
– विनोद ढकाल / दैनिक नेपाल
दिनेशले सक्रिय राजनीति पनि गरे भन्दा तपाईँ पत्याउनुहुन्छ ? हो, उनले राजनीति गरे । उनी कम्युनिस्ट राजनीतिका क्रममा चुनाव लडे । इटा बोकेर प्रहरी कार्यालयका झ्याल फुटाए । जेल पनि परे ।
काठमाडौं । अंग्रेजीमा एउटा भनाइ छ– तिमी मेरो नाम जान्दछौ, मेरो कथा जान्दैनौ, तिमीले सुनेका छौ मेरो काम तर सुरुदेखि अन्त्यसम्मको यात्रा जानेका छैनौ ।
सम्भवतः यो उद्दरणको एउटा पयार्य हुन् ‘आवाजको दुनियाँका साथी’ दिनेश डिसी । उनी मिडियामा सक्रिय छन् । फिल्म पनि बनाउँछन् । उद्घोषणमा त उनको स्पर्धा गर्ने को छ र ? भनेजस्तो लाग्छ । पाँच दशक र एक वर्षको उमेर योगमा हिँडिरहेका दिनेशले सक्रिय राजनीति पनि गरे भन्दा तपाईँ पत्याउनुहुन्छ ? हो, उनले राजनीति गरे । उनी कम्युनिस्ट राजनीतिका क्रममा चुनाव लडे । इटा बोकेर प्रहरी कार्यालयका झ्याल फुटाए । जेल पनि परे । ग्ल्यामरको दुनियाँमा यति धेरै ‘अपडेट’ रहने व्यक्तिले त्यति धेरै गरे होला त ? ‘हो, म सक्रिय राजनीतिमा लागेको थिएँ । कम्युनिस्ट राजनीतिले मेरो ध्यान खिच्यो । संघर्षका मैदानमा स्वतन्त्रताका लागि विविध ठाउँमा अनेक प्रगतिशिल कार्यक्रम र आन्दोलनमा सहभागीता देखाइयो’, उनी भन्छन्,‘जीवनको यो पाटो गौण थियो । कलाकारिता प्रचारात्मक बन्यो ।’
उनी कम्युनिस्ट नै हुन् भन्ने भ्रमचाँहि फिल्मीक्षेत्रका राजनीति, पेशागत संघ संगठनका जिम्मेवारी बहनले झनक दिँदै आएको थियो । तर यति खरो कम्युनिस्ट जसले आन्दोलनमा प्रहरीका कार्यालय नै तोडफोड गरेको थियो भन्ने हेक्का राख्न मुस्किल थियो । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दलका सदस्य दिनेश भन्छन्, ‘विद्यार्थी कालमा सक्रियताका साथ राजनीति गरियो, त्यसको केही वर्षमा निराश भएर कलाकारितालाई प्रधान बनाएर हिडें । राजनीतिमा सम्भावनाहरू देखिएका थिएनन् । अब, देखिन थालेको छ । फेरि मैले प्रत्यक्ष नहोस्, परोक्ष सहयोगी बन्ने धोको राखेको छु ।’
‘कतिपय साथीभाइले प्रधानमन्त्री ओलीज्यूको सम्बन्धलाई लिएर बिभिन्न चासो राख्छन्, तर मैले साथीहरुलाई जबाफ दिने गरेको छु, कुनै नियुक्ति खान मैले प्रधानमन्त्रीज्यूलाई सहयोग गरेको होइन्, उहाँको भिजनसँग मेरो पनि भिजन मिल्छ, उहाँलाई बाहिरै बसेर सहयोग गर्ने मेरो चाहना छ’ – डिसी दृढ छन् ।
यसरी सुरु भयो राजनीति
इलाममा उच्च माध्यमिक तहको अध्ययन गर्दै थिए, दिनेश । पञ्चायतको कालो छायाँले प्रशासन निक्कै तगडा बनाइएको थियो । अर्कातिर कम्युनिस्ट आन्दोलन विस्तारै सक्रिय भइसकेको थियो । विद्यार्थीको राजनीतिमा केही स्वतन्त्रता भएजस्तो थियो ।
इलाममा मञ्जुल, जेवी टुहुरेलगायतका कलाकारहरू कार्यक्रमका लागि पुगेका थिए । स्कुले साथीहरूसहित उनी पनि सहभागी भए । चिया वगानको बीचमा भएको कार्यक्रम, प्रहरी आए भाग्नुपर्छ पनि भनेको सुन्दा उनी अचम्मित हुन्थे । जब मञ्जुलले उद्घोषण गरे, जेबी टुहुरेले गीत गाउन थाले । कम्युनिस्ट राजनीति गर्नुपर्छ, स्वतन्त्रताका लागि लड्नुपर्छ भन्ने विचारले खिच्यो । ‘आमा दिदीबहिनी हो..भन्नेलगायतका गीतको प्रभाव रह्यो’, भन्छन्, ‘ओहो ! यो रहेछ नि बाटो । हिँड्ने त यसरी पो हो भन्ने लागेर राजनीतिमा होमिएँ ।’
