शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

गोरेका मुख्य सहयोगी तिवारीलाई पनि संगठित अपराध मुद्धा

दैनिक नेपाल २०७५ असार ६ गते १६:१३


काठमाडौँ, ६ असार । सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्तमध्ये एक चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारीलाई संगठित अपराध मुद्धा चलाइने भएको छ । सुन तस्करीमा तिवारीको संलग्नता खुलेसँगै संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान टोलीले उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ ।

तिवारीलाई कोरियाबाट फर्कने क्रममा २ साताअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा उप्रेतीको सुन तस्करी गिरोहमा तिवारी समेत आबद्ध देखिएपछि उनलाई पनि प्रतिवादी बनाउने निर्णय भएको समितिले जनाएको छ ।

कानुन व्यवसायी समेत रहेका तिवारी बिचौलिया र उप्रेतीलाई प्रहरीदेखि अदालतसम्म मान्छेहरुले चिनाउने काममा संलग्न रहेको अनुसन्धानमा खुलेको छ । उप्रेतीको एउटा घर केही महिनाअघि तिवारीले खरिद गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ । तस्करीमा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेको अनुसन्धान टोलीले जनाएको छ ।

गत माघ ९ गते विमानस्थलबाट कर्मचारीको मिलेतोमा तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सो सुन लुटेको आशंकामा गिरोहमै आबद्ध सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो । हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको उजुरीका आधारमा छानबनि गर्दा विमास्थलबाट ६ वर्षदेखि एयरलाइन्सका कर्मचारीहरुसँगको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको हो ।

तस्करीमा सहयोग गरेको र सनम शाक्य हत्याको अनुसन्धानमा उप्रेतीलाई जोगाएको आरोपमा ९ प्रहरीविरुद्ध समेत मुद्दा दायर गरिएको छ । जसमध्ये ७ जना प्रहरी अधिकारी अहिले पुर्पक्षका लागि जेलमा छन् ।

प्रतिक्रिया
सम्बन्धित