शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

अर्जेन्टिना र ब्राजिललाई पराजित गरेको देश उरुग्वे : यसकारण म फ्यान भएँ

विनोद ढकाल

दैनिक नेपाल २०७५ असार २ गते १२:१९

फ्यान केलाई भनिन्छ ? फ्यान बन्नु वा हुनुको वैधानिक र सैद्धान्तिक मापदण्ड के हो ? सम्भवत हरेक चिजका फ्यान यी प्रश्नको परिधिभित्र उभिँदैनन्, सायद । एक अर्थमा भन्ने हो भने फ्यान हुनुको कारण पनि थाहा हुँदैन ।

विश्वकप फुटबलको २१ औं संस्करण चलिरहँदा नेपालमा जर्सीको व्यापार ठूलो छ । ठूलो परिमाणमा अर्जेन्टिना, त्यसको केही कममा ब्राजिल, त्यसको पनि केही कममा जर्मनी, त्यसको पनि केही कममा स्पेन र पोर्चुगलका जर्सी बजारभरी देखिन्छन् । अरुका आक्कल झुक्कल । म उरुग्वेको फ्यान हुँ । मैले नेपाली बजारमा जर्सी भेटिन ।

उदेकलाग्दो विषय त के भने उरुग्वेको दुर्लभ फ्यान म मात्र हुँ की जस्तो पनि लाग्ने । समूहचरणको पहिलो खेलमा इजिप्टसँगको जीत हात पार्दा मलाई धेरै साथीले म्यासेजमा बधाई दिए, केही फोनै गरेर बधाई दिए । किनभने सामाजिक सञ्जालमा ममात्र यस्तो फ्यान निस्किएँ जसले उरुग्वेको झन्डामा प्रोफाइल राखेको थियो ।

नेपालका सेलिब्रिटी, पत्रकार, नेतासम्मको लहड ब्राजिल, अर्जेन्टिना र जर्मनीको फ्यान फलोइङमा देखियो । जसरी फ्यान हुनुको सैद्धान्तिक कारण छैन भनें त्यसरी नै यो दाबी गर्दछु की यो वर्गलाई पनि किन फ्यान भएको होला भन्ने विरोधाभाष हुनसक्छ । धेरैलाई लियोनल मेस्सी मन पर्न सक्छ, कतिलाई पेलेको कथाले छुएको हुन सक्छ । कतिपय ओलीभर कानको कथामा मन्त्रमुग्ध थिए होला । हो, फ्यान हुनुको एउटा माध्यमिक कारणचाहीँ खेलाडी पनि हुन् । तर त्यतिमात्रैले आफू सच्चा फ्यान हुन सकिन्छ त ? मेरो वैचारिक तहमा त्यो हुँदैन ।

विनोद ढकाल

एउटा भनाई छ– फुटबल भनेको फुटबल मात्र होइन ! त्यसभित्रको लय, संगीत, धुन, तालमेल, रूची पनि हो । त्योसँगै उरुग्वेको फ्यान हुनुको प्राथमिक कारण मेरा हकमा फरक छन् । दक्षिण अमेरिकी दुई ठूला मुलुक ब्राजिल र अर्जेन्टिनाबीचको एउटा सानो मुलुक हो, उरुग्वे । उसको आर्थिक हैसियत दुवै देशको तुलनामा केही कमजोर छ । तर ठ्याक्क नेपाल जस्तो छ । नेपाल विश्वकपमा सहभागी नहुनुको फरक बिम्ब लाग्छ, उरुग्वे । सन् १९३० को पहिलो विश्वकप र १९५० को विश्वकपको इतिहासमा उसको नाम अंकित छ ।

विश्वकपको २१ औं संस्करण चलिरहँदा उरुग्वे १३ पटक सहभागी भएको छ । ब्राजिल विश्वकपमा प्रि–क्वार्टरफाइनलबाट बाहिरियो । त्यसबेला लुईस स्वारेजको हर्कतले धोका दिएको ठम्याई भयो । तर यसपटक उसको यात्रा अलिक तिब्र हुने आशा छ । तर, बलिया टोलीसामु उत्रिनुपर्ने हुँदा संघर्ष गतिलै हुन्छ । एउटा आत्मविश्वास के पनि छ भने स्पेन वा पोर्चुगलसँगको भेटमा उरुग्वे डगमगाउने छैन । पोर्चुगलसँग रोनाल्डोभन्दा अर्को साख छैन । स्पेनसँग एक पटक विश्वकप जितेको अनुभव मात्र । तर, विश्वकपको सुरुआती कपसँगै दुई पटक जीतको खुसीको दम्भ उरुग्वेसँग छ ।