उनी उच्च अध्ययनका लागि काठमाडौं छिरे । दिमागमा राजनीतिको भूत, मनमा कलाकारिताको रहर थियो । किर्तिपुरदेखि काठमाडौंका विभिन्न ठाउँमा नाटक देखाउने टोलीका सदस्य थिए । राती–राती नाटक देखाउने र आन्दोलनका पर्चा पम्प्लेट टाङ्ने काममा उनको सक्रियता बढ्न थाल्यो । ०४२ देखि ०४६ सम्मको राजनीतिक अभियानमा उनको सक्रियता रह्यो । कहिले पक्राउ पर्थे, कहिले छाडिन्थे ।
टोपबहादुर जितेनन्, मैले चिट्ठामा हारें
दिनेश त्यसबेला नै कम्युनिस्ट भनेको झोला बोक्ने, दाह्री पाल्ने, आदर्शका कुरा गर्ने मात्र हुँदैनन् भन्ने मान्यता राख्थे । त्यसैले सम्पन्न परिवारका सदस्यहरूको ठूलो संख्या रहेको अस्कलमा कम्युनिस्ट हुँदाहुँदै उनको रहन–सहन र शैली फरक थियो ।
‘विश्वमा भइरहेका हरेक नयाँ चिजको अनुशरण गरेर पनि कम्युनिस्ट राजनीति स्थापित गर्न सकिन्छ भन्ने मान्यता राख्थें’, उनी भन्छन्, ‘स्टाइललाई अपनाउँदैमा अर्कै भइन्छ भन्ने सोच थिएन । कतिपय समयमा मलाई नेपाल विद्यार्थी संघ वा अन्य सम्पन्न वर्गको सुराक हुनसक्ने आरोप पनि लगाइयो । तर त्यसले म विचलित भइन ।’
मेरो आग्रह मानेर नेविसंघकी एकजना कार्यकर्ताले उम्मेदवारी फिर्ता लिइन् । मलाई त उनलाई अपहरण गरेको आरोप पो लाग्यो !
कलेज राजनीतिमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि नेवि संघको दबदबा तोड्नका लागि अस्कलमा दिनेशको सक्रियतामा कम्युनिस्टहरूको अर्को प्यानल भयो । केही माओवादी पृष्ठभूमिका र माले पृष्ठभूमिकाको गठबन्धनमा टोपबहादुर रायमाझीलाई अध्यक्षको उम्मेदवार बनाएर उनी उपाध्यक्षमा बसे । चुनावको परिणाम आयो । उनीहरूको प्यानल नै पराजित भयो, दिनेश बाहेक । उनलाई सम्झना छ, ‘मेरो बराबर मत भयो । ६०४ मत । यसको निर्णय चिट्ठाबाट गर्ने भएपछि त्यसमा पराजित भएँ ।’
प्यानलको पराजय ठूलो कुरा थिएन । अस्कलमा सुरु भएको स्पर्धाको राजनीतिले फड्को मारिसकेकोमा उनी खुशी छन् । ‘हामीले स्थापित गरेको हो त्यहाँ अखिलको राजनीति । झन्डा जलाइए, अपहरणको अभियोग लगाएर घेराबन्दी गरियो । तर पनि राजनीति त स्थापित भयो ।’, उनी भन्छन्, ‘बलबहादुर केसीलगायतका कांग्रेस नेताहरूले त्यसबेला मलाई खेदेका थिए । मेरो आग्रह मानेर नेविसंघकी एकजना कार्यकर्ताले उम्मेदवारी फिर्ता लिइन् । मलाई त उनलाई अपहरण गरेको आरोप पो लाग्यो !’
मदन भण्डारीले दिएको सरप्राइज
राजनीतिक सक्रियतामा रहेपनि दिनेशको बानी लाउके भएर हिँड्ने नै थियो । अर्थात्, राजनीति गर्ने नेतासँग सम्बन्ध नराख्ने । हरेक कार्यक्रमहरूमा सक्रियता देखाउने, चाप्लुसीमा नपुग्ने । यसैले पनि उनले त्यसबेला केन्द्रीय तहका नेतालाई चिनेनन् ।
अझ ०५० सालपछि राजनीतिमा निस्क्रियता र पेशागत क्षेत्रमा उनको सक्रियताले दूरी अझ झाँगियो । नेताहरू भूमिगत भएका कारण पनि चिन्न मुस्किल थियो । तर उनी मदन भण्डारीलाई चिन्दथे । उनी पार्टीका आइकन हुन् भन्ने थाहा थियो ।
लगत्तै ०४८ सालमा आएको चुनावी अभियानको सभामा दिनेश पनि पुगेका थिए । प्रमुख वक्ता र काठमाडौं–१ का उम्मेदवार भएका कारणले मदन भण्डारी सक्रिय भएर लागेका थिए ।
चुनावी अभियानमा रहेका दिनेशलाई भण्डारीले सरप्राइज दिनेगरी भने,‘ के छ दिनेश जी ? राम्रो छ अगाडि बढ्नुपर्छ ।’
दिनेश सम्झन्छन्, ‘उहाँ साइकलमा आइरहनु भएको थियो । साइकल रोकेर भन्नुभयो– के छ दिनेश जी ? म त सरप्राइज भएँ, छक्क परें ।’















प्रतिक्रिया