विद्यालयको गृहकार्य गर्न मलाई विहान बेलुका फुर्सद थिएन । विहान स्कूल जानु अघि एकभारी घाँस काट्ने वा खेतबारीको काममा ८ बजेसम्म बिताउनु पर्थ्यो । ८ देखी ८ः३० बजे खाना खाइवरि स्कूल दौडिनु थियो ।
थकित भएर बल्ल १० बजे स्कूल पुगेपछि मात्रै पठन पाठन शुरु हुन्थ्यो । घरमा बेलुका कहिले टुकी त कहिले दियालोको सहारामा लेख्ने गृहकार्य चाहीँ पुरा गर्थेँ । यसरी दुई तीन विषयको लेखन कार्यमा कहिलेकाहीँ १२ बज्थ्यो । लेख्न थालेपछि साथी भने रेडियो हुन्थ्यो । सानो स्वरमा रेडियो बनाएर लेख्ने बानी नै परिसकेको थियो ।
०५९ सालसम्म भने हाम्रो घरमा रेडियो थिएन । त्यसपछि मिति यकिन छैन, भजन सुन्न बा’ले रेडियो बजाउन र चक्का हालेर भजन सुन्न मिल्ने क्यासेट किन्नुभयो ।
बाले भजन सुनेर सुतेपछि भने म रेडियो बजाएर गृहकार्य थाल्थेँ । समाचार र साहित्यिक कार्यक्रम खुब सुनिन्थ्यो । रेडियोमा आउने समाचार बुलेटिन र साहित्यिक कार्यक्रमको तालिका कण्ठै हुन्थे । रेडियो नेपालका विम्व प्रतिविम्व, मधुवन र साहित्य संसार, कान्तिपुरको समाचार डायरी र द हेडलाइन्स ब्याण्ड फेरि फेरि सुन्थेँ । त्यसपछि मलाई कविता, मुक्तक र गजल लेख्न मन लाग्न थाल्यो । एकाध लेखेर नेपाली शिक्षक इन्द्रकुमार श्रेष्ठलाई देखाउँदा सुझावसहित उत्साह थपिदिनभो, विभिन्न पत्रपत्रिकामा पठाउन सहयोग गरेर । यसरी लेखनमा रुचि लाग्न थाल्यो ।
कान्तिपुरको समाचार बुलेटिनमा जिल्लाका खबर दिँदा फलानो जिल्लाबाट हाम्रा सम्बाददाता फलानाले जनाएका छन्, भनेर स्रोत उल्लेख भएको सुनेपछि संवाददाता बन्न ठूलो रहर जागेर आयो । तर, त्यो बेलाको स्कुले म बरुरोको के चल्थ्यो ! हो, त्यही बेलाबाट हो ममा पत्रकार हुने भूत चढेको । यो बेला म कक्षा ९ मा पढ्थेँ ।
एसएलसी दिएपछि बाले मेरो बिहे गरिदिने, घर खेति गर्नु पर्ने भनेर घर सल्लाह गर्नुभयो । घरमा झगडा गरेर बसेँ । मेरो घरमा एसएलसी दिने म मात्रै थिएँ । दाजु दिदीहरुले कक्षा पाँच भन्दा माथि पढ्नु भएन । १६–१८ को उमेरमै बिहे भएको हो । त्यो बेला हाम्रो गाउँमा घरमा भैँसी दुहुना भएका, हल गोरु पालेर निकै ठूलो खेति गरेर दुई चार सय आसामी लाउन सक्ने ठूला कहलिन्थे । बा’लाई यही भूतले काम गरेर होला अक्षर चिनेपछि पढाउने कुरा सुन्नै हुन्थेन ।
०६१ असारमा नतिजा प्रकाशन भयो । दोस्रो श्रेणीमा उतीर्ण भएछु । परीक्षमा उतीर्ण भएर पनि खुसी हुन सकिन, एक त म विद्यालयको दोस्रो विद्यार्थी प्रथम श्रेणी आएन, सबैभन्दा सजिलो विषय सामाजिकमा ३९ नम्बर मात्रै आएछ । प्रथम श्रेणीलाई ११ नम्बर पुगेनछ । अर्को, बिहे गरेर घरखेति गर्नु पर्ने बा’को फैसला थियो । यस्तै तनावका बीचमा असार, साउन र भदौ खेतिको सिजन काटियो ।
