३० आश्विन २०८३, शुक्रबार

मैले भनेको सुन्ने ती महान डाक्टर

79.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिवजी श्रेष्ठ

‘तिमीले भनेको सुन्छ हैन डा उपेन्द्र देवकोटाले ?’ आइजीपी निवासमा बोलाएर हो यसरी नै सोध्नुभएको थियो, बिक्रम सम्वत २०५४ सालमा तत्कालिन प्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधानले । त्यतिखेर म वडा प्रहरी कार्यालय, महाराजगन्जमा कार्यरत थिएँ ।

भएको के थियो भने सर्बोच्च अदालतका तत्कालिन प्रधानन्यायाधिश ओमभक्त श्रेष्ठको छोरा आफैले चलाएको जिप दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेर शिक्षण अस्पतालमा बेहोस अबस्थामा राखिएको थियो । ३ दिन अगाडि भएको सो घटनादेखि स्वास्थ्यमा कुनै सुधार नआएकोले शिक्षण अस्पतालका डाक्टरले त्यहाँ सुधारको सम्भावना कम भएकोले एकपटक न्यूरो सर्जन डा. देवकोटालाई देखाउन पाए उहाँबाट केही सम्भब हुन्थ्यो कि ? भन्ने कुरा भएको रहेछ।

डा. देवकोटा त्यसबखत बीर अस्पतालमा कार्यरत हुँदा बिरामीलाई बीरमा नै ल्याउन सुझाएछन, तर बिरामीलाई यताउता चलाउँदा झन् खतरा भएकोले बाहिर निकाल्न पनि ठीक नहुने ! डा देवकोटाले म एउटा अस्पतालमा काम गर्ने डाक्टर अर्को अस्पतालमा बिरामी हेर्न ठीक हुँदैन भनेर मानिराख्नुभएको रहेनछ । प्रधानन्यायाधिशको अनुरोधमा उहाँले ‘ठीक छ म हेर्न त आउँला, तर शिक्षण अस्पतालले हामीले सकेनौँ, तपार्इं आइदिनु पर्यो’ भनेर एउटा चिट्ठी लेख्यो भने आउँछु भनेर भन्नु भएको रहेछ । शिक्षण अस्पतालले त्यस्तो चिट्ठी लेख्न ठीक मानेन, यस बीचमा आइजीपी सा’बले मलाइ बोलाएर माथिको कुरा गर्नु भएको थियो ।

डा. देवकोटाले मलाई सोध्नुभएको थियो – ‘म सयौ मान्छेको दिमाग चिरेर उपचार गर्ने मान्छे, मलाई कसैले टेन्सन दिएर मेरै दिमाग ठीक ठाउँमा भएन भने मैले कसरी उनीहरुको उपचार गर्न सक्छु इन्स्पेक्टर सा’ब ?’

कारण के भने केही समय अगाडि डा. देवकोटाले कसैले उहाँको परिवारलाई अबान्छित दुःख दिइरहेको कुरालाई लिएर महाराजगञ्ज वडा प्रहरीमा जाहेरी दिनुभएको थियो । उहाँले त्यतिखेर वडा प्रहरीमा आफै आएर मलाई सोध्नुभएको थियो -‘म सयौ मान्छेको दिमाग चिरेर उपचार गर्ने मान्छे, मलाई कसैले टेन्सन दिएर मेरै दिमाग ठीक ठाउँमा भएन भने मैले कसरी उनीहरुको उपचार गर्न सक्छु इन्स्पेक्टर सा’ब ?’

मैले पनि बिषयको गम्भीरता र उहाँको महत्वलाई बुझेर उहाँको केसलाई उच्च प्राथमिकतामा राखेर सल्टाएको थिएँ । त्यसैले डा देवकोटा प्रहरीप्रति एकदम कृतज्ञ हुनुहुन्थ्यो । त्यो कुरा आइजीपी सा’बलाई जानकारी थियो । त्यसैले उहाँले मलाई एकपटक डा. देवकोटासँग अनुरोध गर्न भन्नुभयो ।मैले पनि डा देवकोटासँग समय लिएर उहाँको घर हेपाली हाइट (बाँसबारी छेउ) मा नै भेट्न गएँ, उहाँलाई यिनै कुरा राखेर अनुरोध गरेँ, उहाँले मलाई अस्पतालको मर्यादा, सिस्टम लगायतको कुरा बताएर सम्झाउनु भयो । र, आफूले पहिले नै भनिसकेको चिट्ठीको कुरा दोहोर्याउनु भयो । तर शिक्षण अस्पताल त्यसको लागि तयार थिएन, उता बिरामीको अबस्था जस्ताको त्यस्तै ।

मैले उहाँलाई ‘कुनै उपाय छ कि !’ भनेर फेरि अनुरोध गरेँ, उहाँ मप्रति कति धेरै अनुग्रहित हुनुहुँदो रहेछ भन्ने कुरा त्यतिखेर अनुभव गरेँ, जब उहाँले मलाई उपाय सुझाएर भन्नु भो- ‘ठीकै छ, शिक्षण अस्पतालले हामीले सकेनौँ, तिमी आएर हेरिदेउ भन्न सक्दैन भने, कमसेकम लिखित रुपमा तिमी आएर हाम्रो बिरामी हेरिदेउ त भन्न सक्छ नि !

