शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

यस्ता छन् ओली सरकारका चुनौती र अवसरहरु

दैनिक नेपाल २०७५ असार ६ गते २१:३९

-वि.वि. श्रेष्ठ
नेपालमा भएको लामो राजनैतिक आन्दोलनको लामो समय र विगतमा भएको सरकार परिवर्तनको असामान्य अवस्थाको बिचमा तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लामो समयपछि ईतिहासकै बलियो सरकार बनेको छ । नौ–नौ महिनामा सरकार परिवर्तन मात्र नभई आफनै पार्टीको नेतृत्वमा सरकार हुदाँ समेत राजनैतिक दरिद्रतामा रहेको नेपालको राजनैतिक दलहरुको व्यक्तिगत स्वार्थ र अभिष्टतामा कुनै पनि सरकार लामो समय चल्न सकेन । यसको प्रत्यक्ष असर नेपाली जनतामा पर्न गयो । राजनैतिक व्यवस्था परिवर्तन भएता पनि उहि सरकार बनाउने र गिराउने खेलमा लाग्दा विश्व राजनीति धेरै अगाडी बढेता पनि नेपालको राजनीति र त्यसले पार्ने व्यवस्था वामे सर्दामा नै ठिक्क भयो ।

समुन्नत नेपाल निर्माण होस् वा नयाँ नेपालको निर्माण गर्ने विभिन्न मिठा भाषणहरु सरकारमा पुगेपछि विलिन भएर गयो । त्यसको पुर्ण असर नेपालको हरेक क्षेत्रमा पर्‍यो । राजनैतिक परिवर्तन भएता पनि सरकारको यो फेरवदलले व्युरोक्रेसीमा नराम्रो असर पर्‍यो । विकास निर्माण र जनतामा परिवर्तनमा वाधक बनिदियो । त्यसैको परिणाम स्वरुप आज विश्वमा नेपाल हरेक पक्षमा सवल र सक्षम भएता पनि नेपाली र नेपाल आफैमा कमजोर बनिदियो । यो सबैको मुख्य कारण नै राजनैतिक प्रभाव हो ।

जनयुद्धबाट नै नेपालको हरेक क्षेत्र परिवर्तन गर्न सकिन्छ भन्ने ध्येयका साथ लडेका माओवादी र शान्तिपुर्ण आन्दोलनबाट नै देश विकास र राजनैतिक व्यवस्था परिवर्तन गर्न सकिनेछ भन्ने दुई नेपालका कम्युनिष्ठ पार्टीहरु स्थानीय निकायपछि नेतृत्व गणमा आएको देशभक्त भाव र समृद्ध नेपाल बनाउने एकमात्र उद्देश्यका साथ प्रदेश र संघीय निर्वाचनमा एक भएर लडेपछि देशको नै सबैभन्दा ठुलो पार्टी बन्न पुग्यो । हिजोको पहिलो पार्टी नेपाली काँग्रेस तेश्रो दलमा खुम्चन पुग्यो । कम्युनिष्ट पार्टीलाई आम जनताले विकास र समृद्धिका लागि भरोसाका साथ बहुमत दियो । आज कम्युनिष्टको बहुमत र अन्य पार्टीको समर्थनमा समेत दुई तिहाईको सबैभन्दा बलियो सरकार बनेको छ । जति सरकार बलियो बनेको छ, जनताको आशा भरोशा त्यो भन्दा धेरै रहेको छ ।

चुनावी प्रतिबद्धता तत्कालिन समयमा भोटका लागि महत्वपुर्ण अश्त्र बनेता पनि हालको देश र जनताका समस्या नै प्रधान हो भन्ने कुरालाई मात्र हेक्का राखेर सरकार अगाडी बढ्यो भने यो सरकारलाई जनताको समर्थन रहनेछ । त्यसका विपरित जनमतलाई समेत हेक्का नराखी व्यक्ति केन्द्रित सोचका साथ अगाडी बढेमा यो सरकार पनि जुन जोगी आएपनि कानै चिरेको भनेझै हुनेछ ।

संविधान निर्माणपछि बनेको संघीय संरचनाले देशको व्यवस्थापनले सरकार धर्मराएको छ । नयाँ संघीय व्यवस्थापन र त्यसको कार्यन्वयन मात्र नभई नयाँ निर्माण गरिएको ऐन कानुनले पनि केन्द्रीय सरकार मात्र होईन प्रदेश र स्थानीय सरकार समेत अलमलमा देखिन्छ । संक्रमणकालमा यो हुनु समान्य भएता पनि यसको सफल कार्यन्वयनका लागि सजगताका साथ लागिएन भने यसले झन जटिलता निम्त्याउने कुरामा कुनै शंका छैन । जनता यो र उ वहानामा विकास र परिवर्तनको वाधक भएको देख्न चाहदैन किनकि आम जनताको आशा र अपेक्षा नै दुई तिहाईको बलियो सरकारले धेरै नै परिवर्तन र विकास गर्ने छ देशमा देखिएको अस्थिरता, अराजकता र अव्यवस्थाको निर्मलीकरण गरि आर्थिक र भौतिक पक्षका छलाङ्ग मार्नेछ । यहि सोच र आवश्यकतामा बनेको बलियो सरकारका अगाडी यति धेरै जनताको चाहनाहरुमा पूर्तिका लागि अगाडी बढ्नु र समग्र देशलाई नै नयाँ नेपाल बनाउने यो अभियान त्यति सहज देखिदैन । निर्णय गर्दैमा व्यवहारमा कार्यन्वयन भएर अगाडी बढ्ने मात्र होईन काम गर्ने वातावरण बनाउने, अस्थिरतमा अल्झेको सरकारको बोली र व्यवहारमा एकरुपता नभएको आम जनताले महशुश गर्न थालेका छन् ।

