काठमाडौँ, २४ बैशाख । क्यान्सर रोग नेपालमात्रै नभईकन विश्वकै लागि टाउको दुखाईको विषय बनेको छ । क्यान्सर मुटुरोगपछि मानिसहरुको मृत्युु हुने दोस्रो कारण बनेको छ । संसारभर बर्षेनी लाखौँ मानिहरुको यसको कारणले मृत्यु हुने गरेको छ ।
हाम्रै कतिपय अस्वस्थ बानीव्यहोराका कारणले पनि क्यान्सर निम्तिने गर्छ । दूषित पर्यावरण र खानपानलगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ । क्यान्सरको जोखिम कम गर्न स्वस्थ बानी व्यवहार अपनाउनुका साथै यी खानेकुुराहरु खान सकिन्छ ।
साना फलफूल
फाइट्रोन्युट्रियन्ट्स तत्व भएका फलफूलको सेवनले क्यान्सरको जोखिम कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व प्रशस्त पाइन्छ । यो तत्वले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । यस्ता फलफूल खाइरहनाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
सिमी
सिमीजस्ता गेडागुडीको सेवनले स्तन र पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम हुन्छ । यसले शरीरमा फ्याट्टी एसिडको उत्पादन बढाउँछ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ ।
ओखर
ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्वले स्तन क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।
गोलभेँडा
गोलभेँडा फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम न्युुनीकरण गर्न निकै फाइदाजनक छ । गोलभेँडालाई रातो बनाउने क्यारोटेनोइड नामक तत्वले क्यान्सरको जोखिमलाई पनि कम गर्छ । सो तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिन्छ ।
लसुन
लसुनमा पाइने फाइटो केमिकलले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना कम गराउँछ । बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो ।
सलाद
सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ । म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ ।
ब्रोकाउली
ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ । काउली परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ ।















प्रतिक्रिया