संयोगले दिक्तेलदेखी मेरो माइजु (बा’को दिदी–फुपु) माइत आउनुभएछ । मेरो पढाइ सकिएको र बाले बिहे गरिदिने कुरा गर्दा झगडा गरेको सुनाउनुभएछ । माइजुले पढ्नेलाई पठाउनु पर्ने सुझाव दिएपछि बा’को बिहे गरिदिने भूत भने केही कम भएछ । जिल्ला वा राजधानी जान सक्ने अवस्था थिएन । पढ्छ भने आफैं पढोस् भनेपछि म माइजुसँग मामाघर गएँ । माइजु (बाको दिदी, मेरो फुपु तर, मामाले बिहे गरेकोले माइजु) पुर्याउन बा पनि दिक्तेल जानुभयो । बाले घर फर्किपछि भान्दाइ कृष्णप्रसाद आचार्यले दिक्तेल बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना गरिदिनुभयो । विहान मावलीघरबाट क्याम्पस धाउन थालेँ । आधा घण्टामा क्याम्पस पुगिन्थ्यो ।
दिउँसो घर फर्किपछि खाना खाएर माइजुले पालेका एक हल गोरु चराउने काम हुन्थ्यो । गोरु फुकाएर पाखामा लगाएपछि केही किताब पढ्ने र धेरै गजल लेख्ने काम हुन्थ्यो । क्याम्पसमा हुने साहित्यिक कार्यक्रममा सुनाउँदा धेरैले प्रसंशा गरेपछि यो क्रम धेरै पढ्यो । यही क्रममा गजलकार श्रीराम राईसँग भेट भयो । उहाँ क्याम्पसको विए दोस्रो वर्षमा पढ्नुहुन्थ्यो । उहाँ त्यस बेला खोटाङको चर्चित साप्ताहिक पत्रिका भावना साप्ताहिकको सह सम्पादक हुनुहुँथ्यो । उहाँको संगतपछि त्यही पत्रिकामा गाउँ आउँदाका कार्यक्रम र विभिन्न गतिविधीका समाचारहरु लेख्न थालेँ । केही लेख पनि छापिए । यसरी भावना साप्ताहिकबाट ०६१ सालबाट मेरो पत्रकारिता शुरु भयो ।
त्यो समय माओवादी द्वन्द्वको चरम उत्कर्षको बेला थियो । घरबाट दिक्तेल जाँदा दुई ठाउँ चेकिङ गर्थे, माओवादीले । दिक्तेल पुग्न लाग्दा सेनाको केरकार झेलेर मावली पुग्थेँ । जाडो विदा आएको बेला खानीभञ्ज्यांगमा सहास नेपालले विद्यालय स्तरमा विभिन्न कार्यक्रम गरेको रहेछ । सरकारी निकाय भनेकै विद्यालय चलेका बेला सहास नेपाल भने गाउँमा पनि काम गर्ने गैरसरकारी संस्था थियो । त्यही कार्यक्रमको समाचार कापीमा लेखेर दिक्तेल पुगेपछि १५ दिनपछि छापियो । यही मेरो पहिलो समाचार थियो । यही क्रममा नेपाल पत्रकार महासंघ खोटाङले पाँच दिने पत्रकारिता तालिम आयोजना गर्यो । त्यसमा सहभागि भएपछि पत्रकार बनेको अनुभूति भयो ।
भावना साप्ताहिकका अतिरिक्त हिमाल नेपालमा नियमित प्रतिक्रिया लेखिन्थ्यो । ०६१ माघ १६ गतेको शनिबारको भावना साप्ताहिकमा एउटा लेख लेखेको विषय वस्तुराज ज्ञानेन्द्रले शेरबहादुर देउवालाई चुनाव गराउन नसकेका कारण बर्खास्त गरेर फेरि पुनः बहाली गरेपछि थप द्वन्द्व चर्किएको थियो, अब यही विषयलाई आधार बनाएर फेरि राजाले कु गर्न सक्छन् भन्ने थियो । त्यो अंक नै यो पत्रिकाको अन्तिम अंक बन्यो । १९ माघमा देउवा फेरि वर्खास्तीमा मात्र परेर सबै नेताहरु