शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

गरिबका मिर्गौला, धनीका जीवन

कौडीका भाउमा बेचिन्छन्, काभ्रे कसरी भयो मिर्गौला बैंक ?

दैनिक नेपाल २०७५ असार ६ गते १८:१९

फाइल तस्बिर

काठमाडौं, ६ असार । गरिबका मिर्गौला धनी नेपाली र विभिन्न देशका नागरिकका लागि बेचिने गरेको छ । कतिपयले मिर्गौला बेचेर गर्जो टार्ने काम समेत गर्दै आएको पाइएको छ ।

नेपालमा व्याप्त रहेको मिर्गौला रोगीका समस्या समाधानका लागि सरकारले केही राहतका योजना अघि सारेको बताइए पनि त्यसले काम गर्न सकेको छैन । तर ग्रामिण बस्तीमा स्वस्थ्य अवस्थामा रहेका मानिसको मिर्गौला झुक्याएर, फकाएर र रकम दिएरै पनि झिकिने गरेको तितो तथ्य दोहोरिरहेको छ ।

केही समय अघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको निकालिएको थियो ।

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका थिए । गिरीलाई सुविधा दिने र विश्वास जितेर मिर्गौला झिकिएको थियो । यसकारण धनीले गरिबलाई काखमा राखेर कोखमा हान्ने काम छाडेका छैनन् ।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो । यस्तो तरिका र नाटक कतिपय अस्पतालले नै सिकाउने गरेका कारण तस्कर र धनाड्य समुह अहिले गाउँ गाउँमा आफ्ना लागि मिर्गौला खोज्न नाता, कृपा र सेवाको भावनामा अघि बढिरहेको हुनसक्ने अनुमान गरिएको छ ।

बनेपा, काभे्रपलाञ्चोक जिल्लामा अझै पनि मिर्गौला तस्करी रोकिएको छैन । दलालले मिर्गौला बेच्न महिलालाई पत्नी भएको कागज बनाउने र काठमाडौँमा रगत जाँचेर घुम्ने बहानामा भारत लगेर मिर्गौलाको तस्करी भइरहेको स्थानीयवासी नै बताउँछन् ।

केही समय अघि मेथिनकोटकी एक ३५ वर्षकी गृहिणीले भारतमा गएर आफ्नो एउटा मिर्गाैला तीन लाख ७५ हजारमा बेचिन् । दुई सन्तानकी आमा उनले वैदेशिक रोजगारका क्रममा दुई वर्षअघि मलेसियामा पतिको मृत्यु भएपछि ऋण तिर्न मिर्गौला बेचेकी बताएकी थिइन् ।

‘चार लाख ऋण थियो, खेतबारीबाट आम्दानी छैन, तिर्ने उपाय नभएपछि बेचेकी हुँ’ उनले भनेकी थिइन् । पति विदेश जाँदा र त्यसपछि लागेको ऋण तिर्न आफ्नो शरीरको संवेदनशील अङ्ग बेचेको उनले निर्धक्क बताएकी थिइन् । उनको मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरी पठाएकाले उनलाई कसैले शङ्का गर्ने ठाउँ पनि थिएन ।

फूलबारीका तीनजना युवाले एकैसाथ मिर्गौला बेचेर फर्किए । उनीहरूले जनही दुई लाख पाएको स्थानीयले बताएका थिए ।

मिर्गौला बेचेर आएपछि शरीरमा ठूलो घाउ–खत हुँदा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हट्ने भएपछि विपन्न वर्गका मानिसले मिर्गौला बेच्न हौसिएका छन् । होक्से–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि दुई वर्षअघि गाउँ नै छाडेका थिए ।

केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्षअघिदेखि मिर्गौला बेचबिखन भइरहेको थियो ।

सुरुमा काभ्रेपलाञ्चोकको होक्से र ज्याम्दी गाविसका करिब १०८ जनाले मात्रै मिर्गौला बेचेको अनुमानित तथ्याङ्क छ तर अहिले त्यसबाट जिल्लाका १० गाविस प्रभावित भएको अनुमान छ ।

मिर्गौला बेच्ने क्रम नरोकिएपछि जिल्लास्थित जनअधिकार संरक्षण मञ्च (पिपिआर)ले मिर्गौला बेच्नेको तथ्याङ्क सङ्कलन तथा उनीहरूको अवस्थाबारे अनुगमन गरेको थियो ।

