काठमाडौं, १ जेठ । एकीकरण प्रक्रियामा रहेका एमाले–माओवादी केन्द्रबीच अविश्वासको वातावरण चुलिएका बेला एमालेका नेता सोमप्रसाद पाण्डेले दुबै पार्टीबीच छिटै कुरा मिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एकता प्रक्रियामा कुनै समस्या नरहेको जिकिर गरे । ‘कुरा मिलाउन समय लागेको मात्रै हो । तर पार्टी एकता भएरै छाड्छ । एमाले र माओवादी केन्द्र मुलुकको हितको निम्ती एकता गरेर समृद्धिको यात्रामा अघि बढ्छ ।’
केही नेताहरूलाई आफ्नो पोजिसनको चिन्ता भइरहेको भन्दै पाण्डेले मुलुकको हितको निम्ती पार्टी एकता गरेरै छाड्ने बताए । ‘कसैले दुविधा नराखे हुन्छ । पार्टी एकता हुन्छ’, उनले भने ।
सरकार संचालन, मोदी भ्रमण, बजेट, सचिव सरुवा लगायतका विषयमा माओवादीले असन्तुष्टी व्यक्त गरेकाले पनि एकता प्रक्रिया प्रभावित भएको बताइरहँदा पाण्डेले भने एकता भएरै छाड्ने दाबी गरे । ‘यी कुरा गौण विषय हुन् । मुलुकको हितका लागि मात्रै सोचेका छौँ । झिनामसिना कुराले पार्टी एकता रोकिदैन’, पाण्डेले भने ।












प्रतिक्रिया