३ कार्तिक २०८३, मंगलबार

आफ्ना घरबेटी ठेकेदार अधिकारीका बारेमा पहिलो पटक दिए प्रचण्डले प्रतिक्रिया

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना घरबेटी शारदा अधिकारीले गल्ती गरेको भए कारबाही हुने बताएका छन् ।

गृहजिल्ला चितवनमा मंगलबार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले समयमा काम नगर्ने ठेकेदारहरूलाई कारबाही हुने बताएका हुन् । ‘ठेकेदारले समयमा काम गर्नुपर्छ । मेरो घरबेटी ठेकेदारले गल्ती गरेका छन् भने कारबाही हुन्छ’, उनले भने, ‘राम्रो गरेका छन् भने प्रोत्साहन हुन्छ ।’

ठेकेदार शारदा अधिकारीलाई कारबाही नगर्न भनेर आफूले गृहमन्त्री रामबहादुर थापालाई कुनै पनि दवाव नदिएको अध्यक्ष दाहालले दाबी गरे । ‘बिल्कुल त्यस्तो कुनै पनि दवाव मैले दिएको छैन’, उनले भने, ‘तपाई मिडियाहरूको समस्या छ । मिडियाहरू आचार संहिताभित्र बस्नुपर्छ ।’

अध्यक्ष दाहालले केही दिन अगाडि गृहमन्त्री थापालाई निवासमा बोलाएर काम नगर्ने ठेकेदार शारदा अधिकारीलाई कारबाही नगर्न दवाव दिएको समाचार दैनिक नेपाल डटकमले सम्प्रेषण गरेको थियो ।

अध्यक्ष दाहालले मुलुकमा बढेको मूल्य वृद्धिलाई नियन्त्रण गरिने बताए । ‘पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि स्वभाविक हो’, उनले भने, ‘अन्य क्षेत्रमा भएको मूल्य वृद्धि नियन्त्रण हुन्छ ।’

बजेटमा चुनावी घोषणापत्रका कार्यक्रम नपरेको भनेर सोधिएको जिज्ञासामा अध्यक्ष दाहालले भने, ‘बजेटमा धेरै कार्यक्रम परेका छैनन् । तर, सरकार पाँच वर्ष चलाउने भएकाले आउने बजेटहरूमा कार्यक्रम राखिन्छ । प्रधानमन्त्री, अर्थमन्त्री र मबीच छलफल गरेर बजेट ल्याएका हौँ ।’

कार्यकारी राष्ट्रपतिका विषयमा पनि दाहालले त्यो तत्कालको विषय नरहेको स्पष्ट पारेका छन् । ‘कार्यकारी राष्ट्रपति अहिले नै उठाउनुपर्छ भनेर राखेको होइन’, उनले भने, ‘त्यो पछिको विषय हो ।’