
अस्ट्रेलिया, ४ असार । लुम्बिनी–कपिलवस्तु दिवस अभियानको आयोजकत्वमा मेलबर्नको वैरबीमा २६४२ औं वुद्ध जयन्तीको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रमलाई केही महिनासम्म निरन्तरता दिइनेछ र हाल मेलबर्न, जिलोङ र बेन्डिगो शहरमा आयोजना गरिएतापनि अन्य शहरमा पनि आयोजना गर्न सकिने बताइएको छ ।
कार्यक्रममा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले वुद्ध जयन्ती परंपरागत रुपमा पूजाआजा गरेर मनाउने गरिएकोमा अभियान शुरु भएपछि धेरै देशमा नेपाललाई वुद्ध जन्मस्थलको रुपमा चिनाउने काम भएको बताए ।
कार्यक्रम वुद्ध जयन्तीकै एउटा अंश जस्तो बनाउने नयाँँ संस्कारको बिकासको भएको जानकारी गराउँदै उनले जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विश्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणानुरुप पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गरिएको वुद्ध जयन्तीलाई अभियानको पहलमा केही बर्षदेखि वुद्ध जन्मेको बर्षलाई आधार मानी वुद्ध जयन्ती मनाउने परिपाटी बसाल्न शुरु गरिएको बताए ।
बुद्धको जन्मस्थल बिषयमा विश्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण पनि अभियानले हालमा वुद्धको जन्म नेपाल भएका कारण वुद्धको जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको बताए । यो बर्ष २५६२ औं नभएर २६४२ औं वुद्ध जयन्ती मनाउन आग्रह गरिएको जानकारी दिए ।
एनआरएन भिक्टोरियाका उपसंयोजक डा उगेन्द्र रेग्मीले रक्तदानले अरुको जीवन रक्षा गर्ने जस्तो अत्यन्तै महत्वपूर्ण काम त गर्छ नै, यसको साथसाथै आफ्नै स्वास्थ्य अवस्थाबारे जानकारी पाउन र आफ्नै स्वास्थ्यको लागि पनि रक्तदान गर्नु महत्वपूर्ण हुने बताए । नेपाल सरकारले गर्नुपर्ने काम जनस्तरबाट अभियानले गरिरहेको र धेरै ठूला उपलब्धीहरु हासिल गरिरहेकोले अभियानका हरेक काममा आफ्नो सक्दो सहयोग र समर्थन रहने बताए ।















प्रतिक्रिया