मस्को, २० असार । विश्वकप फुटबलको मंगलबार रातिको खेलमा इंग्ल्याण्डले क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।
अन्तिम प्रिक्वाटरफाइनल खेलमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हरायो ।
विश्वकपमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा पुगेर खेल जितेको यो पहिलोपटक हो । यसबाहेक सन १९९६ को युरोमा पनि इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्पेनलाई हराएको थियो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमा भएको हो । इंग्ल्याण्डलाई जिताउन गोलकिपर जोर्डन पिकफोर्डले माटेउस उरिवको पेनाल्टी रोके भने कोलम्बियाका कार्लोस बाक्को प्रहार बाहिरियो ।
इंग्ल्याण्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन, मार्कोस रासफोर्ड, किरण ट्रिपर र एरिक डारले गोल गरे । जोर्डन हेन्डरसनको प्रहार कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले रोके ।
कोलम्बियाका लागि कप्तान राडेमल फाल्काओ, जुवान कुअड्राडो र लुइस मुरिएलले मात्र गोल गरे । कोलम्बियाले लगातार ३ पेनाल्टी गोलमा परिणत गर्दै इंग्ल्याण्डको तेस्रो पेनाल्टी रोक्दै अग्रता बनाएको थियो । लगत्तै पिकफोर्डले पेनाल्टी रोकेपछि इंग्ल्याण्ड खेलमा फर्केको हो ।
इंग्ल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि स्वीडेनसँग खेल्नेछ । इंग्ल्याण्ड सन् २००६ पछि पहिलोपटक क्वाटरफाइनल पुगेको हो ।
यसैगरी कप्तान ह्यारी केनले रसिया विश्वकपमा अहिलेसम्म ३ खेल खेल्दै सर्बाधिक ६ गोल गरिसकेका छन् र गोल्डेन बुटको होडमा अगाडि छन् ।
इंग्ल्याण्डका लागि पेनाल्टी रोकेका पिकफोर्ड हाल प्रिमियर लिगमा एभरटनबाट खेल्नछन् । ८ वर्षको उमेरमै सण्डरल्याण्डको युथ एकेडेमीमा पुगेका उनले सन् २०११ मा सण्डरल्याण्डको सिनियर टिमसँग सम्झौता गरेका थिए ।
त्यसपछि लगातार ६ क्लबमा लोनमा बिताए र अन्ततस् गत वर्ष देखि उनी एभरटनको पहिलो रोजाइको गोलकिपर छन् । उनले एभरटनसँग ५ वर्षे सम्झौता गर्नुअघि डार्लिङटन, अल्फ्रेटोन टाउन, बर्टन अल्विओन, चार्लिस्ले युनाइटेड, ब्राडफोर्ड सिटी र प्रेस्टन नर्थ एण्डमा लोनमा बिताएका थिए ।
उनले २०१७ नोभेम्बरमा वेम्वलीमा जर्मनीविरुद्ध खेल्दै इंग्ल्याण्डका लागि डेब्यु गरेका थिए । पहिलोपटक ठूलो प्रतियोगिता खेलरहेका पिकफोर्डले रसियामा समूह चरणका ३ वटै खेल पहिलो रोजाइमा रहेर खेलेका थिए ।
विश्वकपमा पेनाल्टी सुटआउटमा पेनाल्टी रोक्ने पिकफोर्ड दोस्रो इंग्लिस खेलाडी हुन् । यसअघि १९९८ मा डेविड सिअमनले अर्जेन्टिनाका हर्नान क्रेस्पोको पेनाल्टी रोकेका थिए । एजेन्सी















प्रतिक्रिया