
काठमाडौँ, १६ असार । रुसमा विश्वकप फुटबलमा आजदेखि नकआउट चरणका खेल प्रारम्भ हुँदैछन् । शनिबार पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।
अन्तिम १६ अन्तर्गतको पहिलो खेलमा भेट हुने फ्रान्स र अर्जेन्टिना दुवैले अहिलेसम्म प्रतियोगितामा आफ्नो छविअनुसार प्रदर्शन गर्न सकेका छैनन् ।
यी दुवै टिम विश्व फुटबल जगतमा निकै प्रख्याती कमाएका टिम र मुलुक हुन् । साँझको खेलमा पल पोग्वा, एन्टोनी ग्रिजम्यान, लियोनल मेसी, एन्जेल डी मारिया लगायतका खेलाडीको कस्तो जादु चल्ने हो, सबै प्रतिक्षारत छन् ।
समूह चरणअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा ३–० ले पराजित हुँदा अर्जेन्टिनी टोलीमा खेलाडीको ढल्कँदो उमेर र असन्तुलन प्रष्ट देखिएको थियो । तर, डिएगो म्याराडोनाबाट निर्देशित मेसीले अन्ततः प्रतियोगितामा गोलको खाता खोलेको खेलमा मार्कोस रोहोले सनसनीपूर्ण गोल गरेपछि २०१४ को उपविजेता टोली नाइजेरियालाई हराउँदै नकआउट चरणको टिकट काट्न सफल भयो ।
डिडियर डेशच्याम्पसको फ्रान्स पनि प्रतियोगिता सुरु हुनुपूर्व उपाधिको कागजी दाबेदार थियो । अपराजित रहँदै समूह चरण पार गरे पनि फ्रान्सको प्रदर्शनमा भने सन्तुष्ट हुने ठाउँ अत्यन्तै कम थियो ।
पहिलो रोजाईका स्ट्राइकर एन्टोनी ग्रिजम्यान उच्च फर्म समाउन असफल हुँदा फ्रान्सको मिडफिल्ड पनि रचनात्मक तरिकाले खेल बनाउने पक्षमा सफल भएन । तर, डेशच्याम्पस शनिबार नकआउट चरण सुरु हुँदासम्म आफ्नो टोली पूर्ण रुपमा ठिक ठाउँमा आइपुग्नेमा विश्वस्त छन् ।















प्रतिक्रिया