शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

हेर ! केहीबेरमा खरानी हुँदैछन् पण्डित गाउँका देवकोटा गुरु

डाक्टर साहब भनिरहन्थे– जातस्य ही ध्रुवो मृत्यु !

दैनिक नेपाल २०७५ असार ५ गते ९:४८

काठमाडौं, ५ असार । बाँसबारीको न्युरो अस्पतालमा शुभेच्छुकका भिजेका परेली र भारी तरेलीसँगै श्रद्धासुमन थापिएरहेको स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाको पार्थिव शरीरमा एउटा अनौठो झन्कार गुञ्जयमान हुन्छ घरिघरि– जातस्य ही ध्रुवो मृत्यु । जीवनमा १२ लाख बिमारीलाई स्पर्श गरेका मेडिकल साइन्सका एक ध्रुवतारा देवकोटा हिन्दु धर्म र गीताका पारखी थिए । त्यसैले उनले अस्पतालका बेडबाट पनि धेरैलाई आश्वासन दिएर भन्ने गर्थे– मृत्यु अवश्यम्भावी छ ।

देवकोटाको भौतिक शरीर मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा खरानी हुँदैछ ।

नेपाली समाजका लागि ज्यान छाडेर लागि परेका देवकोटाको ३१ वर्षको स्वास्थ्य क्षेत्रको योगदान नगन्य छन् । कति उनलाई भगवान मान्छन् कति जीवनका पयार्य । त्यसैले उनले भन्ने गरेका थिए– बिरामीको आधा उपचार मायाले ठिक पार्छ ।

‘हेर ! देवकोटा गुरु केहीबेरमा खरानी हुँदैछन्’ पण्डित गाउँका एक जना बुज्रुक मोवाइलमा कसैलाई सुनाइरहेका छन् । उनको पार्थिव शरीरतिर शिर झुकाएर, आँखाभरी टिलपिल आँसुको ढिका बोकेका ति बुज्रुक फेरि थप्दैछन् – पण्डित गुरुको वैकुण्ठमा बास हुनेछ ।

जसले समाज रुपान्तरण होइन, समाजको सेवाको भावमा जीवनलाई ठान्यो, त्यहि थिए देवकोटा । त्यसैले देहत्याग गर्नु एक साता अघि उनले इच्छा गरे– मलाई पण्डित गाउँको पानी खान मन छ । हेलिकोप्टरमा राखेर उनको जन्मथलो पुराइयो । उनले चाटेको माटोमा बसेर पानी चाखेको देखेर गाउँले भावविह्ल भइसकेका थिए । दलानमा भिड जम्मा भएको थियो, पिँढीमा देवकोटा जीवन अन्तिम इनिङ्ग्सका हरित मुस्कान छरिरहेका थिए । र, फेरि सबैलाई आश्वस्त पार्थे– मृत्यु निश्चित छ, यसमा आत्तिनुपर्ने केही छैन ।

जसले समाजका लागि ज्यान छाड्छ त्यसको चिन्तन नै समाजवादी हुन्छ । जो सत्ताको लागि मरिहत्ते गर्छ, त्यसको बौद्धिकताले साम्यवादी लय समात्छ । त्यसैले एकै कक्षामा लामो समयसम्म अध्ययन गरेका डा. देवकोटा र डा. भट्टराईका लय फरक थिए । त्यहि स्कुल, त्यहि स्कुलिङ र संगत हुँदाहुँदै देवकोटा सामाजिक सेवाको बाटोमा लागे, राज्यले दिएको जिम्मेबारी सम्हाल्न तयार भए । तर भट्टराई राज्यद्रोहको बाटोमा हिँडे जुन एउटा ठूलो विद्रोह बनिदियो, अर्थपूर्ण क्रान्ति बनिदियो । उनै भट्टराई आफ्ना सहपाठीको निधनमा केही भावुक भए, सायद ।

