
काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसलाई विभाजन गरी एउटा कित्ताको समर्थनसहित बहुमतको सरकारको प्रधानमन्त्री बन्ने तयारी गर्दागर्दै तत्कालिन एमाले महासचिव मदन भण्डारी त्रिशुली नदिमा खसेको स्मरण उपाध्यक्ष बामदेव गौतमले गरेका छन् ।
एउटा पत्रिकालाई एमालेभित्रको संस्मरण जानकारी गराउने क्रममा गौतमले वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र आफु मिलेर पार्टी फुटाउने योजना समेत गरेको खुलाएका छन् ।
‘पाटननजिकै ग्वार्कोमा केपी ओलीको डेरा थियो । उहाँले म, अमृत बोहोरा र गुरु बराललाई छलफलका लागि डेरामा बोलाउनुभयो । हामीसँग एकता नगरौँ, भाँडौँ भन्ने प्रस्ताव राख्नुभयो । माक्र्सवादीका साथीको व्यवहारबाट म पनि धेरै रुष्ट भएको थिएँ । मैले पनि सहमति जनाएँ । अमृत बोहोरा यस्तो कुरा सुन्दिनँ भन्दै फर्किनुभयो, गुरु बरालले सुनेजस्तो गरेर बाहिरिनुभयो ।’, उनले नयाँ पत्रिका संवाददातासँग कुराकानीका क्रममा भनेका छन्,‘अन्तिममा हामी दुई (केपी र म) जना मात्र भयौँ । हामीले सबैतिर भड्काउने सल्लाह गर्यौँ । केपीको डेरामा ल्यान्डलाइन टेलिफोन थियो । उहाँले पूर्वतिर, मैले पश्चिमतिर कुरा गर्ने जिम्मा लियौँ । कहिले पार्टी कार्यालयको त कहिले अन्तै गएर दुवै मिलेर पार्टी एकता भड्काउन थाल्यौँ । हामी एमाले विघटन गरेर माले पार्टी नै चलाउनुपर्ने निष्कर्षमा पुगिसकेका थियौँ ।’
गौतले संस्मरणमा अघि थपेका छन्,‘हामीले एकता भड्काइरहेको जानकारी पाएपछि महासचिव मदनलाई कसैले रिपोर्ट गरेछ । एकदिन पार्टी कार्यालयमा केपी र म पुगेका थियौँ । मदनले आफ्नो कार्यकक्षमा बोलाउनुभयो । ए कमरेडहरू तपाइहरूले पार्टी एकता भाँड्न लाग्नुभएको छ रे । ठाउँठाउँमा फोन गरिराख्नुभएको रहेछ, यस्तो काम बन्द गर्नुस् भन्नुभयो । हामीले कहाँ भाँड्ने ? भन्दै ढाँट्यौँ ।’
भण्डारीको निर्देशनपछि पनि हामी आफुहरु भाँड्ने काममा सक्रिय भएको खुलासा गरेका गौतमले महासचिव अन्तिममा कन्भिन्स हुन्छन् भन्ने विश्वास लिएका थिए । ‘दुई दिनपछि फेरि महासचिव मदनले हामीलाई कार्यालयमा बोलाएर भन्नुभो– तपाईंहरूलाई म सिरियस्ली भन्दै छु, तपाईंहरूले अस्ति भनेपछि पनि बन्द गर्नुभएन, अझै जारी राख्नुभएको छ ।’, उनले भनेका छन्,‘त्यसैले यदि भोलिसम्म पनि काम बन्द गर्नुभएन भने पर्सी वक्तव्य निकालेर तपाईंहरू दुवैलाई पार्टीबाट निष्कासन गर्छु । त्यसपछि निष्कासनमा पर्ने डरले भाँड्ने काम बन्द गरियो ।’
त्यतिवेला भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेर फर्किएपछि सडकमा आन्दोलन चर्काएको स्मरण गर्दै गौतमले थपेका छन्,‘सन्धिलाई संसद्को दुईतिहाइ बहुमतले पारित गर्ने कि, सामान्य जानकारी मात्र दिने भन्ने विषय विवादका रूपमा चर्किरहेको थियो ।’
गणेमान सिंहले सन्धिलाई संसदको दुईतिहाइले समर्थन गर्नुपर्छ भन्ने कुरामा अडान राखेका थिए । त्यही कुरा मदन भण्डारी र गणेशमान सिंहबीचको आपसी सल्लामै भइरहेको थियो । ‘उहाँले मलाई बोलाएर भन्नुभयो– अहिले नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किंदै गएको छ । हामीलाई यस्तो वेला अवसर प्राप्त भयो भने सरकारमा भाग लिनुहुन्छ कि हुन्न ? मैले हुन्छ भनेँ’, उनले बताएका छन् ।
खासमा मदन भण्डारीकै योजनाअनुसार कांग्रेसको एउटा समूह फुट्ने सम्भावना थियो । ‘ब्रेक भयो भने कांग्रेसको एउटा समूह र एमाले मिलेर सरकार बनाउने र त्यो सरकारको प्रधानमन्त्री मदन भण्डारी बन्ने तयारी रहेछ । ठ्याक्कै मदनले यही त भन्नुभएको थिएन, तर मैले त्यस्तै संकेत पाएको थिएँ’, उनले थपेका छन्,‘सोधेको थिएँ, त्यो सरकारमा हाम्रोतर्फबाट के गर्ने ? तर, उहाँले मलाई नै सोध्नुभयो, तपाईंको विचारमा के गर्दा उपयुक्त हुन्छ ?’
मदन भण्डारी पश्चिमको कार्यक्रम सकेर काठमाडौं छिरेपछि राजनीतिक घटनाक्रमको विकासको मेलो मिलिरहेको थियो ।
‘मैले तपाईं जानुपर्छ भन्ने जवाफ फर्काएँ । उहाँले भन्नुभयो– सबै हुन्छ, पश्चिमबाट फर्किएर आएपछि सबै कुरा गरौँला, तर राजनीतिक स्थिति यसरी गइरहेको छ कि एमालेकै नेतृत्वमा सरकार बन्ने सम्भावना बढेर गएको छ । तर, उहाँ फर्किएर आउनै पाउनुभएन । ’, उनले भने,‘मसँग कुरा भएकै भोलिपल्ट उहाँ पोखराको कार्यक्रममा जानुभएको थियो । पोखराको कार्यक्रम सकेर फर्किंदै गर्दा उहाँको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा निधन भयो ।’















प्रतिक्रिया