नजबन्दमा राखिए भने सबै सञ्चारमाध्यम बन्द गरिए । सेनाले त्यो पत्रिकाको कम्युटर समेत जफत गरेपछि अहिले पनि भावना साप्ताहिक इतिहासमा सिमित छ । सेनाको दवाव झेल्न नसकेपछि प्रधान सम्पादक किनसचन्द्र राई विदेशिए । म लगायतका साथीहरु क्याम्पसमा विद्यार्थी आन्दोलन तिर लाग्यौं । कुकुर अभिनन्दन लगायतका कामबाट पूर्ण प्रजातन्त्रको स्थापना भन्ने नारासहित जनआन्दोलनमा जुटियो ।
खोटाङमा पहिलो पटक केबुल टिभी चलाउँदा
त्यो बेला चर्चित पत्रकार रत्नप्रसाद आर्चाय (दाइ) नेपाल समाचारपत्र दैनिक र कोशी एफएममा समाचार लेख्नुहुन्थ्यो । उहाँको अगुवाइमा दिक्तेल केबुल नेटवर्कसँग मिलेर आन्दोलनको समय अवधिभर बेलुका छ बजे खोटाङ समाचार भनेर केबुल टिभी सञ्चालन गर्यौै । दिनभरि आन्दोलनको भिडियो खिचेर समाचार लेखेर प्रशासन गर्दा प्रशासनको तारो समेत बनिएको थियो । बद्री आचार्यसँग संगत त्यो बेलै भएको हो ।
त्यही क्रममा उदयपुरका पत्रकार महेश्वर चाम्लिङसँग चिनजान भयो । उहाँले माझखर्क साप्ताहिक पत्रिका निकाल्नु हुन्थ्यो । त्यो साप्ताहिकमा पनि मैले बद्री सरलाई समाचार लेख्न सघाएँ । उहाँले खाजा खुवाउनुहुन्थ्यो । यही क्रममा साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालले गाइघाटमा तालिम आयोजना गरेको रहेछ । त्यसमा सहभागी हुन गाइघाट जाने निधो त भयो तर, साथी जाने बद्री सर विरामी भएर जानु भएन । म मावलीबाट हिडेपछि उहाँले बाटोको नक्सा साउने सम्मको नक्सा सेतो पेरमा कोरिदिनुभयो ठाउँठाउँमा नाम समेत लेखेर यही सहाराले गाइघाट पुगेर पाँच दिने तालिम लिएर फर्केँ ।
०६३ बैशाखमा आन्दोलन सफल भएपछि मेरो कक्षा १२ को परीक्षामा पनि जेठमा भयो । परीक्षा दिएपछि म जिल्ला फर्किने योजना बनाए । यस क्रममाको रत्न आचार्य दाइले ओखलढुंगामा नयाँ पत्रिकाको रिर्पोटर भएर जान सल्लाह दिनु’भो । ०६३ बैशाख १ बाट हुनुपर्छ नयाँ पत्रिका प्रकाशन शुरु भएको थियो । त्यसपछि केही समयमा दिक्तेल फर्किने योजनासहित घर आएँ ।
त्यो बेला काठमाण्डौ जाने खर्च थिएन । गाविसले भिलेज प्रोफाइल बनाउन दुई जना कामदार तथ्यांक संकलन गर्न मागेको रहेछ । त्यो झण्डै १५ दिन लाग्ने काम थियो । सबै घरमा पुगेर घर परिवार सम्प्ति जग्गा जमिन विदेशिएको, जागिेर नाबालक आदि विवरण ल्याउनु पर्ने रहेछ । पैसा थोरै भएकाले काम जिम्मा लिएको साथीले छोडिदिएछ । त्यसपछि गाविसका सहायक डिल्लीराम श्रेष्ठले म घर भएको समयमा मलाई खबर गर्नुभयो । गाविस गएँ । उहाँले कामको विवरण र एक झोला फारम भिडाएर विदा गर्नुभयो । ९ वडामध्ये चार वडाको काम मेरो जिम्मामा थियो ।
