काठमाडौं, ६ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणसँग केन्द्रीय कार्यालय कहाँ राख्ने भनेर नेताहरूका बीच अनौपचारिक कुराकानी भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले केन्द्रीय कार्यालयका बारेमा आन्तरिक परामर्श र गृहकार्य थालेका छन् ।
गत शुक्रबार दुई पार्टी एकीकरण भएपछि केन्द्रीय कार्यालय र सचिवालयलाई लिएर विभिन्न खालका अड्कलबाजी भइरहेका छन् ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी र स्थायी समितिलाई पूर्णता दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर केन्द्रीय कार्यालयको टुंगो लगाउनेछन् ।
नेकपाका एक नेताले भने, ‘२–३ दिनभित्र केन्द्रीय सचिवालय कहाँ राख्ने भन्नेबारेमा निर्णय हुनेछ । अध्यक्षहरूले कुराकानी गर्नुभएको छ ।’
स्रोतका अनुसार नेकपाको केन्द्रीय कार्यालय र सचिवालय धुम्रबाराहीस्थित तत्कालीन एमालेको पार्टी कार्यालयलाई नै बनाउने तयारी भएको छ । पेरिसडाँडामा जनवर्गीय संगठनहरूलाई राख्नेबारेमा पनि कुराकानी भएको एक नेताले बताए ।















प्रतिक्रिया