अर्जेन्टिनाका फ्यानलाई झट्का लाग्न सक्छ, सन् १९३० को फाइनलमा अर्जेन्टिनालाई ४–२ ले हराएर पहिलो विश्वकपको ट्रफी उठाएको उरुग्वेले १९५० मा ब्राजिललाई २–१ ले पराजित गरेको थियो । विश्वयुद्धपछि उक्त विश्वकपको आयोजना ब्राजिलले नै गरेको थियो ।

यस्तो टिम कमजोर हो र ?

गोलकिपरहरू फर्नान्डो मुस्लेरा, मार्टिन सिल्भा, मार्टिन काम्पाना छन् । जहाँ डिफेन्डरहरू डिएगो गोडिन (एथलेटिको मड्रिड), सेबास्टीयन कोयट्स (स्पोर्टिङ सीपी), जोसे मारिया जिमिनेज (एथलेटिको मड्रिड), मयक्मििलियानो परेरा (पोर्टो), जास्टोन सिल्भा (इनडिपेन्डियनट), मार्टिन कासिरिस (लाजिओ), गुइलेर्मो भरेला (पेनारोल)बाट छन् । यी क्लवहरू स्पेन, इटाली, पोर्चुगल र उरुग्वेकै ए डिभिजन क्लव हुन् । जसले च्याम्पियन्स लिगसहित दक्षिण अमेरिकी लिग समेत खेलेका छन् ।

मध्य ठाउँबाट नाहितान नान्देज (बोका जुनियर), लुकास टोरेरिरा (साम्पडोरिया), माटियास भेसिनो (इन्टर मिलान), डि एरास्काएटा (क्रुजेरियो), डिएगो राक्जाल्ट (जिनोआ), क्रिश्चियन रोड्रिग्वेज (नेपारोल), जोनाथन उरेटाभिस्काया (मोन्टेरिये) छन् । नेपालको सन्दर्भमा यी नाम चलेका बेलायती क्लव र स्पेनीस क्लवबाट त खेल्दैनन् तर राम्रा खेलाडीमा गनिन्छन् ।

अघिल्लो भागबाट खेल्नेहरू पनि राम्रो प्रदर्शन गर्न माहिर छन् । क्रिश्चियन स्टुआनी (जिरोना), म्याक्सिमिलानो गोमेज (सेल्टा भिगो), इडिसन काभानी (पेरिस सेन्ट जेम्स), लुइस स्वारेज (बार्सिलोना)का स्ट्राइकर हुन् । जसको आक्रमण प्रभावकारी मानिन्छ ।

अन्तर्राष्ट्रिय खेल पण्डितहरूका अनुसार स्वारेज र काभानीलाई महत्वपूर्ण ठाउँमा राखेका छन् । ९ नम्बर जर्सीका स्वारेज र २१ नम्बर जर्सीका काभानी समान लाइनबाट खेल्छन् । देशका तर्फबाट खेल्दा स्वारेजको ३० र काभानीको ४० गोलको अन्तर्राष्ट्रिय रेकर्ड रहेको छ । स्वारेज र काभानीको अगाडीको तालमेललाई विश्वका अन्य देशले पनि सुविधाजनक फरवार्डको जोडी भनेका छन् ।

उरुग्वेका माटियास भेसिनो चर्चाका मिडफिल्डर हुन् । उनको फिनिसिङ र पास नै निर्णायक हुने देखिन्छ । २६ वर्षीया भेसिनोलाई विश्वप्रख्यात प्रशिक्षक तबरेजको नयाँ पुस्ता मानिन्छ । ओस्कार तबरेज उरुग्वेका राष्ट्रिय प्रशिक्षक हुन् ।

प्रतिक्रिया
सम्बन्धित