दिनभरि गाउँ घुमेर संकलन गरेको विवरण घरमा आएर जाँच गर्ने र तलमाथि परेका विवरण पुनः अर्को फारममा मिलाएर भर्दा विहानको ३ बज्दथ्यो । त्यसपछि सुतेर विहान ७ बजे नै फेरि गाउँ जाने दैनिकी शुरु हुन्थ्यो । यसरी सात दिन साति समेत नसुति तथ्यांक संकलन गरेर गाविसमा बुझाएपछि चार हजार नगद पाएँ । निकै ठूलो युद्ध जितेको भान भयो । पाँच सय सापटी तिर्दा र खाजा खाँदा सकिएछ । ३ हजार पाँच सय बचत भयो । यही रक बोके फेरि खोटाङ लागेँ । खोटाङमा १/२ दिन बसेपछि रत्न दाइले हरिबोल आचार्य र मेरो सहपाठी भीम बुढाथोकी लाई बोलाउनु भएछ । हामी चार जना खानीडाँडा हुँदै हिडेर गाइघाट लागियो काठमाडौँ जान ।
काठमाडौँ पुगेर हरिबोल आचार्यलाई भर्खर चलेको टिभी एभिन्यूजमा उहाँले लिएर जानुभो । साथमा हामी पनि गयौं । छलफलपछि उहाँलाई नियुक्ति दिने कुरा भयो । त्यसपछि हामी नयाँ पत्रिकाको कार्यालय कमलपोखरी गयौं । त्यहाँ भरतराज पोखरेल सरसँग भेटेर कुरा भयो । खोटाङमा भीमजी र ओखलढुंगामा मेरो लागि रत्न दाइले कुरा राख्नुभयो । गएर समाचार पठाउनु तीन वटा हेरेपछि फिक्स हुन्छ भन्नुभयो । राष्ट्रिय मिडियाको रिर्पोटर पाउने भएपछि बागबजारको अद्ध्रैत मार्गमा होटलमा बसेर चारजनाले रातभरि रमाइलो गरियो ।
काठमाडौँबाट फर्किएपछि ओखलढुंगा गएर समाचार लेखेर फ्याक्स गरेर तीन चार दिन पठाएर फोन गरेँ । अर्को दिन एउटा समाचार छापिएपछि कम्ता खुसी भइन । त्यो साँझ खुसीले खाना खानै सकिन । त्यसपछि राष्ट्रिय दैनिकको ठूलै पत्रकार भान भयो । पत्रिका किनेर तीन चार पटक ओल्टाइ पल्टाइ हेरेँ । पत्रिका दुइ चार दिए आएपछि विक्रेताले ल्याएनन् । पछि आफैले सम्पर्क गरेर श्रेष्ठ पत्रपत्रिका सेन्टरसँग सम्पर्क गराएपछि १० प्रतिबाट वितरण शुरु भएको नयाँ पत्रिका अहिले अन्य विक्रेताले पनि झण्डै ५० प्रति बेच्दै आएका छन् ।
बास नपाउँदा पाँच रुपैंयाको दुनोट खाएर साथीको कोठामा सुतेँ
त्यस अघि नै म ओखलढुंगा गएर समाचार लेख्ने र पत्रिका मार्केटिङ गर्ने शर्तमा माझखर्कका महेश्वर चामलिंगले रिपोर्टर बनाएर पठाउनुभएको हो । ओखलढुंगा जान दिनभरि जस्तै जंगलको बाटो हिड्नु पर्थ्यो । खोटाङबाट फर्किदा म विद्यार्थी राजनीतिमा पनि लागेको थिएँ । त्यो बेला रत्न दाइ पत्रकारसँगै अखिलको नेता पनि हुनुहुन्थ्यो ।
उहाँले ओखलढुंगा जाँदा ओखलढुंगामा सहजिलो होस् भने एमालेका सचिव किशोर अधिकारीलाई चिठ्ठी लेखिदिनुभयो । त्यही बोकेर ०६३ जेठमा गएको थिए । पार्टी कार्यालय र किशोर अधिकारी खोज्दै पुगेँ । क्याम्पसमा रहँदा विद्यार्थी संगठनमा राम्रै स्थापित भएको र अखिलको जिल्ला सदस्य भइसकेकाले एमालेका ततकालीन सचिव (हाल संघीय संसदका सदस्य माननीय) विशाल भट्टराईले खोटाङ नै बसेर काम गर्न कर गर्नुभएको थियो । मेरो आर्थिक अवस्था र जिल्लामै स्थापित हुने रहरले अर्को जिल्ला बस्न सकिन ।
