२२ कार्तिक २०८३, आइतबार

ढकारी गाउँपालिकामा वडाका जनप्रतिनिधिलाई ‘वाइपास’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अछाम, १ जेठ । अछामको ढकारी गाउँपालिका वडा नम्बर २ मा वडाका विभिन्न काममा वडाका जनप्रतिनिधिलाई वेवास्ता गर्ने गरिएको उनीहरुले गुनासो गरेका छन् ।

गाउँपरिषद हुँदा वडाबाट पास गरेर लिएका योजना नै समावेश नगरेको भन्दै करिब १५ दिन गाउँपालिकामा तालाबन्दी गरिएको थियो भने अहिले वडाका जनप्रतिनिधिलाई कुनै जानकारी नै नदिई गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत टेकबहादुर ओली, ईन्जिनियर, प्राविधिक र केही कार्यपालिका सदस्यले योजनाको अनुगमन गरेको भन्दै वडाका जनप्रतिनिधिले उक्त कार्यको भत्र्सना गरेका छन् ।

सोमबार वडा नम्बर २ मा सञ्चालित विभिन्न योजनाको अनुगमन गर्ने तालिका रहेपनि वडाका कुनै पनि जनप्रतिनिधिलाई खबर नगरी अनुगमन गरिएको वडा अध्यक्ष नहकुल साउँदले बताए । गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाको निर्देशनमा कार्यकारी अधिकृत ओलीले आफूलाई वेवास्ता गर्दै अनुगमन गरेर भत्ता पचाउने काम गरेको वडा अध्यक्ष साउँदको आरोप छ ।

उनले वडाको सिफारिस बिना नै योजनाको अन्तिम किस्ता भुक्तानी दिन जस्ता गलत कार्य पनि गाउँपालिकाबाट हुँदै आएको गुनासो गरे । योजनको अन्तिम भुक्तानीका लागि मापदण्ड अनुसार काम भएको व्यहोरा सहितको वडाको सिफारिस चाहिन्छ, तर गाउँपालिकाले सिफारिस बिना नै भुक्तानी दिई गलत गर्नेलाई प्रोत्साहित गरिरहेको उनको भनाई छ ।

वडा अध्यक्ष साउँदले गाउँपालिकाका बैठक पनि ३ महिनाको एक पटक मात्रै बस्ने गरेको र योजनाको प्रभावकारिताको विषयमा कुनै छलफल नै नहुने गरेको गुनासो गरे । यस सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत टेक बहादुर ओलीले आफूहरुले गाउँपालिका तहबाट योजनाको अनुगमन गरिएको बताए । यस्तै पहिले केही योजनाको वडाको सिफारिस बिना गाउँपालिकाको सिफारिसमा अन्तिम भुक्तानी दिईएको स्वीकार गरे ।

वडा नम्बर २ का छडाल देवता मन्दिर, कटनाउला रामधारा खानेपानी योजना, सुन्दरीखोला खानेपानी योजना, जुनबग्ने खानेपानी मर्मत योजना लगायत लाखौं रकमको लागतमा संचालित योजनाको अनुगमन गरिएको थियो । केही समय अघि ढकारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षको संलग्नतामा एक युवकलाई मरणासन्न हुने गरी पिटिएको समेत थियो ।