
काठमाडौं, ९ जेठ । मदर टेरेसाको ‘हिजो गयो, भोली आइसकेको छैन, हामीसँग आजमात्र छ अब सुरु गरौं’ भन्ने विचारसँग सहमत छन् मदन चुडाल । मान्छे आजका लागि मात्र बाँचेको हुन्छ । जन्म, विवाह, मृत्यु, सफलता, स्मृति अथवा मान्छेका जीवनका धेरे परिघटना आजसँग अर्थपूर्ण हुने ठान्छन् ।

सगरमाथा आरोही संघका सचिव चुडाल अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघका पूर्व उपाध्यक्ष र नेपाल कम्युनिस्ट पार्टीका युवा नेता हुन् । झापामा जन्मिएर सुनसरीमा राजनीतिक पृष्ठभूमी बलियो बनाएका उनको स्मृतिमा उक्लिएका छन् कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्व. पुत्र प्रकाश दाहाल (साकार) । उनीहरू मिल्ने साथी थिए ।
यसैबेला स्मृतिमा उक्लिनुको कारणचाहीँ उँचो छ । चुडाल भन्छन्, ‘उनी मेरा मित्र थिए । अनेक सम्झना छन् । सम्झनाका गहिरो कारण हुन्छन् । तर यसैबेला सम्झना आउनुको कारण अझ उँचो छ ।’
उँचो कारण कसरी ?
महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘उडी छुनु चन्द्र एक’ उद्दरणको केही नजिक पुगको कारण हो । प्रकाश दाहालसहित चुडाल, बिना मगर (हाल खानेपानी मन्त्री) र अन्य ६ ले चन्द्रमासँग ८ किलोमिटर र ८ सय ४८ मिटरको दुरी घटाएका थिए । अर्थात्, सगरमाथाको सफल आरोहण गरेका थिए । शिखर चुमेका थिए । नेपाली राष्ट्रिय झन्डा फरफराएका थिए ।
लुम्बिनी सगरमाथा शान्ति अभियानका क्रममा २६ मे, २०१२ मा विश्वको शिखर चुम्ने सहयात्री थिए – कृष्ण केसी, शिव डाँगी, महेश्वर फुयाल, युवराज दुलाल र सरल सहयात्री । चुडाल सम्झन्छन्,‘त्यो संकल्प राजनीतिक अस्थिरताकाबीचमा हामीले गरेका थियौं । शान्ति यात्राले गति लियो र राजनीतिले फरक कोर्षको यात्रा तय गरिसकेको छ ।’

शिखर चुम्नु प्राथमिक उद्देश्यसँगै त्यो यात्राले प्रकाश र बीनाको प्रेमको अङ्कुर रोपेको थियो । जुन सम्बन्धको परिणामका रूपमा खुमलटारमा हुर्किरहेका छन् प्रणब । प्रकाश–बीना प्रेमका साक्षी अन्य आरोही दलका सदस्यहरू पनि हुन् ।
‘मैले अघि नै भनिसँके आजको दिन महत्वपूर्ण हो, त्यसकारण त्यस परिघटनालाई कसैले पनि परिवर्तन गर्न नसक्दो रहेछ । शिखर चुमेको त्यो समय फेरि कहाँ आउँछ र ?’, चुुडाल थप्छन्,‘बस, त्यसको स्मृतिमा हामीले केही योगदान गर्नुपर्छ भन्ने लाग्छ । माध्यमिक घटनाक्रम पनि महत्वपूर्ण रहेको सबैले बुझेका छन् ।’
सगरमाथा चढ्नु आफैंमा गौरवको कुरा हो । हरेकका फरक उद्देश्य हुन्छन् । ६ वर्ष अघि शान्तिको कामना गरी सगरमाथा चढ्नुको आनन्द मुलुकमा अन्त्य भएको अस्थिरता पनि रहेको ठान्छन्, चुडाल ।

प्रकाशको स्मृतिमा रक्तदान
प्रकाशको स्मृतिमा चुडाल सचिव रहेको आरोही संघले २६ मे कै दिन पारेर रक्तदान कार्यक्रमको तय गरेका छन् । जसमा प्रचण्ड प्रमुख अतिथिका रूपमा नेपाल पर्यटन बोर्डको कार्यालयमा आउने तय भइसकेको छ ।
‘अहिले देशमा रगत अभावका समाचार आइरहेका छन् । यो असामान्य समस्या समाधानका लागि पनि प्रकाश दाहालको स्मृतिका कार्यक्रम आयोजना गरेका छौं’, चुडा भन्छन्, ‘हिउँको पर्खालमा पाइला बनाएर सगरमाथा चढ्न जति कठिन हुन्छ, रगतको अभावमा बाँच्नेको पीडा अझ भयावह देखेका छौं । त्यसैले कार्यक्रम आयोजना गरिएको हो ।’
संघकी अध्यक्ष माया शेर्पाले रक्तदानमा सहभागीता जनाएर योगदान गरिदिन आग्रह गरेकी छन् । १२ शनिबार विहान साढे ७ बजे कार्यक्रम छ ।















प्रतिक्रिया