३ कार्तिक २०८३, मंगलबार

कहाँ छन् सुन डन गोरेकी लगानीकर्ता पत्नी र प्रेमिका ?

40.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई तस्करीमा लगानी गर्ने उनकी पत्नी नर्बदा खरेल उप्रेती निरू र प्रेमिका रक्षा भण्डारी प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् ।

मृतक सनम शाक्यकी प्रेमिका निशा सेन ठकुरीलाई प्रहरीले पक्राउ गरेपछि उनले गृह मन्त्रालयका सहसचिव इश्वराज पौडेलको नेतृत्वको उच्चस्तरीय छानबिन समिति र मोरङ अदालतमा बयान दिएकी छन् । छानबिन समितिले गोरेको तस्करी कर्ममा लगानीकर्ता रहेका भुजुङ गुरूङलगायतलाई पक्राउ गरी बयान समेत लियो । तर अभियोगपत्रमा लगानीकर्ता भनेर उल्लेख गरेका गोरेकी पत्नी निरू र प्रेमिका रक्षा कहाँ छिन् ?

रक्षा रुद्राक्ष व्यापारीकी छोरी हुन् । उनी मोडलिङमा पनि सक्रिय रहेको बताइएको छ । गोरेसहित फरार ३४ जनाको सूचीमा निरू र रक्षा समेत परेका छन् । निरूले सनम हत्याको पर्सीपल्ट अपराध महाशाखाका सई बालकृष्ण सञ्जेललाई सिनामंगलमा रहेको बाजेको सेकुवामा भेटेकी थिइन् । त्यसपछि उनी प्रहरीको सम्पर्कभन्दा बाहिर रहेको सञ्जेलले बयानमा उल्लेख गरेका छन् ।

त्यसअघि सनम शाक्यको हत्या भएको दिन गोरेपत्नी नर्बदासँग मृत शाक्यपत्नी सुनिता लावतीको टेलिफोनमा कुराकानी भएको छानविन समितिको विवरणमा उल्लेख थियो । ‘गोरेले फोन गरे जानकारी दिन्छु बचाइदिन परो’ भन्दै सञ्जेलसँग आग्रह गरेकी निरू सम्पर्कविहीन हुनुलाई गोरेको साथैमा हुनसक्ने अनुमान गरिएको छ ।

भारतको सिलिगुडीलगायतका विभिन्न ठाउँमा गोरेको कनेक्शन रहेका कारण सोही मार्ग प्रयोग गरी शाक्यको सब सनाखत गरी प्रहरीले नियन्त्रणमा लिइसक्दा पत्नी र प्रेमिकासहित उनी तेस्रो मुलुक पुगेको हुनसक्ने अनुमान गरिएको छ । गोरेका खोजीका लागि छानविन समितिले युएइ सरकारसँग अनुमति मागेको थियो । तर, नेपालस्थित युइए दुतावासले उक्त अनुमति नदिएको बताइएको छ ।

२०६९ सालदेखि गोरेले सुन तस्करीको कर्मलाई साथ दिँदै आएकी रक्षा पनि सम्पर्क विहीन छिन् । उनी गौरीघाटमा बस्दै आएको र तस्करीका सुन रक्षाको कोठाबाट नै गोरेले विभिन्न ठाउँमा पुराउने गरेको प्रारम्भिक अनुमान छ ।

सिभिलमै स्ट्रिङ अपरेशनको तयारी
गोरेलाई पक्राउ गरी छानविनको दायरामा ल्याउनका लागि युएई सरकारले अनुमति नदिए पनि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको सहायतामा अन्तर्राष्ट्रिय प्रहरी सञ्जालमा रेड कर्नर नोटिस जारी गरी गोरेविरुद्ध स्ट्रिङ अपरेशनको तयारी भएको छ ।

उच्च सुरक्षा अधिकारीका अनुसार गोरेलाई पक्राउ गर्नका लागि व्युरोको विशेष टोलीलाई सुन तस्करीको मुख्य केन्द्र रहेको युएई, थाइल्यान्ड र सिंगापुरसम्म खटाउने तयारी भएको छ ।

अपराध महाशाखाका डिएसपी प्रजित केसीलाई पछि सिंगापुरमा भेट्ने भन्दै गोरेले फोन राखेपछि उनी सम्पर्कविहीन छन् । त्यसकारण सिंगापुरलाई पनि रेकी गरिएको सुरक्षा अधिकारीले बताए ।

उता सुन तस्करी काण्डमा मुख्य सहयोगी प्रहरी अधिकारी फरार एसएसपी श्याम खत्री र गोरे सँगै हुनसक्ने अनुमान प्रहरीले गरेको छ । ‘फरार ३४ मध्ये यी दुई मुख्य एकै ठाउँ हुनसक्ने अनुमान गरिएको छ । यसरी सम्पर्कविहीन र सुराकविहीन बन्नका लागि प्रहरी भन्दा अरुले गोरेलाई सुझाव दिनै सक्तैन’, सुरक्षा अधिकारीले भने ।