
टेक राज थापा
कतार, १६ असार । साउदी अरबमा जेल जीवन बिताइरहेका रोल्पा जिल्लाका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रोल्पा जलजला सेवा समाज कतारले गरेको दिलबहादुर घर्ती बचाउ अभियानमा संकलन गरिएको रकम सार्वजनिक गरेको छ । समाजले बिहीबार पत्रकार सम्मेलन गरि उक्त रकम सार्वजनिक गरेको हो ।
साउदी अरबमा जेल जीवन बिताइरहेका घर्तीलाई समाजले सुचारु गरेको अभियानमा जलजल समाज अन्तर्गत गाविस स्तरीय संघ–संस्थाहरुको सक्रियतामा जनप्रगतिशिल सेवा समाज नयाँ बस्ती लुङग्री ३, गुम्चाल प्रवासी सेवा समाज, रांक प्रवासी सेवा समाज, बराहक्षेत्र संरक्षण समिति बडाचौरको विशेष पहलमा नेपाली दुई लाख संकलन गरेको छ ।
उक्त अभियानबाट सङ्कलन भएको रकम केही दिन भित्रमै इन्द्रेणी कार्यक्रम मार्फत निजको परिवारलाई हस्तान्तरण गरिने संस्थाका अध्यक्ष शिव बुढाथोकीले जानकारी दिए ।
पीडित घर्तीको घरमा श्रीमती, ८ बर्षकी छोरी र ४ बर्षको छोरा छन् । घर्ती २०७२ साल १० महिना १८ गते रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए । साउदी पुगेको तीन महिनामै सवारी चलाउने क्रममा गाडी ठोक्किएर स्थानीय नागरिकको ज्यान गएपछि उनी मिती २०७३ साल जेष्ठ महिनाको ३० गते जेल चलान भएका थिए ।
मृतको परिवारले ‘ब्लडमनी’ स्वीकार गरे घर्तीलाई स्वदेश फर्काउन सकिने साउदी नागरिक उच्च अदालतले घर्तीको पक्षमा ७५ प्रतिशत गल्ति देखाई उनलाई साउदी रियाल २ लाख २५ हजार (नेपाली झण्डै ६५ लाख रुपैयाँ) मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसलाको निर्णयप्रति पक्षमा नेपाली दुतावास रियादले अदालतमा पुनरावेदन गरेको थियो । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।
निजको श्रीमतीले इन्द्रेणी कार्यक्रम मार्फत देश विदेशमा रहेका सम्पूर्ण संघ–संस्था तथा समाजसेवीहरुलाई सहयोगको लागि याचना गरेकी थिइन । समाजले कतारमा स्थापित संघ संस्थाहरुलाई पत्राचार तथा संस्थाको आधिकारीक सामाजिक संञ्जालहरु मार्फत सहयोग अपिल गरेको थियो । समाजले घर्ती बचाउ अभियानमा सहयोग गर्नुहुने सहयोगी मनहरुलाई धन्यबाद प्रकट गरेको छ ।
समाजले हिजोको मितिदेखि लागु हुनेगरी घर्ती बचाउ अभियान कतारबाट बन्द गरेको छ । कसैले उक्त व्यक्तिको नाममा रकम संकलन नगर्न र नगराउन सबैमा अनुरोध गरेको छ ।
श्रम मन्त्रालयका अनुसार विदेशमा अलपत्र परेका कामदारहरूलाई नेपाल ल्याउने उचित विधिबारे अध्ययन गर्न एक कार्यदल गठन भएतापनि कुनै उद्धार कार्यान्वयन नहुँदा पीडित घर परिवार र शुभेच्छुकहरुले गुनासो व्यक्त गरेका छन ।















प्रतिक्रिया