त्यसैले लेखे– अन्ततः बिदा भयौ उपेन्द्र । तिम्रो भौतिक शरीर हामीबीच नरहे पनि तिमीले नेपाल र नेपालीका निम्ति गरेका असल कामको सम्झना इतिहासले सधैं गरिरहनेछ । तिमीसँग अमरज्योति हाइस्कुल र अस्कलमा आठ वर्ष एउटै कक्षामा बिताएका दिनहरू मेरा मन मस्तिष्कमा सधैं रहिरहनेछन् ।

‘देवकोटालाई मृत्यु नजिकिएको थाहा थियो त्यसैले नेपाल आउने मन गर्नुभयो’, एकजना आफन्तले भने,‘माटोमा मर्छु भन्ने उहाँको सोच थियो, त्यो सेयर पनि गर्नुहुन्थ्यो ।’

त्यसैले पनि डा. देवकोटा क्षेत्रप्रताप अधिकारीले लेखेको एउटा गीतका निक्कै ठूला फ्यान नै थिए । उनले जीवनका केही परिकल्पना त्यहि गीतमा बिम्बित हुने गरी सुनाउँथे ।

जीन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ

बेलायतको किंग्स अस्पतालमा ६ महिना उपचार गरेपछि उनी नेपाल आए ।

४ पुस २०१० सालमा जन्मिएका डा. देवकोटाले सोमबार अपराह्न ६५ वर्षको उमेरमा जीवन त्यागेका छन् । अपराह्न ५ बजेर ३५ मिनेटमा संसार छाडेका देवकोटा डाक्टरमात्र नभएर साधक पनि थिए ।

देवकाटाको पार्थिव शरीरलाई श्रद्धाञ्जली सभापछि नारायणगोपाल चौक हुँदै पशुपति आर्यघाटमा विद्युतीय माध्यमबाट दाहसंस्कार गरिनेछ । विज्ञप्तिमा भनिएको छ, ‘काजक्रिया उहाँको निवास हेपाली हाइटमा पत्नी डा. मधु दिक्षित र तीन छोरीहरू मेधा, बसुधा र मञ्जरीले गर्नुहुनेछ । उहाँको काजक्रिया सात दिनमा सम्पन्न गरिनेछ ।’

डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका हुन् । वीर अस्पतालमा न्युरो सर्जरी विभाग स्थापना गरेका उनी स्वास्थ्यमन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बनाएका थिए ।

उनले देह त्याग गरेको बाँसबारी अस्पतालका उनी संस्थापक पनि हुन् । उनले गोरखाको अमरज्योति जनता (लुइँटेल) माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका सहपाठी देवकोटाले प्रवीणता प्रमाणपत्र तह अमृत साइन्स क्याम्पसमा अध्ययन गरेका थिए । आसाम मेडिकल कलेजबाट एमबीबीएस गरेका देवकोटाले त्यहाँ केही समय सेवासमेत गरेका थिए ।

स्नायु (न्युरो) सम्बन्धी अध्ययनका लागि उनी बेलायतको एटकिन्सोन मोरली अस्पताल पुगेका थिए । उनी सन् १९८९ मा नेपाल फर्किएपछि वीर अस्पतालमा न्युरो सर्जरी सुरुवात भएको थियो । पारिवारिक सस्यका अनुसार आफ्नो जीवन लामो नभएको भन्दै जन्मभूमि नेपाल आउने इच्छा राखेपछि उनलाई नेपाल ल्याइएको थियो । त्यसबेला पनि उनले भनेका थिए, ‘मेरो माटो मेरो चन्दन ।’

देवकोटाले डा. बलराम जोशी राष्ट्रिय ज्ञान विज्ञान पुरस्कार केही साताअघि मात्र पाएका थिए । सो पुरस्कार बाँसबारी अस्पतालमा उपचारका क्रममा उनलाई प्रदान गरिएको थियो । अंगुरबाबा जोशीकी बुहारी, डा. बलराम जोशीकी पत्नी १०३ वर्षीया चन्द्राकुमारी जोशीले उनलाई पुरस्कार दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित