
-मिना बुढाथोकी
सल्यान, १ जेठ । स्वस्थ जीवन जिउन पाउनु हरेक मानिसको जन्मसिद्ध अधिकार हो । निःशुल्क स्वास्थ्य उपचार, स्वास्थ्य सेवा र सूचनाको सुविधा पाउनु उसको अधिकार हो । स्वास्थ्य रहनु मानिसको जन्मसिद्ध अधिकार भएपनि नेपालको सन्दर्भमा अधिकांश महिलाहरुले सामान्य भन्दा सामान्य स्वास्थ्य उपचार सेवा नपाएकै कारण ज्यान गुमाउनु परिरहेको छ ।
नेपाल सरकारले सुरक्षित मातृत्व सेवा, अति आवश्यक औषधिहरु निःशुल्क पाउने व्यवस्था, २४ घण्टा प्रसुती सेवा, परिवार नियोजन परामर्श सेवा जस्ता सेवाहरुको नीतिगत व्यवस्था गरे पनि यसको पूर्ण कार्यान्वयन नभएका कारण शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका महिलाहरु यस्ता सेवा÷सुविधाबाट टाढा रहनु परेकोे छ ।
यसरी उपलब्ध सेवा र सुविधाबाट महिलाहरु टाढा हुनु पर्ने अवस्था आउनुको मुख्य कारण एकातिर कार्यान्वय पक्षले आफनो भूमिका र जिम्मेवारी अनुसारको काम नगर्नु हो भने अर्को तर्फ ग्रामीण भेगमा दक्ष स्वास्थ्यकर्मिको अभावका कारण महिलाहरु आवश्यकता अनुसारको स्वास्थ्य सेवा नपाई विभिन्न स्वास्थ्य समस्या भोगिररहेका हुन्छन् ।
यही कुरालाई मध्यनजर गर्दै सल्यानको दार्मा गाँउपालिकाको फारुलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा स्वास्थ्य परीक्षण गराउन आएकी दार्मा गाँएपालिका –२ निवासी ५८ वर्षीया पुतली विकले शिविरमा जाँच गराउन पाउँदा निकै सजिलो महसुस भएको बताईन् । ‘पाठेघर सम्बन्धी समस्या भएको करिब १८ वर्ष भयो उनले भनिन्, ‘तर कतै पनि जाँच गराउन जान पाएको थिइन् । घर परिवारमा पनि काममा सघाउने कोही छैन, यसरी पाठेघरको जाँच गराउन पनि सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल सम्म जानु पर्छ त्यसैले मलाई त यहाँ भगवानै आए जस्तो भयो ।’
शिविरमा पुतली विक जस्तै पाठेघरको समस्या भएका र महिलामा हुने अन्य विभिन्न खाले स्वास्थ्य समस्या भएका ५ सय ६१ जना महिलाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ५ सय १० जनाले स्वास्थय उपचार पाएको ओरेक नेपालका जिल्ला संयोजक अशोक चौधरीले जानकारी दिए ।
साथै १८ जना महिलालाई जिल्ला अस्पताल सल्यान, दाङ तथा नेपालगन्जमा अप्रेसनका लागि रिफर गरिएको छ । शिविरमा पाठेघरमा घाउ भएका १४ जना, पाठेघरको मुख सुनिएको ६१ जना, पिसाबको संक्रमण ६४ जना, यौनी चिलाउने संक्रमणका ४३ जना, पाठेघर पहिलो डिग्री झरेको ६२, पाठेघर दोस्रो डिग्री झरेको ८, पाठेघर तेस्रो डिग्री झरेका १८ जना, यौन रोगका २ जनाले उपचार तथा परामर्श पाएको उपचारमा संलग्न जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सविता घिमिरेले जानकारी दिइन ।
यसैगरि महिलाहरुमा हुने अन्य रोगको उपचार तथा परामर्श गरिएको अञ्चल अस्पताल तुलसीपुरका स्त्री रोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताए ।












प्रतिक्रिया