
काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई आफूहरुले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । यद्धपी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै मोदीको भ्रमण हुन आवश्यक थिएन भन्ने उनको स्पष्टोक्ति थियो ।
रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता खड्काले मोदीको नेपाल भ्रमण यो तेस्रोपटक भएकोले भ्रमण आदानप्रदान हुनु सकारात्मक भएको बताउँदै आगामी दिनमा यसले कस्तो परिणाम दिन्छ त्यो भने हेर्न बाँकी रहेको बताए । उनले मोदीले व्यक्तिगत रुपमा सम्बन्ध सुधार्नतर्फ लागेको आभाष भएको टिप्पणी गरे ।
मोदीको शैली नै पहिले व्यक्तिगत सम्बन्ध सुधार गर्ने अनि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने रहेको उनको भनाई छ । उनले थपे, ‘मोदीजीले आफू पहिलो पटक निर्वाचित प्रधानमन्त्री भएपछि सार्क राष्ट्र प्रमुखहरुलाई सपथग्रहणमा बोलाउनुभयो, सन् २०१५ को डिसेम्बरमा पाकिस्तानी प्रधानमन्त्री (आफ्ना समकक्षी) नवाज सरिफलाई जन्मदिनको शुभकामना दिन अफ्गानिस्तानबाट सिधै लाहोर पुगेका थिए, त्यस्तै ब्रिक्समा पुटिन, सि जिनपिङलाई मोदी जवारी कोट दिए ।’
त्यतिमात्रै नभएर मोदीले पछिल्लोपटक चीनीयाँ राष्ट्रपतिसँग एक्लाएक्लै अनौपचारिक भेटवार्ता गर्नुपनि उनको त्यो व्यक्तिगत सम्बन्ध सुधार्ने आभाष नै भएको खड्काको भनाई छ ।
नेपालको सन्दर्भमा पनि मोदीले मंसिरको अन्तिममा निर्वाचन सम्पन्न भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित हुनु अघि नै बधाई दिएको र लगत्तै विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाउनु व्यक्तिगत सम्बन्ध सुधारको अभ्यास भएको उनले जनाए ।
मोदी आगामी सन् २०१९ को निर्वाचपछि प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाल आएको भए राम्रो हुने थियो भन्ने उनको तर्क छ । उनले भने, ‘भ्रमणहरु आदानप्रदान भैरहन्छन, तर यसको सामाजिक, आर्थिक तथा अन्य रुपमा सकारात्मक असरहरु पर्नुपर्यो, त्यो ठूलो कुरा हो ।”












प्रतिक्रिया