-डिल्लीराम अम्माई
बेल्जियम, ५ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकताले डायस्पोरामा समेत गहिरो तरंग ल्याइदिएको छ । अबको एनआरएनएको चुनाबमा होस् वा अन्य संघ संस्थाको गतिविधिमा यो एकताको प्रत्यक्ष प्रभाव पार्ने सबैले आँकलन गरेका छन् ।
नेपालमा भएको चुनाबी मोर्चाको सहकार्यले प्राय नेपालको सबै क्षेत्रमा यी दुई पार्टीका कार्यकर्ताहरुबीच नजिकको सम्बन्ध स्थापित भैसकेको देखिन्छ । तर ठ्याक्कै त्यहि अबस्था डायस्पोरामा छैन । बेल्जियमलगायत केही देशमा सहकार्यको अभ्यास गत केही महिना देखि भए पनि केहि देशमा संयुक्त कार्यक्रमको अभ्यास घनिभूत भएको देखिदैन ।
अहिले एकताको अभ्यासको क्रममा बेल्जियममा जन प्रगतीशील मंचका पुर्व अध्यक्ष चित्र सुबेदीको सक्रियतामा नेपालमा एकता भएकै दिन जेठ ३ गते दिवंगत नेताद्वय मदन–आश्रितलाई श्रद्धाञ्जलि दिँदै प्रगतिशील मञ्च र प्रवासी नेपाली मञ्चले संयुक्त रुपमा एकता उत्सव समेत मनाइएको छ । अबको नेतृत्वको चुनौतीलाई पनि पार्टी नेतृत्वको भाबनालाई सम्मान गर्दै समाधान गर्ने संकल्प समेत उनीहरुले गरेका छन् ।
अबको उनीहरुको चुनौती कार्यकर्ताको व्यवस्थापनमै केन्द्रित हुने देखिन्छ । यदी मन, वचन र कर्मले एकताको भावनालाई सम्मान गर्ने हो भने नेतृत्वको चुनौती सजिलै हल हुने बताउँछन्, उनीहरु । केन्द्रको निर्देशन प्राप्त गरेपछि मात्र दुबै संगठन भंग गरी सहमतिमै संयुक्त समिति निर्माण हुने उनीहरुको दाबि छ ।
घात अन्तर्घातको पुरानो कुप्रथाले समस्या निम्त्याउन सक्ने हुँदा पार्टी एकताको मर्मलाई हृदयमा राखेर अगाडी बढे सबै समस्याको हल भेटिने मञ्चका एक सदस्यले बताए । अबको अभियान केवल मुलुकको समृद्धिको लागि डायास्पोराले के सहयोग गर्न सक्छ भन्ने हुनुपर्ने उनले बताए ।
जनताको जिबनस्तरलाई माथि उठाउन एनआरएनहरुले पुरानो पुस्तालाई टेक्नोलोजीसहित नेपाल फिर्ताको तयारी थाल्नु नै समृद्धिको लागि आवश्यक रहेको उनी बताउँछन् । प्रवासको नेतृत्वमा को आउने भन्ने प्रश्न भन्दापनि प्रवासले नेपालको समृद्धि अभियानलाई कसरि सघाउने भन्ने प्रश्न अहिलेको प्रधान प्रश्न हो । त्यसैले नेतृत्वको हरहिसाब भन्दा पार्टी र बर्तमान सरकारले लिएको संकल्पमा सहायक बन्न प्रयत्न गर्नु अहिलेको गहन जिम्मेवारी भएको उनको भनाइ छ ।















प्रतिक्रिया