममा रकम जम्मा गरिदिने सहमति भएको थियो । मृतकका जेठाजु गंगाप्रसाद मेहताका अनुसार सहमतिअनुसारको सो रकम लिन आइतबार अस्पताल जाँदा अस्पताल सञ्चालक सुनिल शर्माले हप्काए । उनले धम्कीपूर्ण भाषामा २ लाख मात्र पाउने बताएका थिए ।

मृतकका अर्का आफन्त वीरेन्द्र मेहताले अस्पतालका जिम्मेवार व्यक्तिसहित जिल्लाका महत्वपूर्ण प्रहरी अधिकारीसमेत बसेर भएको सम्झौता अस्पतालले उल्लंघन गरेको बताए ।

मोरङ जिल्लाका डिएसपी निशान थापाले अस्पतालले पीडित पक्षसँग सहमति भएको सुनेको बताए । मृत्यु भएको वा डाक्टरको लापरवाहीका कारण ज्यान गएको भन्ने उजुरी नपरेको बताए । ‘उपचारका क्रममा ज्यान त गईहाल्छ नी ! तर लापरवाहीका कारण गएको भन्ने उजुरी यहाँ आएको छैन’, उनले दैनिक नेपालसँग भने,‘सहमति भएको केही दिनमा पीडितहरूको टोली आएको भन्ने सूचनाका आधारमा सुरक्षा दिन पुगेको हो, त्यसपछि कस्तो सहमति भएको छ थाहा छैन ।’

प्रहरी आफैं मिलापत्रका लागि मध्यस्ततामा बसेपछि पीडितले उजुरी दिने निकायको ढोका नै बन्द गराइयो ।

चाँदनी मृत्यु प्रकरणमा अस्पतालका प्रबन्ध निर्देशक शर्माको कुनै प्रतिक्रिया आउन सकेन । अस्पताल प्रशासनलाई दैनिक नेपालले सोध्न खोज्दा प्रशासन प्रमुख सम्पर्कमा आउन चाहेनन् ।

शर्मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग सम्बन्ध राख्छन् । उनी गएको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार पनि बनेका थिए । उनीमाथि नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोप पनि छ । नक्कली डाक्टरविरुद्धको प्रहरीको अप्रेशन चलेका बेला उनी फरार थिए ।

प्रतिक्रिया
सम्बन्धित