काठमाडौँ । नेपालीहरुको जीवनशैली परिवर्तन भएको छ । मानिसहरुले विलासी जीवन बिताउन थालेका छन् । जीवनशैली र खानपान तथा आहारविहारकै कारण क्यान्सर रोग लाग्ने गर्छ । यी कुराहरुमा ध्यान दिन सके ४० प्रतिशत क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ । क्यान्सर रोगका धेरै कारणहरु हुन्छन् जसमध्ये केही हाम्रो वसमा हुँदैन तर अधिकांश क्यान्सर आफैँ हाम्रै जीवनयापनका कारणले हुन सक्छ ।
क्यान्सरको जोखिमबाट बच्नको लागि यी उपायहरु अपनाउनु अत्यन्त आवश्यक छः
१. सूर्तिजन्य पदार्थ सेवन नगर्ने
सूर्तिजन्यपदार्थको सेवन क्यान्सरको प्रमुख कारण हो । संसारभर हुने क्यान्सरको आधाभन्दा बढि कारण सूर्तिजन्यपदार्थ नै हो । यसले फोक्सो र मुखको क्यान्सर मात्रै होइन तर सूर्तिजन्य पदार्थमा भएका ४ हजार बढी हानिकारक रसायनमध्ये ४० वटा बढी शीरदेखि पाउसम्मको सबै क्यान्सर बनाउने रसायन हुन्छ । यसको सेवन गर्न छोडे आधाभन्दा बढि क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।
२. बासी सडेगलेको तथा ढुसी लागेको खाना नखाने
बासी सडेगलेको तथा ढुसी लागेको खानामा क्यान्सर गराउने तत्व ‘एङ्खलाटोक्सिन’ पाइन्छ । यसले सजिलै क्यान्सरको जोखिम बढाउँछ । कतिपयले बासी तथा सडेगलेको खानेकुरा तताएर वा ढुसीफालेर खाने गरेको देखिन्छ तर त्यहि खाना क्यान्सर रोगको कारक बन्न सक्छ । त्यसैले यस्तो खाना खानु हुदैन ।
३. मदिरापान नगर्ने
अत्यधिक मदिरापान गर्ने व्यक्तिलाई खासगरी पाचनप्रणाली, कलेजो, ठूलो आन्द्रा र कोलोरेक्टल, स्तन, गदद्धार लगायतमा क्यान्सर हुने गर्छ । त्यसैले मदिरा सेवनको मात्रा कटौति गर्नु अत्यन्त आवश्यक छ ।
४. खानपानमा ध्यान पुयाउने
हामीले खाने विभिन्न खानेकुुराहरुमा हुने रसायनले क्यान्सरको जोखिम बढाउने गर्छ । खाद्यपदार्थमा मिसाएका किटनासक औषधि र रसायनीक मल, विसादी हालिएका तरकारी, फलफुल तथा खाद्य पदार्थको प्रयोगले मुख, आमासय, अन्ननली आदिको क्यान्सर लाग्न मद्त गर्छ ।
५. रातो मासु कम गर्ने
रातो मासु क्यान्सर रोगको लागि अनुकुल बन्न जान्छ । त्यसैले रातो मासु सकेसम्म नखाने । खानैपरे बोइल गरेर खाने । मासु खाने नै भए कुखुरा र माछा ठिक खाँदा निकै उत्तम हुन्छ ।
६. दैनिक व्यायाम गर्ने
दैनिक ४५ मिनेट व्यायाम गर्नाले क्यान्सरको जोखिमलाई नियन्त्रण गर्न सकिन्छ । व्यायाम शरीरमा लाग्न सक्ने सबैखाले नसर्ने रोगका लागि प्रमुख अस्त्र हो । त्यसैले दैनिक कम्तीमा ४५ मिनेट व्यायम गरि पसिना निकाल्ने गर्नाले क्यान्सर मात्रै नभई अन्य रोगबाट पनि बच्न सकिन्छ ।
७. धुलो धुँवाबाट जागिने
धुलो धुवाको प्रत्यक्ष सम्पर्कमा आउनु धूमपान गर्नुजत्तिकै हानिकारक छ । क्यान्सरको कारणमध्ये धुलोधुवा र प्रदुशित वातावरण पनि एक हो । जसबाट यसले फोक्सो, घाँटी तथा अन्य महत्वपूर्ण अंगको क्यान्सर हुन सक्छ ।
८. चर्कोघाममा नबस्ने
सूर्यको किरणमा थुप्रै हानीकारण हुन्छ । लामो समय चर्को घाममा बस्दा पनि सूर्यबाट आउने विकिरणले छालाको क्यान्सर गराउन सक्छ । त्यसैले लामो समय चर्कोघाममा बस्नु हुदैन । यदि बस्नै परे छाता ओडेर वा छालालाई कपडाले छोपेर बस्नु पर्छ ।
९. पाठेघरको जाच गर्ने
विवाहित महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएकोले विवाहित महिलाले प्रत्येक दुई दुई बर्षमा पाठेघरको श्राव परीक्षण गर्नुपर्छ । यसपरीक्षणबाट क्यान्सर लाग्नु भन्दा पूर्वको अवस्था थाह पाएर उपचार गरेमा क्यान्सर हुन पाउँदैन ।
१० मौसम अनुसारको फलफुल खाने
मौषमअनुसारको ताजा हरियो सागपात बन्दा, काउली, फर्सी, ब्रोकाउली र फलफुलहरु नियमित खाने गर्नाले क्यान्सरको जोखिमबाट बचाउँछ । तर बेमौसमी तरकारी तथा फलफुलमा रसायनिक पदार्थ बढी प्रयोग हुने भएकोले सकेसम्म यस्ता खानेकुरा नखाएकै राम्रो हुन्छ ।















प्रतिक्रिया