३० आश्विन २०८३, शुक्रबार

हामीले सोचे जस्तो छैन् अमेरिका

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– प्रभु थापा

अमेरिका हामीले कल्पना गरेजस्तो छैन । जीवनहरु जोखिममा छन् । कतिपय अवस्थामा काममा नै रहेकाहरुको गोली प्रहार तथा अन्य कारणले मृत्यु भएको घटनाहरु थुप्रै छन् । दक्ष जनशक्ति बाहेक अन्यको त्यहाँ धेरै कमाई हुँदैन । बरु नेपालमा नै केही लगानी गरे निकै विकट स्थानमा पनि राम्रो कमाई हुन सक्छ । 

अमेरिका, सपनाको देश । यहाँ आउन मानिसहरुले सपना देखिरहेका हुन्छन् । यहाँ आउन उनीहरुले के–के सम्म गर्न पछि पर्दैनन् ? आफ्नो ज्यान पनि जोखिममा राख्न तयार हुन्छन् । अमेरिकाले धेरै देशका नागरिकलाई रोजगारी दिएको छ । आफ्नो हैसियतलाई माथि उठाउने अवसर दिएको छ । त्यसैलै नै होला, अमेरिकालाई ‘ल्याण्ड अफ अपुर्चुनिटी’ (अवसरको सहर) भनिएको ।

त्यही अवसरको खोजीमा म पनि अहिले यो ‘ल्याण्ड अफ अपुर्चुनिटी’मा छु । यहाँ आफ्नो पसिनाको कमाई जोडिरहेको छु । अमेरिकाको मेरिल्याण्ड राज्यमा परिवारै बस्न थालेको पनि ९ वर्ष भएछ । यहाँ एक रेष्टुरेण्ट सञ्चालन गर्दै सामाजिक कार्यमा पनि आबद्ध छु ।

हुन त म अमेरिका विभिन्न समयमा जाने आउने गर्थेँ । तर सन् २००९ देखि भने म अमेरिकामा नै स्थायी रुपमा बसेँ । सन् २००२ मा हो, मैले पहिलो पटक अमेरिका टेकेको । त्यसपछि २००६ मा । नेपालमा छँदा पनि सामान्य व्यापार व्यवसाय गर्थेँ । त्यही सिलसिलामा म घुम्ने क्रममा अमेरिका पुगेँ । जब म २००९ मा अमेरिका पुगेँ, तब मलाई त्यहाँ केही समय बस्ने इच्छा भयो । र, म त्यहीँ बस्न थालेँ । तर मैले अहिलेसम्म त्यहाँको नागरिकता लिएको छैन र लिने सोच पनि बनाएको छैन । नेपाल नागरिकता त्यागेर विदेशी नागरिकता लिने पक्षमा म छैन ।

अमेरिका ती मानिसहरुको लागि रहेछ, जो मेहेनेत गर्न रमाउँछन् । म पनि सानैदेखि मेहेनेत गर्न रमाउने भएकाले यहाँ टिक्न सकेको छु । केही गर्ने उद्देश्यका साथ १५ वर्षको उमेरमा मैले आफ्नो जन्मस्थान लमजुङ छोडेर काठमाडौँ पसेँ । र, एसएलसीपछि एमएसम्म पाटन बहुमुखी क्याम्पसबाट सकेँ । म शिक्षा लिँदै गर्दा नै नेपालको ट्रेड युनियन आन्दोलनमा आबद्ध थिएँ । करिव २० वर्ष जति नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)मा रहेर पनि काम गरेको छु । त्यो सँगसँगै मैले आफूलाई स्वरोजगार बनाउन पुतलीसडकमा सानो रेष्टुरेण्ट खोलेर बसेको थिएँ । त्यो रेष्टुरेण्ट अहिले पनि छ । राजनीतिको साथसाथै व्यवसाय पनि गरेर नेपालमा बसेको थिएँ ।

अहिले अमेरिकामा करिब करिव साढे ३ लाख देखि ४ लाखको हाराहारीमा नेपालीहरु बस्छन् । हाल नेपालीहरु अघिल्लो समयमा जस्तो अस्तव्यस्त स्थितिमा छैनन् । पछिल्लो समयमा आएर नेपालीहरु विभिन्न सरकारी कामकाजदेखि व्यवसाय गरेर बसिरहेका छन् । यहाँ नेपाली डाक्टर इन्जिनियर धेरै छन् । प्रोफेसनल रुपमा काम गर्नेहरुको संख्या बढिरहेको छ, अहिले अमेरिकामा । सानातिना व्यवसायहरुमा पनि छन् ।

कानुनी रुपले बसोबास गर्ने हैसियत प्राप्त गरेका नेपालीहरुको लागि केही समस्या छैन । तर गैरकानुनी रुपमा बस्नेहरुको लागि भने समस्या देखिएको छ । विशेषगरी ठूलो धनराशी खर्च गरेर ब्राजिल, मेक्सिको हुँदै अमेरिका पुग्नेहरुको लागि केही समस्या छ । अन्य भिसामार्फत गएर तोकिएभन्दा धेरै बसेकाहरुलाई पनि समस्या छ । तर ट्रम्प सरकार आईसकेपछि नेपालीहरु मात्रै नभई अन्य देशका आप्रवासीहरु पनि चिन्तित छन् ।

प्लस टू सक्ने वित्तिकै नेपाली विद्यार्थीहरुको रोजाई अमेरिका हुन्छ । अमेरिका नभए अष्ट्रेलिया, त्यसपछि क्यानडा हुन्छ । त्यो खालको प्रवृत्ति देखिएको छ । र, म विगत ९ वर्षदेखि अमेरिका बसेको अनुभव चाँहि के छ भने नेपाली विद्यार्थीहरुलाई विदेशमा त्यति सजिलो छैन । उनीहरुले महंगो शुल्क र अन्य कुराहरु पनि गर्नुपर्ने हुन्छ । नेपाली विद्यार्थीहरुलाई प्रवासको पढाई त्यति सहज पनि छैन, एकदमै कष्टकर छ । उनीहरुले धेरै मेहेनेत गर्नुपर्ने हुन्छ । कानुनी रुपले उनीहरु यहाँ काम गर्न पाउँदैनन् । तर पनि गैरकानुनी रुपमा काम गरेर कलेजको शुल्क तिर्ने तथा बस्ने वातावरण बनाउनु पर्ने हुन्छ । नेपालबाट अभिभावकले पैसा पठाएर अमेरिका तथा युरोपमा पढ्ने हैसियत भएका निकै कम नेपालीहरु छन् । त्यसकारण पनि उनीहरुले आफ्नो पढाईको व्यवस्थापन आफै गर्नुपर्ने हुन्छ । त्यसैले प्रवासमा रहने अधिकांश विद्यार्थीहरु बढि तनावमा देखिन्छन् । यहाँ पढाई र कामको प्रेसर बढी हुन्छ । अझ परिवार र साथीभाईहरुले उनीहरुबाट केही आशा गर्दा उनीहरु अझै बढि तनावमा रहेको देखिन्छ ।

अमेरिकामा त्यस्तो व्यक्तिहरुलाई अवसर छ, जो सानो उमेरमा अमेरिका आउँछन्, यहीँ पढ्छन्, यहीँको वातावरणमा हुर्किन सक्छन्, ती मानिसहरुको लागि फेरि राम्रो अवसर छ । तर जो मानिसहरु नेपालमा हुर्के बढे, ती मानिसहरुका लागि अमेरिका सहज छैन ।

धेरै मानिसहरुले अमेरिकालाई सपनाको देश भन्छन् । अमेरिका जान पाए के के नै हुन्छ भन्ने उनीहरुको सोच हुन्छ । निकै सम्पन्न भइन्छ भन्ने सोचाई नेपालीहरुमा मात्रै नभई अन्य देशका नागरिकहरुमा पनि हुन्छ । त्यसकारण अबैध बाटो भएर जीवन नै जोखिममा राखेर अमेरिका छिर्नेहरुको ओइरो छ । तर, त्यसरी आउनेहरुको अवस्था यहाँ दयनीय नै छ । अबैध रुपमा यहाँ आउने मानिसहरुले त्यति धेरै कमाउने वातावरण हुँदैन । कानुनी रुपमा यहाँको स्टाटस प्राप्त गर्नदेखि लिएर अन्य कुराहरुमा पनि धेरै पैसा खर्च हुन्छ । त्यसैले म सबै नेपालीहरुलाई गैरकानुनी बाटोबाट धेरै धनराशी खर्च गरेर अमेरिका नआउन अनुरोध गर्छु । अमेरिका हामीले कल्पना गरेजस्तो छैन । जीवनहरु जोखिममा छन् । कतिपय अवस्थामा काममा नै रहेकाहरुको गोली प्रहार तथा अन्य कारणले मृत्यु भएको घटनाहरु थुप्रै छन् । दक्ष जनशक्ति बाहेक अन्यको त्यहाँ धेरै कमाई हुँदैन । बरु नेपालमा नै केही लगानी गरे निकै विकट स्थानमा पनि राम्रो कमाई हुन सक्छ । म नेपाल आउँदा मैले धेरै सम्भावना देखेँ । अमेरिका आउने पैसा नेपालमै लगानी गर्ने हो भने धेरै राम्रो हुन्छ ।

अमेरिकामा त्यस्तो व्यक्तिहरुलाई अवसर छ, जो सानो उमेरमा अमेरिका आउँछन्, यहीँ पढ्छन्, यहीँको वातावरणमा हुर्किन सक्छन्, ती मानिसहरुको लागि फेरि राम्रो अवसर छ । तर जो मानिसहरु नेपालमा हुर्के बढे, ती मानिसहरुका लागि अमेरिका सहज छैन । शैक्षिक योग्यता नभएका र कुनै दक्षता हासिल नगरेकाहरुलाई म अमेरिका नआउन अनुरोध गर्छु ।

म विश्वको २५ वटा जति देश घुमेको छु, त्यहाँ पुग्दा धेरै नेपालीहरुसँग मेरो भेट भएको छ । तर अधिकांश गैरआवासीय नेपालीहरु नेपालप्रति चिन्तित छन् । नेपाललाई माया गर्छन् । त्यतिमात्रै नभई आफूले कमाएको पैसा थोरै खर्च गरेर अरु नेपालमै पठाइरहेका छन् । हरेक क्षण उनीहरु आफ्नो देशप्रति चिन्तित भएको मैले पाएको छु । अझ आफ्नो मातृभूमिमा केही विपत पर्दा त प्रवासमा रहेको नेपालीहरु जुनसुकै सहयोग गर्न तयार हुन्छन् ।

म अब लामो समय अमेरिका बस्दिनँ । नेपालमा हुँदा र यहाँ पनि मैले केही सीप, क्षमता र आर्थिक हैसियत बटुलेको छु । त्यो म आफ्नो देशमा खर्च गर्न चाहन्छु । हुन त म यहाँ रहदा पनि आफ्नै समुदायको हितमा विभिन्न कार्य गरिरहेको छु । ३ देखि ५ वर्षमा म नेपालको सेवा गर्न आइपुग्नेछ । म जस्तै नेपालमा सहज वातावरण भैदिए मातृभूमि फर्किन चाहने धेरै नेपालीहरु हुनुहुन्छ । र धेरै साथीहरु फर्किन तत्पर पनि हुनुहुन्छ ।

थापा प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष हुन् ।