शनिबार, १ मंसिर २०७५
DainikNepal.com
शनिबार, १ मंसिर २०७५

अलमलमा सर्वेन्द्र सा’प !

विनोद ढकाल २०७५ जेठ २३ गते १४:१७

-विनोद ढकाल/दैनिक नेपाल

एउटा प्रहरी अधिकारीबारे आलेख लेख्ने आतुरता किन हुन्छ ? उनका काम राम्रा हुन् भन्ने सुुझाव दिन किन मन लाग्छ होला ? राज्यको सिपाही गतिलो भए राज्य गतिलो हुन्छ भन्ने आशा किन जाग्छ होला ? उनी सेलिब्रिटी, काम गरेरै बनेका थिए । केही सकारात्मक विन्दुमा प्रहरीको धुमिल छवि उठाउलान् भन्ने अपेक्षा तल्लो तहका जनतासँग जोडिन्छ । तर, जब यी आशाहरू खरानीका दाम्लाजस्ता देखिन थाल्छन् अनि के हुन्छ ? स्वयम् उनीमाथिका भरोसाहरू जोगीका कान चिरेका उखानसँग जोडिँदैन र ?

मन्द छ गति । तर, हाम्रा नेपाल प्रहरीका आइजी सर्वेन्द्र खनाललाई पनि निरन्तरताको क्रमभंगताको कसीमा होइन, राजनीतिक स्वार्थको विन्दुमा राखेर व्याख्या गर्न थालिएको छ, बजारमा । भलै त्यहाँभित्रका सकस अरु नै हुन सक्लान् ।

विनोद ढकाल

आइजी नियुक्ति भएको त्यो महिना सम्झन्छु । भेट्नका लागि एक दिन ४ बजेको समय दिएका थिए । त्यो ४ बजे मैले प्रहरी प्रधान कार्यालय छिर्ने इच्छा राखिन । त्यसको भोलीपल्ट उनका आगामी चुनौतिहरूको बारेमा ‘र, यो पनि सर्वेन्द्र समय’ शिर्षकमा आलेख लेखें । फुर्काएँ । आशाको दियो बलेको पनि लेखें । उनका चुनौति र कामका जोखिमहरूका बारेमा पनि उल्लेख गरें ।

त्यस आलेख छापिएका कयन दिनसम्म उनी बधाई थाप्दै गए । फोटो खिचाउँदै गए । उनको दर्शन पाउनेहरूका फेसबुक रंगिन देखिएकै थिए । म फेरि झकझक्याउन चाहान्छु । गति तेज होला तर तीब्र गतिले दिनसक्ने क्षतिलाई नजरअन्दाज गर्दा तपाईको लोकप्रियता लोकालोचनातिर नलागोस् ।

नेताको नीतिले पेल्दै जाँदा प्रहरी संगठकको गति नै फरक दिशातिर हुँदै जान्छ, स्वार्थको पुलिन्दामा उभिएर होइन, स्वाभिमानको गहिराईबाट काम गर्दा मात्र असल मान्छेको छवि बन्छ, युगयुगसम्म सम्झनलायक देखिन्छ ।

नेता नरिझाई पद पाउन मुस्किल, पद पाएपछि नेताका काम गर्न मुस्किल । त्यति गर्दा बजारमा आलोचनाको थुप्रोमा उभिनुपर्ने चुनौति । आइजी खनाललाई कति तनाव होला ? यसो घोत्लिन्छु– आफैंले बनाएको छविको पुलिन्दामा उभिएर प्रमुखको टोपी लगाउन सक्षम त भए । तर, मास्तिर हेर्दा खस्ला भन्ने पिर, तलतिर हेर्दा मार्ग छुट्याउन नसकिएला भन्ने त्रास ।

यसमा सन्देह छैन, खुमलटार टावरबाट चलेको छ प्रहरी । त्यस टावरका प्रतिनिधि गृहमन्त्री बादल हुन् । त्यसकारण खुमलटारसँग गतिलो सम्बन्ध नराखे असहयोग हुनसक्ने खतरालाई आइजीले बुझेका होलान् । त्यसैले पनि उनको निर्णय र सिफारिसको एउटा चर्चा बलियो छ– डिएसपी गंगा पन्तको बढुवा सिफारिस ।

आम साधारण र कांग्रेसीहरू भन्छन्– एक नम्बरमा हुनुपर्ने निक्कै तल राखियो । पूर्वमाओवादीहरू भन्छन्– प्रचण्डलाई श्रद्धाञ्जली दिनेको पनि बढुवा ? आइजी खनाल यहि विषयको अलमलमा छन् ।

कार्य कौशलता र कुशलताको सवालमा डिएसपी गंगा पन्तको नाम तल्लो तहबाट प्रशंशाका दृष्टिमा छ । खुमलटार टावरबाट उनको नाम तल्लो तहमा राख्नुपर्छ भन्ने दबाबको निर्णय भयो । यहि निर्णयसँगै डिएसपी बढुवाका सन्दर्भमा आइजी सापको परिचय अलमलमा छ ।
हुन त उनी विभिन्न विषयमा विस्तारै विवादको भुमरीमा पर्दै आइरहेका छन् । आफैंले कालोसूचीमा राखेका, मस्ट वान्टेड भनेकालाई सम्मान गरेको भन्ने चर्चा पनि छ । यसले इमेज थोरै ड्यामेज गर्छ । तर यहि निरन्तरता नै हुँदै जान्छ भने कति सफल कति असफल भन्ने उनको लेखाजोखा पनि होला ।

सर्वेन्द्र एसएसपी, डिआइजी हुँदासम्म स्वतन्त्र चलायमान थिए, केही हदसम्म । जब संगठनको नेतृत्व गर्ने मौका पाए, उनी राजनीतिज्ञ भइसकेका छन् । उनका अगाडी जुनियरका स्यालुटमात्र हुँदैनन्, सिनियरका अर्डर पनि हुन्छन् । यो पदै यस्तै हो, खुकुरीको धारमा हिँडेजस्तो । अनुकुलतामा उभिन सकिएन भने प्रतिकूलताको भुमरीमा परिन्छ ।

नेपाल प्रहरीलाई जहिले पनि राजनीतिक हस्तक्षेपको केन्द्रविन्दु बनाइयो । अनेक पटक प्रमुख नियुक्तिका बेला हुने यो खेल हरेक तहको बढुवासम्म पनि जारी रह्यो । यहि सिन्डिकेट तोड्ने विकल्पको नाम थियो, सर्वेन्द्र । तर, प्रहरीभित्र राजनीतिक हस्तक्षेपको सिन्डिकेट तोड्नका लागि उनी तयार भए त ? तयारी गरिरहेका छन् त ? यहि खास प्रश्न बनिदिएको छ ।

नेताको नीतिले पेल्दै जाँदा प्रहरी संगठकको गति नै फरक दिशातिर हुँदै जान्छ, स्वार्थको पुलिन्दामा उभिएर होइन, स्वाभिमानको गहिराईबाट काम गर्दा मात्र असल मान्छेको छवि बन्छ, युगयुगसम्म सम्झनलायक देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित