
काठमाडौं, १२ जेठ । मिना श्रेष्ठ उर्फ ‘मा प्रेम मिरा’ कम्युनिस्ट राजनीतिको गति र अध्यात्मको लयलाई समानान्तर दौडाइरहेकी छन् । यी दुईमा देखिने साझा विन्दु भनेको रातो पहिरन हो । शान्ति र प्रेमको प्रतिकका रूपमा रातो पहिरन ओशोको रोजाई हो, रातो क्रान्ति कम्युनिस्टको आधार हो ।
ओशो र कम्युनिस्ट राजनीतिलाई समदूरीमा अगाडी बढाएको समयावधि नै तन्नेरी भइसक्यो, उनकी छोरी अदिती श्रेष्ठ जत्तिकै । भन्छिन्,‘राजनीतिमा अति गतिशिल हुँदा छोरी गर्भमै थिइन् । अहिले उनी पनि ठूली भइसकिन् ।’
कम्युनिस्ट विचारको चाख भने ०४५ सालदेखि नै थियो जतिबेला उनी ८ कक्षामा पढ्दैथिइन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा विद्यार्थी राजनीति गर्ने काका अशोक प्रधानले घरमा लुकाएर राखेका किताब च्याउँदा च्याउँदै कतिबेला कम्युनिस्ट भइएछ भन्ने उनले भेउ पाइनछिन् । भन्छिन्,‘त्यसबेला सञ्जय थापाका नाममा रातो सूर्य भन्ने पुस्तक आउँथ्यो पढियो । त्यसैको लत बस्यो । र, कम्युनिस्ट भइयो । पछि थाहा भयो थापा भनेका त प्रदिप नेपाल रहेछन् ।’
त्यसबेला नेताहरू भुमिगत हुने र छद्मभेषी नाममा लेखेरै कम्युनिस्ट विचारको बिजन गरिरहेका हुन्थे । विद्यार्थी आन्दोलन खुला राजनीतिको आधार थियो, कम्युनिस्ट पार्टी (तत्कालिन एमाले) केन्द्रविन्दुमा हुन्थ्यो ।
जनसांस्कृतिक मञ्चबाट उनको औपचारिक राजनीति सुरु भएको थियो । त्यसबेला अध्यात्म गौण र राजनीति प्रधान थियो । ‘आन्दोलन र स्वतन्त्रताका विषय महान् थिए । सक्रिय भएर लागियो’, उनी सम्झिन्छिन्,‘०४७ सालमा जनसांस्कृतिक मञ्च, ०५० देखि ५४ सम्म विद्यार्थी राजनीति हुँदै ५६ देखि युवा राजनीतिमा सक्रिय भएँ ।’
पूर्वएमालेको युवा तथा खेलकुद विभागको केन्द्रीय समितिमा रहेर काम गरेकी श्रेष्ठ अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री रहँदा सचिवालयमा उप सचिवको जिम्मेबारी पनि सम्हालिन् ।
सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ को सदस्यदेखि नगरकमिटि, जिल्ला कमिटि सदस्य हुँदै उनको यात्रा खेलकुद विभागको केन्द्रसम्म भएको थियो । तत्कालिन युथ फोर्सको डेक्स इञ्चार्ज समेत भएकी श्रेष्ठ ०६० सालमा ७ पटक गिरफ्तारी र ०६२÷६३ को जनआन्दोलनमा १३ दिन नजरबन्दमा परेकी थिइन् ।
राजनीतिक जीवनमा एमालेका नेतामा अध्यक्ष मनमोहन अधिकारीको भाषण उनले पहिलो पटक सुनेकी÷देखेकी थिइन् । ०४७ सालमा इटहरीको आइतबारेमा अधिकारीको सभामा उनी विद्यार्थीका रुपमा सहभागी भइन् । भन्छिन्,‘त्यसबेला विद्यार्थीको कमिटिमा पनि थिएँ ।’

ओली यसरी बुवा भए
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीलाई बुवा भन्ने कम छैनन् । बुवा सम्बोधनको एउटा प्रवित्ति बनिसकेको छ । यद्यपि श्रेष्ठले बुवा नै भन्नुको अर्थ रोचक छ ।
माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिगको प्रतिरोधका लागि तत्कालिन प्रजातान्त्रिक युवा संघसँगै समानान्तर आक्रामक संगठन युथ फोर्स ओलीकै निर्देशनमा गठन भएको थियो । उक्त संगठनको डेस्क इञ्चार्ज भएका कारण कतिपय सामाजिक मुद्दा पनि आउँथे जसका विषयमा विवाद पनि हुने गरेका थिए ।
युथफोर्सका धेरै कामका विवादका विषयमा ओलीलाई मुछिन्थ्यो । ओली नचिने पनि श्रेष्ठको नाम जोडिन थाल्यो । एकाएक ओलीको मोबाइलबाट फोन आएपछि मदन भण्डारी फाउन्डेशनको कार्यालयमा विवादित विषयका सन्दर्भमा छलफल हुने थियो । उनले पहिलो पटक ओलीलाई त्यहिँ भेटिन् । र, सोधिन्,‘तपाई मलाई चिन्नुहुन्छ ?’ ओलीको उत्तर आयो,‘यस, यु आर युथ फोर्स ।’
ओलीका हरेक राजनीतिक तयारीमा उनको सहभागीता बाक्लो हुन थाल्यो । ‘उहाँले एक पटक मार्क गरेपछि मान्छेलाई निक्कै अगाडी बढ्न हौसला दिनुहुन्थ्यो । मलाई विभिन्न तहबाट झुक्याएर कारबाही गर्ने सिफारिस पनि भएका थिए । त्यसबारे थाहा पाएपछि उहाँनजिक हुन पुगें’, उनी सम्झिन्छिन्,‘आफ्ना बुवाको उमेरको, राजनीतिक अभिभावक भएकाले बुवाको दर्जामा राखेकी हुँ । उहाँलाई अहिले पनि मेरो सम्बोधन बुवा नै हुन्छ ।’
अध्यात्मका गुरु आनन्द अरुण स्वामी र राजनीतिका अभिभावक ओलीले उनको ‘ध्यान’लाई हेरेका छन् । त्यसैले पनि कतिपय साथीभाईले भन्ने गरेका छन्– तिमीलाई गुरुको कृपा छ । उनलाई पनि त्यस्तो लाग्छ घरि–घरि । भन्छिन्,‘राजनीतिमा संघर्ष र मिहेनत गरेका कारण ओली बुवाले अगाडी बढाउनु भएको हो । अध्यात्ममा पनि गुरु आनन्द अरुण स्वामीको कृपा छ ।’















प्रतिक्रिया