शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

साढे ३३ किलो सुन काण्ड : छानबिन समितिको म्याद एक महिना थपियो

दैनिक नेपाल २०७५ असार ३ गते ११:४९


काठमाडौँ, ३ असार । सरकारले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको विशेष टोलीको म्याद एक महिना थपेको छ । मन्त्रिपरिषदको जेठ ३१ गते बसेको बैठकले गृहमन्त्रालयका सहसचिव ईश्व पौडेल नेतृत्वको समितिको म्याद असार मसान्तसम्म थप गरेको हो ।

२०७४ चैत २० गते गठन भएको छानबिन समितिलाई सुरूमा ४५ दिनको कार्यदेश दिइएको थियो । पहिलो चरणको म्याद सकिएपछि दोस्रो पटक जेठ मसान्तसम्म थप भएको थियो ।

यो बीचमा समितिले साढे ३३ केजी सुन प्रकरणसँग जोडिएका प्रहरी अधिकारीसहित ३३ जना पक्राउ गरी बयान लिइसकिएको छ । पक्राउसहित ६३ विरुद्ध अदालतमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई सिफारिश गरेको थियो । उनीहरुको मुद्दामा मोरङ जिल्ला अदालतमा कानुनी प्रक्रिया चलिरहेको छ ।

अनुसन्धानका क्रममा केही गम्भीर पक्ष देखिएकाले गृहले तिनलाइ पूरा गर्न एक महिना म्याद थपको प्रस्ताव गरेको थियो ।

महानगरीय अपराध महाशाखाले फागुन १९ मा सनम शाक्यको शब बिराटनगरमा बरामद गरेपछि उनको हत्या सुन तस्कर समूहबाट भएको खुलेको थियो । छानबिनका क्रममा समितिले बितेको पाँच वर्षको अवधीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर तस्करीको ३८ क्वीन्टल सुन भित्रिएको रहस्य फेला पारेको छ ।

९ सदस्यीय समितिमा गृहबाट उपसचिव भावेश्वर पाण्डे र कानुन अधिकृत भोजराज दाहाल छन् । महान्यायाधिवक्ताको कार्यालयबाट उपन्यायाधिबक्ता हरि रेग्मी सदस्य छन् भने यसैगरी राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरीको बिशेष ब्युरोमा कार्यरत एसएसपी बसन्त लामा र डिएसपी सुदिपराज पाठक र सई सुमन कार्की, प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक भीष्म हुमागाई पनि सदस्य छन् ।

समितिले कारवाही र अनुसन्धानका लागि अख्तियारमा अनुसन्धान अधिकारीका रुपमा कार्यरत रहेका प्रहरी निरीक्षक सूर्यप्रकाश सुवेदीलाई समेत खटाएको छ ।

प्रतिक्रिया
सम्बन्धित