शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

हेटौँडामा कांग्रेस सभापतिहरूको भेला, देउवालाई घेराबन्दी गर्ने तयारीमा पौडेल समूह

दैनिक नेपाल २०७५ असार ५ गते ८:११

फाइल तस्बिर

काठमाडौं, ५ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेला आजदेखि हेटौँडामा सुरु हुँदै छ ।

निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समयअघि बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो ।

समीक्षा बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझाबका लागि जिल्ला सभापतिहरूको भेला आह्वान गरेको थियो । आगामी भदौमा महासमिति बैठक पनि बोलाइएको छ ।

भेलामा जिल्ला सभापतिहरूले निर्वाचनमा पराजय भोग्नुको कारण, तल्ला तहका कार्यकर्ताको सुझाब र गुनासो, पार्टीको विधान संशोधनबारे धारणा राख्नेछन् । ७ असारसम्म चल्ने भेलामा केन्द्रीय कार्यसमितिका सदस्य, ७७ जिल्लाका सभापति सहभागी हुँदै छन् ।

संस्थापन पक्ष भेलामा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला खेमालाई हाबी हुन नदिने रणनीतिमा छ । सभापति शेरबहादुर देउवा सात प्रदेशका सात समुह बनाएर छलफल गराउने र सबैलाई बोल्न नदिने रणनीतिमा लागेको आरोप पौडेल र सिटौला पक्षले लगाएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले भने सभापतिहरूको भेलामा परिणाममुखी छलफल हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित