काठमाडौं, १९ असार । नेपाल कम्यनिस्ट पार्टी (ने क पा)ले आफ्नो बर्चश्व कायम गरिरहेका बेला नेपाली कांग्रेसले आफ्नो संगठनलाई मजबुत बनाउने योजनामा लागेको छ ।
कांग्रेसले वडादेखि नै संगठनलाई मजबुत बनाउने तयारी गरेको हो । कांग्रेसका नेता दीपक गिरीका अनुसार वडा बुथ तहदेखि सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ ।
निर्वाचनमा भोगेको पराजयको कमीकमजोरीलाई सुधार्न कांग्रेसले बुथ तहसम्म पुग्ने योजना बनाएको हो । नेकपाले आफूलाई दुईतिहाई बहुमतको नजिक पु-याएपछि आत्तिएका कांग्रेस नेताहरूले केन्द्रीय राजनीतिलाई भन्दा पनि गाउँको राजनीतिलाई ध्यान दिन थालेका छन् । कांग्रेस नेताहरूले नेकपासँग मुकाबिला गर्न जनताको मन जित्ने गरेर कार्यक्रम बनाउने बताउँदै आएका छन् ।
पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर बनेको नेकपा केन्द्र र प्रदेशमा सरकार बनाएका छन् । ती सरकारमा कांग्रेस प्रमुख प्रतिपक्षका रुपमा छ । सत्ताभन्दा बाहिर रहेको कांग्रेसले संगठन निर्माणलाई नै ध्यान दिनेछ ।
निर्वाचनमा भएको कमीकमजोरीका विषयमा केन्द्रमा भन्दा स्थानीय स्तरमा मतदानस्थल र बुथमा खट्ने नेता कार्यकर्ताहरूसँग बढी अनुभव भएकाले बुथ तहसम्म नै जाने तयारी गरिएको छ ।
आगामी महासमिति बैठकअघि नै नीति तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकारी समिति बनाएर स्थानीयस्तरसम्म प्रशिक्षण लैजाने कांग्रेस नेता गिरीको भनाइ छ ।
कांग्रेसले प्रशिक्षणमार्फत तल्लो तहदेखि नै कार्यकर्ताहरूलाई वैचारिक र संगठन सुदृढीकरण गर्ने लक्ष्यसहित प्रशिक्षण चलाउन लागेको हो ।
प्रशिक्षणमार्फत राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली तथा अहिंसा र शान्तिका पक्षमा नीतिगत बहस हुनेछ । पार्टीको नीति परिवर्तनका विषय र नेतृत्व निमार्णका विषयमा कार्यकर्ता प्रशिक्षित गर्ने तयारी भएको छ ।
कांग्रेसको प्रशिक्षणका लागि केन्द्रमा प्रशिक्षण समिति बनाउने, कार्यसूची लेख्ने र कोड अफ कन्डक्ट बनाउने काम भइरहेको नेताहरूले बताएका छन् । सबै प्रदेश र सबै निर्वाचन क्षेत्रका सबै स्थानमा प्रशिक्षण हुनेछ । ग्रामीण भेगदेखि नै दिने प्रशिक्षणको रणनीति नेतृत्वले पार्टी कार्यालयमा नै तयार पारिरहेको छ ।
भदौका लागि महासमिति बैठक बोलाएको कांग्रेसले प्रशिक्षण कार्यक्रमलाई निरन्तर रूपमा जारी राख्ने भएको हो । महासमितिमार्फत कांग्रेसले नयाँ संरचनाअनुसार पार्टीको विधान परिमार्जन गर्ने र संगठन सुदृढीकरणका लागि समेत ठोस निर्णय लिनेछ ।















प्रतिक्रिया