३ कार्तिक २०८३, मंगलबार

सात जुनीसम्म बाँच्ने कसम खाने, ल्याएपछि बञ्चराले हान्ने !

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

काठमाडौं, १३ असार । दैनिकजसो नै पतिले पत्नीको हत्या गरेका खबर विभिन्न ठाउँबाट आउने गरेका छन् । नेपाली समाजमा यस्ता घटनाको ग्राफ न्युनिकरण भन्दा पनि उकालो लागेको देखिन्छ । दाम्पत्य जीवनका लागि प्रेम र मागी विवाह गरेर बनेका सम्बन्धमा पत्नी हत्या बढेको देखिन्छ भने कतिपय ठाउँमा पत्नी हत्या समेत भएको छ । कतिसम्म भने, हत्या गरेर नपुगेर काटेर चोक्टा–चोक्टा पकाएर खाएका समाचार पनि केही बर्षका अन्तरालमा प्रकाशित र प्रशारित भए ।

यस्ता घटना आम साधारणदेखि उपल्ला ओहदामा काम गरेका कतिपय व्यक्तिबाटै भएका पर्याप्त उदाहरण छन् । प्रहरीको अपराध महाशाखा भन्छ– यस्ता घटनाको रेकर्ड असामान्य छन् ।

यसै वर्ष पनि पत्नी हत्याका मुद्दा कम भएनन् । अघिल्ला बर्षको तथ्यांक हेर्ने हो भने त समाजको चित्र नै अचम्म लाग्दो देखिन्छ । बारामा जिल्लामा गत वर्ष कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले ३० वर्षकी श्रीमती उन्तीको बञ्चरो प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घारायसी झगडाका क्रममा कृष्णले उन्तीको हत्या गरेका थिए । विवाद बढ्दै गएपछि दुवै जनाबीच हात हालाहाल भएको र कृष्णले अचानक बन्चरोले कुन्तीको टाउकोमा प्रहार गरेको बताइएको छ ।

सात जुनीसम्म सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर बिहे गर्ने समाजमा मार्ने मनसाय कसरी आउँछ ? समाजशास्त्रीहरू यसलाई आवेगको दुर्घटना, असन्तुष्टिको प्रतिशोध र पागलपन पनि भन्छन् । अति सामान्य परिवारमा मात्र होइन, उपल्लो ओहदामा रहेकाहरूबाट पनि यस्ता घटना भएका छन् । जसले शक्ति त्यसले दिएको सुविधाको दुरुपयोग गरेका थिए ।

५ वर्षअघि सशस्त्र प्रहरी बलका तत्कालिन डिआईजी रञ्जन कोइरालाले आफूले श्रीमतीको हत्या गरेको स्वीकारे । प्रहरी अधिकारीले बयान लिने क्रममा कोइरालाले अपराध स्वीकारेका थिए । उनी अहिले जेलमा छन् । घरबाट बेपत्ता भएकी डिआईजी कोइरालाकी श्रीमती गीता ढकालको हत्या गरेको आशंका उनलाई पक्राउ गरिएको थियो ।

प्रहरीले मकवानपुरको पालुङ्मा एउटा लास भेट्टाएको थियो । डिआईजी कोइराला उक्त घट्नास्थल पुगेको भन्ने खवरका आधारमा आशंका गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

ढकालका आफन्तहरूले डिआईजी कोइरालाले श्रीमती गीताको अपहरण गरेको उजुरी गर्न खोज्दा पर्याप्त प्रमाण नभएको भन्नै दर्ता गरिएको थिएन । डिआईजी कोइरालाले भने विगत १० बर्षदेखि आफूहरू छुट्टिएर बसेको दाबी गर्दै आएका थिए । कोइरालाले हत्या गर्नुको कारण उनको अर्को सम्बन्धमा गीताले धावा बोल्नु थियो । पद र प्रतिष्ठाको आडमा उनले कयन युवतीहरूसँग सम्बन्ध राखेपछि बढेको विवादका कारण कोइराला आपराधिक मानसिकतामा पुगेका थिए ।

हत्याको मनोविज्ञानले सताउन थालेपछि मान्छेले केही पनि वास्ता गर्दैन । यस्ता हत्या आवेगमा हुने भए पनि व्यवस्थापन योजनाबद्ध हुने या हत्यारा भाग्ने गरेका घटना कम छैनन् ।

फरक सम्बन्धका कारण हत्या गर्नेको सूची पनि कम छैन । केही महिना अघि अर्को केटाको फोन आएको निहुँमा झापाको कनकाई नगरपालिका–३ मा १८ वर्षकी शर्मिला माझीको आफनै श्रीमान् सविन माझीले हत्या गरेको स्वीकारेका थिए । अर्कै केटासँग फोनमा कुरा गरेको निहुँमा पत्नीको हत्या गरेको सविनले स्वीकार गरेका थिए ।

प्रविधिका कारण बहुआयामिक सम्बन्ध बन्ने गरेका कारण पनि कतिपयले अपराध कर्मलाई रोजेका छन् । कोही अन्य युवतीको प्रेममा परेर पत्नी हत्यामा उद्दत हुन्छन् भने कोही पत्नी प्रेमलाई सहन नसकेर हत्यासम्म पुग्छन् ।

रिसको सीमा नाघेपछि हतियारले मात्र होइन, हातैले पनि काम तमाम् पारेका उदाहरण कम छैनन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक व्यक्तिले श्रीमतिको हत्या गरेका थिए । भीमदत्त नगरपालिका–१८ भगतपुरका किशोर चुनाराले आफ्नी ३० वर्षिया श्रीमति जयश्री देवी चुनाराको हत्या गरेका थिए । उनको घाँटी च्यापेर हत्या गरिएको प्रहरीले जनाएको छ । कामका लागि भारतको दिल्लीमा बस्दै आएका किशोरकी पत्नीसँग अन्य व्यक्तिको विषयलाई लिएर विवाद भएको थियो ।

कतिपयले सामान्य कारणले पनि हत्या गरेका पाइन्छन् । तर धेरैजसो सामाजिक विकृतिको उग्रताका कारण अपराध बढेको पाइन्छ । परिवारभित्र तेस्रो व्यक्तिको प्रवेशका कारणले सम्बन्ध विच्छेदको परिच्छेद उपल्लो र हुनेखाने परिवारमा भए पनि सामान्य दाम्पत्य जीवनमा भने अपराधको बाटो बलियो भइरहेको छ ।

जो हत्याकै चरणमा पुग्छन् उनीहरू भने मानसिक रोगी नै भएको कतिपय चिकित्सक बताउँछन् । मानसिक रोगीले कि आत्महत्या कि हत्या नै गर्छ । रिस र आवेगलाई नियन्त्रणमा नराख्दा नेपाली समाजमा यस्ता घटना विचित्र बनिरहेका छन् ।