म यही कुरा लिएर शिक्षण अस्पताल पुगेँ, उहाँहरु चिट्ठी दिन राजी हुनुभो । चिट्ठी उहाँकोमा पुग्यो । डा. देवकोटा आएर बिरामी हेरिदिनु भो । पछि एकदिन मलाई आफ्नो घर बोलाएर आफ्नै बारीको हरियो मकै खुवाउँदै उहाँले भन्नुभएको थियो- ‘तपार्इंले गर्नुभएको गुणलार्इ सम्झिरहनेछु !’

एकदिन मलाई आफ्नो घर बोलाएर आफ्नै बारीको हरियो मकै खुवाउँदै उहाँले भन्नुभएको थियो- ‘तपार्इंले गर्नुभएको गुणलार्इ सम्झिरहनेछु !’

अहिले जति जति उहाँको बारेमा दुःखद समाचारहरु बहिरिरहेछन, जीवनको अन्तमा आफ्नो जन्मथलोको धाराको पानी खाँदै आफ्नो जन्मघरको दलानमा सुस्ताउने अन्तिम इच्छा पूरा गर्दै गरेको समाचार पढदा अनि दृश्य हेर्दा म भाबुक छु । अनि ती दिनहरु सम्झिरहेछु, त्यतिखेर उहाँ आफ्नो करिअर र लोकप्रियताको उच्च शिखरमा चढ्दै हुनुहुन्थ्यो । उहासँग भेट्ने समय पाउन धेरै कुर्नुपर्थ्यो अर्थात नशासँग सम्बन्धित रोगका रोगीहरु सम्भब भएसम्म उहासँग उपचार गराउन लालायित हुन्थे, त्यसैले पनि उहाँ धेरै व्यस्त हुनुहुन्थ्यो । त्यस्तो व्यक्तित्व एकदिन मेरो कार्यालयको ढोका बाहिर नेपाली कागज हातमा च्यापेर उभिरहनु भएको देखेँ, साथमा भूपू इन्स्पेक्टर मोहन गुरुङलाई साथी ल्याउनु भएको रहेछ । अचम्म लाग्यो, छक्क परेर उहाँलाई आफ्नो कार्यकक्षमा बोलाएँ, आउनाको कारण सोधेँ, उहाँले नेपाली कागजको निवेदन मेरो हातमा दिँदै आफूलाई परेको दुखेसो पोख्नु भो ।

सबैले आशा गर्ने एक क्षण पनि फुर्सद नहुने डाक्टर आफै जीवनको अन्तिम क्षणमा हुनुहुन्छ, सबै चाहन्छन्, उहाँको दीर्घजीवन होस्, एउटा चमत्कार होस्

अझ गजब लाग्यो, त्यो नेपाली कागजमा निवेदन आफ्नै हातले सिधा भाषामा लेखेर ल्याउनु भएको रहेछ । न त उहाँले कसैलाई भन्न लगाउनु भो, न त निवेदन दिएर कसैलाई पठाउनु भो । त्यो स्तरको व्यक्तित्व आफूलाई परेको अन्यायको बारेमा आफ्नै हातले निवेदन लेखेर आफै प्रहरी कार्यालयमा उपस्थित हुनुहुन्छ । त्यतिखेर कतिपय आफूलाई ठालु सम्झिनेहरुले माथि माथि बाट भनाएर वा अरुलाई पठाएर आफ़्नो काम तमाम गर्ने परम्पराभन्दा बिपरीत उहाँ आफै उपस्थित हुनुहुन्थ्यो । त्यतिखेर उहाँले चाहनुहुन्थ्यो भने घरबाटै यी सबै कार्य तमाम गर्न सक्ने हैसियतमा हुनुहुन्थ्यो, उहाँप्रति त्यो स्तरमा उच्चस्तरको आकर्षण अनि सम्मान थियो । तर, उहाँले त्यसको दुरुपयोग गर्नु भएन । उहाँको त्यो ब्यबहारले गर्दा झन उहाँप्रतिको सम्मान बढेर गयो, उहाँले निवेदनमा उठाउनु भएको इस्युलाई सकेसम्म छिटो सम्बोधन गर्ने कार्य गरेँ, किनकी उहाँले भन्नुभए झैँ उहाँको सेवा पाउनेहरु गम्भीर प्रकृतिका बिरामी हुन्थे, त्यसैले उहाँ तनावमुक्त हुनु जरुरी थियो । हामीले त्यसलाई गम्भीरता साथ लियौँ, गर्नुपर्ने कुरा गर्यौँ, त्यसलाई उहाँले ठूलो गुण मान्नु भएको रहेछ । त्यसैले उच्चस्तरबाट आएको अनुरोधलाई भन्दा मेरो अनुरोधलाई स्वीकार गरेर आफैले उपाय सुझाएर बिरामीको उपचारमा समेत आउनु भो, त्यसले त्यतिखेर मेरो स्थान पनि राखिदिनु भो, अनि आफ़्नो स्थान पनि धेरैमाथि पुर्याउनु भो ।

आज त्यस्ता सबैले आशा गर्ने एक क्षण पनि फुर्सद नहुने डाक्टर आफै जीवनको अन्तिम क्षणमा हुनुहुन्छ, सबै चाहन्छन्, उहाँको दीर्घजीवन होस्, एउटा चमत्कार होस् अनि फेरि पनि उहाँबाट हजारौँ बिरामीहरुको उद्धार होस् ।

एउटा सामान्य रुपमा आएर असामान्य कार्य गरेर हजारौँको मन जितेका अनि देशले नै आफ्नो ठानेका डा देवकोटाको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।