पार्टी कार्यालयमा चिठ्ठी दिएँ । पढेपछि चिनजान भयो किशोर अधिकारीसँग । सँगै नेत्र भट्टराई हुनुहुँदो रहेछ । सामान्य कुराकानी भयो । त्यसपछि आफु पत्रकार भएको बताएँ । माझखर्क साप्ताहिक आउने ठेगाना दिन मलाई गाह्रो भयो । गाउँको दिए सदरमुकाम भएको बेला आउला, सदरमुकामको दिए बसोबासको टुंगो छैन, कहाँको दिऊँ ? मेरो समस्या बुझेपछि किशोर र नेत्र दुवैले पार्टी कार्यालयको दिनू, हुलाकबाट आउँदा यहाँ राखिदिन्छन् भनेपछि महेश्वर चाम्लिङ राई (सम्पादक, माझखर्क) लाई त्यही ठेगाना टिपाएँ ।
पत्रिका त आउन थाल्यो, तर मेरा लागि ओखलढुंगामा बस्नु फलामको चिउरा चपाउनु सरह भयो । बास पाउनै कठिन, पाइहाले पनि खाना खानासाथ हरेक छाकको तिर्नु पर्ने नियम, महिनामा एकमुष्ठ तिर्छु भन्न नपाइने ! पत्रकार भने पछि दिदैन भन्ने भ्रम रहेछ त्यो बेला । दुई तीन दिन बिताउन निकै कठिन भयो । त्यो बेला मसँग दैनिक खाना खाएर तिर्ने पैसा पुगेन । बिहान खाना खाएर रिर्पोटिङ, चिनजानमा हिड्यो । साँझमा दुनोट र चिया खाएर साथीको कोठामा गएर सुतेँ । एसएलसीसम्मको सहपाठी एक जना साथी ओखलढुंगा क्याम्पसमा आइए पढ्दै थिए । त्यो बेला श्याम बानियाले बेकरी चलाउँथे । पाँच रुपैयामा चिया र पाँच रुपैयाँमै एउटा दुनोट पाइन्थ्यो । १५ रुपैयाँ भएपछि अघाइने, साँझ ६ बजेपछि बेकरी गएर दुनोट चिया खाएपछि तीन बेलुका साथीकोमा सुत्न गएँ । समस्या चाँही साथीलाई पनि भनिनँ । त्यस पछि घर फर्किएँ ।
अखिलमा काम गरेर पत्रकारिता टिकाएँ
घर आउन जान आठ घण्टाजति हिड्नु पर्थ्यो, तीन घण्टाचाहि माम्खा गाविसमा पने कालिबेली र आसपासको जंगल । घरमा आमाले धेरै पटक जंगलको बाटो कतै नजान भन्नुभयो । तर, मलाई पत्रकार बन्ने भूतले छोडेन । पत्रिका हुलाकामा आउन २० दिनदेखी एक महिनासम्म लाग्ने भएकाले आउने जाने क्रम चलिरह्यो ।
पछि अखिलका नेता रोशन शाक्यसँग भेटघाट भयो । जिल्ला अधिवेशनबाट म अखिलको सहसचिव समेत भएपछि कार्यालय संचालन, पर्चा वितरण समन्वय आदि संगठनको काममा शाक्यले मलाई जिम्मा दिनुभयो । त्यसका लागि संगठनले बसोबासको व्यवस्था गर्ने भएपछि पूर्णकालिन जस्तै अखिलमा एक वर्ष काम गरेँ । त्यसबेला गडिमाइ एफएम विरगञ्जमा समाचार पनि पठाउँथेँ । माझखर्क भने ग्राहक बनाउन सकिनँ । एमाले पार्टी कार्यालयमा आउनेहरुले भने पढ्न पाउँथे । एफएममा १५ रुपैयाँ पेजका दरले फ्याक्स गर्नु पर्थ्यो । फ्याक्सको बिल जम्मा गरेर एक बर्षमा ११ सय भएको रहेछ । तर पैसा लिन विरगञ्ज जान सकिनँ ।
समाचार लेखेर १० रुपैयाँमा रजिष्ट्री गथेँ
माझखर्कमा समाचार लेखेपछि फ्याक्स गर्न सधैं पैसा नहुने भएपछि चार पाँचवटा समाचार लेखेर हुलाकमा रजिष्ट्ररी गर्थेँ । समाचार छापिएको पत्रिका चाहि एक महिनापछि पाउँदा पनि औधी खुसी हुन्थें । अझै केही समाचारका कटिङ सुरक्षित राखेको छु ।
अखिलमा काम गर्न थाले पछि भने अलिक सहज भयो । सम्पर्क र सम्बन्ध धेरैँसँग भएपछि रिर्पोटिङमा सजिलो पनि भयो । त्यस ताका मैले पत्रकार भनेर परिचय गर्दा ओखलढुंगामा तीन जना साथीहरु पत्रकारितामा हुनुहुँदो रहेछ । महाजित राई नोपल समाचार पत्र, दिपेन्द्र रुम्दाली औजार दैनिक र दिनेश काफ्ले गोरखापत्र दैनिक । म सहित चार जना भयौं । चिनजान भएपछि सुचना आदान प्रदानमा सहज भयो । अहिले त्यो बेलाका सबैजसो साथीहरु यो फिल्डमा हुनुहुन्न । खाजा खाने पैसा पनि पत्रकारिताबाट जुटाउन मुस्किल हुँदा समेत काम गर्न भने छोडिनँ । मलाइ नामै प्यारो थियो ।
त्यो बेला स्थानीय विकास कोषले चलाएको एक परियोजनाको स्थलगत अनुगमनका लागि तेस्रो पक्ष खोजेको रहेछ । हामी मध्येका अग्रज महाजित राईले परियोजनाका उमेश कार्कीसँग समन्वय गरेपछि मलाइ पनि खबर गर्नुभयो । यो ०६३ असारको कुरा हो । हामी त्यो परियोजनाको फिल्ड खिजीचण्डेश्वरी, गाम्नाङटार, फुलबारी लगायत गाविस घुमेर रिर्पोटिङ गर्ने अवसर मिल्यो । त्यो समुहमा दिपेन्द्र रुम्दाली र दिनश काफ्लेसहित हुनुहुन्थ्यो । त्यो काममा हामीले २५ सयका दरले रकम पाएका थियौं । प्रतिवेदन बुझाउने जिम्मा भने महाजित राई राई दियौं ।
यस्तै केही वर्षको संघर्षका क्रममा पाक्षिक पत्रिका दर्ता गरेर पत्रिकाको सम्पादक, विभिन्न राष्ट्रिय दैनिकहरुमा संवाददाता र अहिले सगरमाथा अनलाइन डट कम (स्थानीय अनलाईन) को उप सम्पादकका रुपमा काम गरिरहँदा यो मेरो १२ वर्षे पत्रकारिताको यात्रा नाममै सिमित छ । यो यात्रामा भेटिएका सहकर्मीहरुले निकै दाम पनि कमाए होलान् तर, पनि मेरो सन्तुष्टि इमानमा छ । आफू मात्रै त ठिकै हुने रहेछ, पारिवारिक जिम्मेवारी हुँदा पत्रकारिताले अझै धान्न निकै कठिन अवस्था छ ।
अहिले धेरै स्थानीय र राष्ट्रिय संचार माध्यमहरु खुलेका छन् पत्रकारिता पढाउने स्कूल कलेजहरु छन् । मोफसलमा पनि यसको सकारात्मक प्रभाव परिरहेकै छ । न्यूनतम पारिश्रमिकका कुरा, लोकल्याणकारी विज्ञापनको सहुलियत जस्ता धेरै अवसरका बीचमा पत्रकारिताले फड्को मार्दै छ । यद्यपी ओखलढुंगामा पत्रिका किनेर पढ्नु पर्छ, रेडियो, अनलाइनमा विज्ञापन गर्नु पर्छ भन्ने व्यवसायिक सोचको विकास गराउन सकिएको छैन । म चाहान्छु अबको पुस्ताले पाँच रुपैयाँको दुनोटमा पत्रकारिता टिकाउनु नपरोस् । पत्रकार भनेर परिचय दिँदा बास नपाउने अवस्था कसैले भाग्नु नपरोस् । राट्रिय पत्रकारिता दिवसमा सबै श्रमजीविहरुलाई शुभकामना !
लेखकः प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् ।
















प्रतिक्रिया