
काठमाडौं, २३ असार । ट्रेकिङ व्यावसायमा भएको ठगीका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन थालेपनि कतिपय शक्ति केन्द्रको आडमा रहेका कारण प्रभावकारी हुनेमा चिन्ता बढेको छ ।
राज्यलाई अर्बौ ठग्ने केही ट्रेकिङ व्यावसायीलाई सत्तारुढ दलका नेता निकट रहेकै कारण विदेश भ्रमणमा पनि विशेष सुरक्षा व्यवस्था दिइएको थियो । यी मध्येका एक हुन् टासी शेर्पा । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला विशेष सुरक्षा दिइएको थियो ।
पर्यटकलाई जानाजान बिरामी बनाएर केहि ट्रेकिङ व्यवसायमा कमाउ धन्दा चलाउने मध्ये शेर्पा १ नम्बरमा गनिन्छन् । तर उनीमाथि छानबिन सोझिनेमा शंका छ । मन्त्रालयले ठगीको उजुरी परेका कतिपयमाथि अनुसन्धान गरिरहेको छ ।
पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट उद्दार गर्ने र सो बापत बीमा दाबी गरी झूठा विवरण पेस गरी व्यावसायीले राज्यबाट अर्बौं लुटिरहेका छन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसामु यस्ता कयन उजुरीको चाङ आउन थालेको छ । मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
यस्ता ठगलाई ट्रिप एडभाइजरीले कालोसूचीमा राखेको थियो ।
फ्लाइट कनेक्सन इन्टरनेशनल ट्राभल्स एजेन्सीका सञ्चालक श्यामसुन्दर कँडेलले विदेशी पर्यटकलाई फर्जी बिरामी बनाएर उद्दारको नाममा ठगी गर्दै आएका छन् । एयर डाइनेष्टी हेलिकप्टरमा समेत लगानी गरेका उनको कम्पनीले विदेशी पर्यटकले पर्वतारोहणको लागि विदेशमा गरिआएको बीमाबाट रकम असुल्न नक्कली बिल बनाई बीमा कम्पनीलाई ठगीरहेका छन् ।
यस्तै शेर्पाले सेभेन समिटका नाममा अकुत सम्पत्ति जम्मा गरी अहिले १४ पिक भन्ने कम्पनी खोलेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तस्बिर खिचाएर सम्बन्ध रहेको देखाउँदै ट्रेकिङ व्यावसायमा उनको ठगीको जगजगी हुन थालेको छ । उनी नेकपाका युवा नेता भन्दै विभिन्न भ्रमणमा समेत जाने गरेका छन् ।
को हुन् टाँसी ?
टासी तत्कालिन नेकपा माओवादी केन्द्रसँग सम्बन्ध राख्ने ट्रेकिङ व्यावसायी हुन् । प्रचण्डसँग सम्बन्ध राख्नका लागि दिवंगत छोरा प्रकाश दाहालसँग सम्बन्ध निकट बनाएका शेर्पाले खुमलटारमा नजिकको सम्बन्ध रहेको बताउँछन् । अध्यक्ष प्रचण्डसँग एकाध तस्बिर खिचाएर त्यसैको भरमा विदेश सयर गरेका टासीले तत्कालिन नेकपा एमालेका नेताहरूसँग पनि नजिकको सम्बन्ध बनाएका छन् ।
त्यतिमा होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि उनले नजिकको सम्बन्ध बनाएका छन् । उनको कम्पनीमाथि पनि पर्यटन मन्त्रालयले नजर लगाएको छ ।
खासमा तत्कालिन माओवादी केन्द्र र अहिलेको नेकपाको कुनै पनि कमिटीमा नरहेको टासीले ठगी धन्दा चलाउनका लागि आफुलाई नेता भन्ने गरेका छन् । नेकपाका युवा नेताहरुका अनुसार आफ्नो व्यावसाय चलाउनका लागि नेताका पाउ पर्ने र बाहिर आफ्नो सम्बन्ध उपल्लो तहसम्म रहेको देखाएर धम्की दिने काममा पनि टासी सक्रिय छन् ।















प्रतिक्रिया