लेखक

चुनावको सम्मुखमा मत आफनो पक्षमा पार्न विभिन्न पुरा गर्न नसकिने विभिन्न नारा दिएता पनि त्यसको सुरुवाती भने अवश्य पनि हुनुपर्दछ । चुनावी नारा केवल भोट जित्नका लागि मात्र हुनुहुँदैन । भोटका लागि मात्र गरियो भने भोलिका दिनमा त्यसले पार्ने प्रभाव नकारात्मक हुने गर्दछ । कार्ययोजना आफैमा तत्काल पुरा नभएता पनि शुरुवात गरेर त्यसको चरण शुरु गर्न सकिन्छ । राजनैतिक सक्रमणकालिन यो अवस्थामा चुनावी नारालाई विपक्षीले विरोध गर्ने धर्मनै भएता पनि सरकारले गर्ने निर्णयले जनताप्रतिको आशालाई केहि हदसम्म पुरा गर्न सकिन्छ । नेपाल आफैमा पुर्ण छैन विगतमा राजनैतिक नेतृत्वको यसमा कमजोरी रहेको कुरा यथार्थ हो । सधै यहि भनेर मात्र उम्कन पाउन सक्ने अवस्था यो ओली सरकारलाई कदापी हुनेछैन । अबको जनता भनेको प्रविधी र नयाँपनमा विश्वास गर्ने जनता भईसकेका छन् । खोक्रो आडम्वरले मात्र अब थेग्न सक्ने छैन । सबै कुरा पुरा गर्न नसके पनि त्यसको शुरुवाती र देशमा भएको अराजक अवस्थालाई मात्र चिर्न सक्यो भने त्यसले सरकारलाई सकारात्मक प्रभाव पार्दछ ।

दुई तिहाईको सरकार भन्ने, तर केहि नयाँ पन नहुने हो भने राजनितिमा धेरै उथुल पुथल धेरै भईसकेका छन् । विगतमा पनि दुईतिहाईको सरकार मात्र होईन बहुमतको सरकारको पालामा समेत चुनावमा हार्नुपरेका ईतिहास हरु पनि हाम्रा अगाडी नै रहेका छन् । चुनावी प्रतिवद्धता तत्कालिन समयमा भोटका लागि महत्वपुर्ण अश्त्र बनेता पनि हाल देश र जनताका समस्या नै प्रधान हो भन्ने कुरालाई मात्र हेक्का राखेर सरकार अगाडी बढ्यो भने यो सरकारलाई जनताको समर्थन रहनेछ । त्यसका विपरित जनमतलाई समेत हेक्का नराखी व्यक्ति केन्द्रित सोचका साथ अगाडी बढेमा यो सरकार पनि जुन जोगी आएपनि कानै चिरेको भनेझै हुनेछ । सरकार यसमा अवश्य पनि चनाखो हुने नै छ ।

विगतदेखि नै आत्मनिर्भर बन्न नसकेको देश नेपाल दुई तिहाईको सरकार बन्दैमा चमत्कारिक हुने हैन । विपक्षीले विरोध गरेर आफनो धर्म निभाएता पनि जनताहरु जानकार भईसकेका छन् । सरकारका हरेक काम कारवाहीलाई जनताले प्रष्टसँग हेरिरहेका छन् । जनताको त्यो आशा र अपेक्षामा सरकार सहयोगी हुनु नै यो सरकारको मुख्य कर्म बन्नुपर्दछ । ओली सरकारले गरेको भारत भ्रमण र मोदीको नेपाल भ्रमणले जनतामा केहि सहानुभुति जगाएको नै छ । विगतमा सरकारले गएर देशको हित भन्दा पनि भारतको हितमा काम गरेको सन्दर्भमा ओली सरकारले गरेको कर्मलाई जनताले असहज मानेको छैन । समदुरीका साथ स्वाभिमान र भौगोलिक अखण्डतामा टेकेर गरिने ओलीको वोली र व्यवहारमा समानता पाउन सकिन्छ । यो नै जनताका लागि विश्वासको कडि हो । छिमेकीलाई साथ लिएर विकास निर्माणमा अगाडी बढ्नु अहिलको आवश्यकता हो । तर यसो भन्दै गर्दा राष्ट्र र जनता प्रधान हो भन्ने कुरा भने भुल्नु हुँदैन । धेरै चासोको साथ ओली सरकारको चीन भ्रमणले देशमा नयाँ परिवर्तन र व्यवहारिक कार्यन्वयन हुने अपेक्षा गरिएको छ । हरेक दृष्टिकोणले सम्पन्न चीनको भ्रमण त्यसमा पनि कम्युनिष्टको सरकार भएको चीन र नेपालमा पनि कम्युनिष्टको सरकार भएको सन्दर्भमा ओली सरकारको चीन भ्रमणले देशमा भएको विभिन्न परियोजना, रेल्वे सेवा, विकासका परियोजनामा सरकारले अवश्य पनि ठोस योजनाका साथ अगाडी बढ्न सकेमा ओली सरकार चुनौतीको भीडबाट अवसरको सम्मुखमा पुग्न कठिन छैन । जनमतका सम्मान साथ छिमेकी मुलुकलाई साथ लिएर विकास र समृद्धिमा अगाडी बढेमा समृद्ध नेपाल बन्न लामो समय कुर्न पर्देन । यो सबै कुराका निर्धारण ओली सरकारको भुमिकाले निर्धारण गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित