३ कार्तिक २०८३, मंगलबार

कुन–कुन धन्दामा छ दाउदको नेपाल कनेक्शन ?

35k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । कुनै बेला नेपालमा रहेका क्यासीनोमा प्रत्यक्ष लगानी गरेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको नेपाल कनेक्शनका पछिल्ला घटना सार्वजनिक हुन थालेका छन् ।

दाउद बुढा भए पनि उनको धन्दा विभिन्न रूपमा दुबई, मलेसीया, पाकिस्तान, टर्की हुँदै नेपालसम्म फैलिएको छ । दुई नम्बरी काममा ठूलो लगानी गर्दै आएका दाउदको पछिल्लो धन्दा सुन तस्करी र खेलमा सट्टेबाजी नेपालसँग प्रत्यक्ष जोडिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गरेको सुन तस्करी दुबईबाट दाउदको र्‍याकेटले चलाउने गरेको प्रहरीको अनुमान छ । दाउदको गिरोहले नेपाली बाटो हुँदै भारतीय बजारसम्म सुन तस्करी गर्दै आएको छ । त्यसैले पनि यस काममा संलग्न हुने भरियाहरूले आफ्नो जीवन खतरामा रहेको बताउँदै आएका हुन् । यो ¥याकेट असामान्य र डरलाग्दो रहेको अनुमान प्रहरीले गरेको छ ।

त्यसो त दाउदको यो टिमलाई डि कम्पनी भनिन्छ । डि कम्पनीका सक्रिय कार्यकर्ता नेपालमा कुनै न कुनै भेषमा लुक्ने गरेका छन् । दाउदकै नक्कली भारतीय नोटको कारोबारी रहेको आरोपमा नेपालका सञ्चार उद्यमीदेखि कतिपय व्यावसायीको हत्या भइसकेको छ भने कतिपय जेलमा छन् ।

पछिल्लो पटक दाउदका दुई सक्रिय कार्यकर्ताहरूलाई भारतीय प्रहरीले नेपालमा पक्राउ गरेको थियो । भारतको गुजरातमा हत्या अभियोग लागेका दाउद पटेल र सत्तार सलिमलाई तीन बर्षअघि काठमाडौंमा पक्राउ गरिएको थियो । त्यसबेलाको ‘द इकोनोमिक्स’ टाइम्सले ति दुई जना डी कम्पनीका सदस्यसँग भारतमा भेट्नका लागि नेपाल छिरेको बताइएको थियो । भारतीय प्रहरीले काठमाडौंमा आएरै दुवैलाई गिरफ्तार गरेको थियो ।

‘नेपाललाई सुरक्षित स्थान ठानेर अपराध गरी भाग्ने ठाउँ बनाइएको छ । खुला सीमा भएका कारणले नेपाललाई लुक्ने आधारका रूपमा कतिपय अपराधीहरू छिरेका हुन पनि सक्छन्’, उच्च सुरक्षा स्रोतले भन्यो,‘यहाँ पनि दाउदका सहयोगी भएका कारणले नै यस्तो सम्भव भएको हो । तर, अपराधी लामो समयचाहीँ बस्नका लागि बँच्न सक्तैनन् ।’

विमानस्थलबाट हराएको तस्करीको साढे ३३ किलो सुनमा पनि दाउदको लगानी रहेको अनुमान सुरक्षा निकायले गरेको छ । ‘यस प्रकरणमा पक्राउ परेका र थुनिएका मध्ये केही खास लगानीकर्ता आफैं असुरक्षित महसुस गर्नुको पछाडी डि कम्पनीको हात रहेको अनुमान गरिएको छ । दुबईबाट तस्करीको काममा अरुको हात हुनै सक्तैन’, सुरक्षा स्रोतले भन्यो,‘कति प्रतिशत सहभागीता र कस्तो संलग्नता रहेको भन्नेबारेमा गहन अध्ययन जारी छ ।’

त्यसो त दाउदको लगानी सुनमा मात्रै होइन, क्रिकेट लिग, फुटबललगायतमा पनि रहेको छ । यसका लागि नेपालका विभिन्न क्षेत्रमा आवद्ध रहेका व्यक्तिलाई परोक्ष रूपमा सहभागी गराइएको छ ।

जुवा खेलाउने नागराज भन्ने अमित अग्रवालका आधा दर्जन सदस्यहरू पक्राउ परेपछि डि कम्पनीले नेपालमा पनि सट्टेबाजीमा हात हालेको अनुमान गरिएको हो ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङ काण्डमा मुछिएका अन्जन केसी, गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाल अनलाइन सट्टेबाजीको काण्डमा पक्राउ परेका छन् ।

नेपालबाट मात्रै बार्षिक ५ अर्ब रूपैंयाँ सट्टेबाजीको खेलमा डि कम्पनीका लागि विदेशिने गरेको छ । अनुसन्धानबाट तिवारीको खाताबाट तीन करोड २२ लाख ९७ हजार र केसीको बाट २ करोड ७७ लाख ५ हजार र कुवँरको बाट १ करोड ७० लाख, दिपकको बाट ७७ लाख कारोबार गरेको खुलेको हो । पक्राउ परेका वोगटी भने तिवारीको सहयोगी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यही गिरोहका नाईके तिवारीसँग एकाउन्ट लिएर ठूलो सख्यामा सट्टेवाजी गराउँदै आएका गुण्डाका नाइके दावा लामा भने फरार रहेको प्रहरीले जनाएको छ । उता यो समुह चलाउने नागराज भने प्रहरीको मोष्ट वान्टेड सूचीमा छन् । पाँच बर्षदेखि चल्दै आएको यो धन्दाका मुख्य नाईके नागराज भएको प्रहररीको दावी छ । नागराज गोवामा बस्छन् । सट्टेबाजीमा उनको कनेक्शन डि कम्पनीसँग रहेको अनुमानका केन्द्रित रहेर अनुसन्धान जारी रहेको सुरक्षा अधिकारीले बताए ।

नागराजलाई दुवईमा रहेका पाकिस्तानी नागरीक लालचन्दले सहयोग गर्दै आएका छन् । दाउदको सट्टेबाजीको धन्दा लालचन्दले चलाउँदै आएको स्रोतको दाबी छ । लालचन्दको खोजीको लागि भारतीय प्रहरीले समेत बिषेश सक्रियता अपनाएको छ ।