३० आश्विन २०८३, शुक्रबार

मदन भण्डारीको हत्या कि दुर्घटना सम्माननीयज्यू ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

आज जेठ ३ गते नेपालको इतिहासमा एकैसाथ लाखौं जनतालाई रुवाएको दिन । जनताको बहुदलीय जनबादका प्रवर्तक नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा परी निधन भएको थियो । दुर्घटना किन, कसले गरायो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । तत्कालिन समयमा एमालेले देशैभर मदन–आश्रितको मृत्यु दुघर्टना नभएर हत्या भएको भन्दै आन्दोलन पनि गर्यो । २५ वर्ष अगाडिको यो घटना अहिलेसम्म सरकार, सदन र सडकमा उठिरहन्छ । तर, अझैसम्म उक्त घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन ।

संयोगले भन्नुपर्दछ, घटनामा ज्यान गुमाउने भण्डारीको पत्नी विद्यादेवी भण्डारी अहिले मुलुकको राष्ट्रपति छिन् । आश्रित पत्नी माया ज्ञवाली सांसद छिन् । मदन–आश्रितले रगत र पसिना बगाएकोे पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । एमाले नेतृत्वको बामपन्थी सरकार छ । मुलुक मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनबादकै मार्गदर्शनमा अगाडि बढिरहेको छ । हरेक वर्ष मदन–आश्रित स्मृति दिवस मनाइन्छ । आज पनि मनाइँदैछ । नेताहरुले उनको शालिकमा माल्यार्पण गर्दैछन् । उनीहरुको योगदान र बहुदलीय जनबादको चर्चा गर्दैछन् तर उनको हत्याको चूरो तथ्य बाहिर ल्याउन सकेका छैनन् । अहिले बहुदलीय जनबादका समर्थकहरु मात्रै होइन्, शान्ति र विकासप्रेमी आम जनता दासढुंगा घटनाको यथार्थता बाहिर ल्याउन सकेमात्र उनीहरुप्रतिको सच्चा सम्मान हुने विश्वास व्यक्त गरिरहेका छन् । दुई नेताको मृत्यु हुनेगरी भएको जीप दुर्घटनालाई एमालेले रहस्यमय भन्दै आएको छ । रहस्यमय भन्ने तर घटनाको जरासम्म पुग्न नखोज्ने प्रवृतिले गर्दा आमसर्वसाधारण पनि अन्यौलमा छन् । श्रीमती राष्ट्रपति भएको समयमा पनि श्रीमानको दुघर्टनाको कारण पत्ता लगाउन सकिएन भने अबको ५ वर्षपछि यसको चर्चा गर्नु बेतुक हुनेछ । तत्कालिन समयमा मदन–आश्रितको मृत्यको खबरले भाव विह्वल हुँदै आवेशमा आएर एमाले नेता गोल्छे सार्कीले तत्कालिन सभामुखको गालामा चड्कन हानेका थिए । २५ वर्ष अगाडिको घटनाको सत्यता बाहिर ल्याउन नसक्ने खाली रहस्यमय मात्रै भन्ने सम्माननीयहरु माथि जनताको सम्मान र आदर खस्किन सक्छ ।

एमालेको २०४९ सालमा सम्पन्न पाँचौँ अधिवेशनमा भण्डारीले जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रमका रूपमा अघि सारेका थिए । एमालेले कार्यक्रममार्फत नै पार्टी गतिविधि अगाडि बढाउँदै जाने क्रममा अहिले मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । आजबाट मुलुकमा बाम गठबन्धनको ऐतिहासिक राजनीतिक यात्रा शुरु हुँदैछ । एमाले र माओवादीबीच पार्टी एकीकरणको घोषणाको चरणमा मुलुक आयो । मदन–आश्रितले देखेको साम्यवादी व्यवस्था ल्याउन यो एकता फलदायी हुनेछ । त्यसका लागि दुबै दलका शिर्षनेताले नयाँ बन्ने पार्टीमा अपनत्व लिनु जरुरी छ । माक्र्सवादी दर्शनबाट निर्देशित यी दुबै पार्टीले ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादी सिद्धान्तलाई आत्मसात गर्ने मात्रै होइन, लामो संघर्षपूर्ण यात्राबाट व्यवहारिक सिकाई पनि गरेको हुँदा आजको दिन २५ वर्ष अगाडि दुःखद घटनाको कारण जसरी चर्चित भइरहेको छ । त्यही दुःखको घाउमा केही भएपनि मल्हम लगाउने गरी पार्टी एकताको घोषणा गरेर मदन–आश्रितले नेपाली समाजको रुपान्तरणमा पुराएको योगदान सम्मान गरिँदैछ ।

संविधानको सर्वोच्चता र बहुदलीय प्रतिसपर्धा, बहुलबादी खुला समाज, कानुन सम्मत शासन प्रशासन, बहुमतको सरकार र अल्पमतको विपक्ष, मानव अधिकार, प्रजातान्त्रिक मौलिक अधिकार, शान्तिको संवैधानिक प्रत्याभूति र रक्षा जस्ता राजनीतिक विषयहरु दूरगामी प्रभाव पार्ने र निर्णायक महत्व पार्ने विषयहरु समावेश गरी कार्यक्रम अगाडि बढाइएकोले बहुदलीय जनवादी भनेर परिभाषित गरिएको उक्त कार्यक्रम अहिले पनि जिवन्त छ । अन्त्यमाः पार्टी एकीकरण गर्दै दासढुंगा घटना नियोजित हो कि दुर्घटना हो सो गहिरो ढंगले अनुसन्धान गर्ने गरी सरकारले एउटा उच्च तहको स्वतन्त्र टोली गठन गर्नुपर्दछ । नेपाल र नेपाल सुहाउँदो बैज्ञानिक कार्यक्रम जनताको बहुदलीय जनबादलाई घरघर, चुल्हो चूल्होमा पुराउने गरी संघ, प्रदेश र स्थानीय सरकार अगाडि बढेमा मात्र मुलुकमा शान्ति र समृद्धि कायम हुनेछ अनि मात्र मदन–आश्रितप्रति सच्चा श्रद्दासुमन व्यक्त हुनेछ ।

लेखक लुम्बिनी प्रेस क्लबका महासचिव हुन् ।