प्रारम्भिक अनुगमनमा काभे्रका कम्तिमा तीन सय जनाले मिर्गौला बेचेको पाइएको थियो । होक्सेमा ११२ जना, पाँचखालमा १०२ जना र ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको तथ्याङ्कमा देखिएको थियो । यसको तथ्यांक अझ बढेको हुनसक्ने अनुमान गरिएको छ ।

उजुरीपछि २०७० वैशाखमा मिर्गौला तस्करीमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले पक्रेपछि त्यहाँबाट केही समय मिर्गौला तस्करी रोकिएको थियो । लगत्तै जेठमा तस्करमध्येका सातजनालाई प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको थियो ।

मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुन्छ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ ।

काभ्रे मात्र होइन विभिन्न जिल्लामा अब मिर्गौला बेच्ने लहड नै चलिसकेको छ । गोरखाका १९ बर्षिय दीपक नेपाली रोजगारीका लागि पोखरा बस्थे । मजदुरी गर्दै आएका उनको साउनमा दुई नयाँ मानिससँग भेट भयो । दुबैले उनलाई उद्योगमा काम लगाइदिने भन्दै फकाए । काँचो उमेरका दीपकलाई आर्कषक काम र राम्रो आम्दानीको प्रलोभनमा पारेर काठमाडौं आएका उनी जिम्मा लगाएका व्यक्तिसँगै खाजा खाएका दीपक होस खुल्दा भारतको एक अस्पतालको बेडमा थिए ।

भारतको गाजियाबाद अस्पतालमा केही दिन बसेपछि उनलाई केही रकम दिएर घर पठाइयो । घर फर्केका दीपक त्यसपछि बिरामी भए । उपचारका लागि चितवन मेडिकल कलेज पुगेका दीपकलाई चिकित्सकले मिर्गौला किन झिकेको भन्दा पो बल्ल उनले भारत लगेर आफ्नो मिर्गौला चोरिएको पत्तो पाएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाले दीपकको घटनाको अनुसन्धान क्रममा पक्राउ परेका तीनजनाको बयानले नेपालका ठूला सहर र ग्रामीण क्षेत्रमा मिर्गौला तस्कर सक्रिय रहेको खुलेको छ । महाशाखाले पक्राउ गरेका प्रकाश बस्नेत, भिमप्रसाद न्यौपाने र विकास भन्ने बिनुबहादुर तिमल्सिना तथा फरार अन्य दुईले दीपकलाई जस्तै झुक्याएर पाँचजनालाई भारत पुराई मिर्गौला झिकेको खुलिसकेको थियो ।

११ बर्ष अघिको कथा

२०६४ माघ २४ गते चितवनको होटल वाइड लाइफ क्याम्पबाट पक्राउ परेका कुख्यात मिर्गौला तस्कर भारतीय नागरिक अमितकुमार रावतले विपन्न र सोझा नेपालीलाई भारत पुराई मिर्गौला झिक्ने गरेका थिए ।

भारतले इन्टरपोलको रेड कर्नर नोटिसमा राखेका अमितकुमारलाई सोही वर्ष माघ २६ गते महानगरीय प्रहरीले पक्राउ गरी भारतको जिम्मा लगाएको थियो । नेपालमा समेत अपराधमा संलग्न रहेका अमितकुमारलाई भारतको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) को दबाबमा भारत प्रहरीको जिम्मा लगाएपछि अनुसन्धान टुंगोमा पुग्न सकेन ।

अपराध महाशाखाले पक्राउ गरेका तीनजना र पीडितको बयानले अमितकुमारको कर्तुतको सम्झना गराएको छ । महाशाखाका अनुसार पीडितले आफूलाई हरियाणाकै विभिन्न निजी अस्पतालमा लगेको बयान दिएका छन् ।

अहिलेसम्म मिर्गौला तस्करी काण्डमा पक्राउ परेकाहरुको बयानले भारतीय निजी अस्पतालहरूले यस्ता तस्करलाई खटाएको हुन्छ । भारतमा मिर्गौलापीडित धनाड्य परिवार करोडौं रकम तिर्न तयार हुने भएकाले अस्पतालले मिर्गौलाको व्यापारका लागि गरिब देश र ग्रामिण बस्तीमा भारतीय तस्करलाई खटाउने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित