३ कार्तिक २०८३, मंगलबार

मारिएका ‘डन’का कारण रुपन्देही एमालेभित्र विवाद, कुरा मिलाउने कमाण्ड लिए उपमहासचिवले

13.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । एमाले रुपन्देहीको राजनीतिलाई तरंगित बनाउने गरी भएको पत्रकार तथा एमाले नेता सिद्धिचरण भटराईको कारवाहीमाथि प्रदेश कमिटीले छानविन गर्ने भएको छ ।

एमाले उपमहासचिव तथा प्रदेश संयोजक विष्णु पौडेलको अध्यक्षतामा पाल्पामा बसेको प्रदेश कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले केन्द्रीय सदस्य खिमलाल भटराईको संयोजकत्वमा बाँकेका अध्यक्ष अशोक कोइराला र अर्घाखाँची अध्यक्ष रामजी घिमिरे रहेको ३ सदस्यीय समितिलाई २ हप्ताको समयावधि तोकेर कारवाहीबारे यथार्थ प्रतिवेदन पेश गर्न जिम्मेवारी तोकेको प्रदेश कमिटीका एक सदस्यले बताए ।

मनोज पुनले एमालेकै नेता कार्यकर्ताको प्रयोग गरेर युवा संघका नेता दुर्गा तिवारी र वसन्त पौडेलको हत्या गरेको विषयमा लेख्दै आएका भटराईलाई जिल्ला कमिटी रुपन्देहीले जिल्ला कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको थियो ।

पछिल्लो पटक प्रहरी अनुसन्धानले एमालेका युवा संघ केन्द्रीय सदस्य सुजु मल्ल र युथफोर्स केन्द्रीय सदस्य उत्तम आचार्य सहित माओवादी केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं १ इञ्चार्ज लेखनाथ न्यौपाने, तुलसी न्यौपाने सहित ४ जनालाई संलग्न रहेको भनेर पक्राउ गरी थुनामा लिएपछि भटराईका लेख र आशंकाले झन बढी बल पाउँदै गएका छन् ।

अझै पनि एमालेका जिम्मेवारहरू प्रहरीको निगरानीमा रहेका छन् । यो कुरा भटराईले दुर्गा हत्या लगत्तै लेखेका लेखहरूमा समेत आशंका गराएको थियो ।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य रहेका सिद्धिचरण भट्टराईले डनहरूको राजनीतिक संरक्षणका बिरुद्ध विगत ७ वर्षदेखि लगातार पार्टीभित्र लडिरहेको बताएका छन् । पछिल्लो कारवाही अत्यन्त पूर्वाग्रहपूर्ण र लज्जाजनक भएको भन्दै उनले फिर्ता गर्न तथा आफूले उठाउँदै आएका सवालमा पार्टीमा उच्चस्तरीय अध्ययन कार्यदल बनाउन माग गर्दैै निवेदन प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रीय अनुशासन आयोगमा दिएको बताएका छन् ।

भट्टराईले निवेदनमा मलाई मात्र न्याय दिने कुरा प्रमुख होइन पार्टी भित्रको शुद्धीकरण प्रमुख कुरा हो भनेका छन् । आफूले सो कुराको लिखित माग समेत गरेको बताएका छन् ।