
– रूपा सुनार
केही समयको अन्तरालपछि आज फेरि लेख्दैछु । लेखन मेरो पेशा हैन्, तर पनि समय समयमा फुर्सद मिलाएर आफूलाई मन छोएको बिषयलाई समेटेर फाट्टफुट्ट एक दुई लेखहरु लेख्ने गर्छु । कम लेखौँ तर लेखमार्फत जति सक्दो सकारात्मक सन्देश प्रवाह होस् र त्यसले समाजमा सकारात्मक परिवर्तन होस् भन्ने मेरो चाहना हुन्छ ।
आज भन्दा दुई बर्ष अगाडि मैले दैनिक नेपालमा लेखेको “मलाई कामी भन तर कामीको नाममा विभेद नगर” शिर्षकमा लेखेको लेख धेरै पाठकहरुको मनमा बसेको कुरा उहाँहरुको मिठो प्रतिक्रियाले बुझाउँछ । त्यो लेख हजारौँ जनाले आफ्नो फेसबुकको टाइमलाइनमा शेयर गर्नुभयो । अग्रजहरुबाट पाएको स्याबासी र समकालीन साथीहरुबाट ममा खुसीको सीमा नै थिएन् । तर मेरो लागि त्यो भन्दा खुसी हुनु पर्ने बिषय चाहिँ लेख मार्फत के कति परिवर्तन आउन सक्छ भन्ने कुराको थियो । सोही लेख पढेर धेरैमा सकारात्मक सोच पलाएको र केही साथीहरुलाई खुलेर आफ्नो पहिचानसहित अगाडि बढ्न प्रेरणा मिलेको कुराहरु फेसबुक र फोनमार्फत जानकारी पाउँदा जुन उद्देश्य बोकेर मैले लेख लेखेकी थिएँ केही हदसम्म आफू सफल भएको महशुस गरेँ । आजकै दिनसम्म पनि सोही लेख फेसबुकका भित्ताहरुमा शेयर भइरहेको देख्दा अन्य लेखहरु लेख्न थप उर्जा मिलेको छ ।
यो त भयो पुरानो लेखको कुरा, अब भने म आजको विषय तर्फ प्रवेश गर्दैछु ।
केही समय अगाडि यात्राको क्रममा देखेको केही घटनाहरुलाई लेखमा उतार्ने प्रयास गर्दै दैनिक नेपाल डटकमका लागि “हजुरबालाई उठाएर महिला सिटको प्रयोग गर्न यो मनले मान्दैन” शिर्षकमा एउटा लेख लेखेकी थिएँ । यात्राका क्रममा धेरैपटक थुप्रै युवतीहरुले महिला सिटको गलत प्रयोग गर्दै मानवता हराएको जस्तो व्यवहार देखाएकोले त्यति नलेखी मनले मानेन । लेखमार्फत केही सकारात्मक सन्देश सबै माझ पुगोस र सकारात्मक परिवर्तन आओस भन्ने हेतुले सोही लेख लेखेकी थिएँ । पहिलोपटक प्रकाशित भएको अनलाइनबाट जो जोले पढ्नुभयो, सबैबाट राम्रो प्रतिक्रिया पाएँ । उसो त आफूले सकारात्मक सोचका साथ गरेका हरेक कामको प्रतिक्रिया राम्रो नै आओस् भन्ने अपेक्षा सबैमा हुन्छ नै । तर, यसपटक भने सकारात्मक प्रतिक्रिया नभर्इ बिनागल्ती र बिनाकारण नै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट हुने नहुने गाली पाएँ ।
गाली कसरी खाना पुगेँ भने दैनिक नेपाल डटकममा प्रकाशित भएको त्यो मेरो लेखलाई केही अनलाइनहरुले चोरी गरी प्रकाशित गरे । ती अनलाइनहरुले अनुमतिबिना प्रकाशित मात्रै गरेनन्, मेरो लेखलार्इ शिर्षक बङ्गाएर गलत तरिकाबाट प्रकाशित गरिदिए । छाप्नेहरुमा मात्र होइन्, पढ्नेहरुले पनि पूरै अध्ययन नगरीकन शिर्षक मात्र हेरेर गाली बर्षाउन सुरु गरे । यदि पाठकहरुले शिर्षक मात्र मात्र नपढी पुरै लेख पढेर प्रतिक्रिया दिएको भए यहाँ शिर्षक बङ्गाउनेहरुको केही लाग्दैनथ्यो । तर, पूरै अध्ययन नै नगरी शिर्षकमात्र हेरेर कमेन्ट गर्न हतार गर्ने पाठकहरुको बानीले सही समाचार र भावनालाई पनि गलत सन्देश दिने गरी प्रकाशन गर्ने अनलाइनहरुलाई थप उर्जा मिलेको छ । गलत ढंगबाट प्रस्तुत गरिएका समाचारहरु राम्रोसँग अध्ययन नगरी कमेन्ट तथा शेयर गर्दा उल्टो नकारात्मक कुराहरु फैलिँदै आएका कुरालाइ मध्यनजर गर्दै राम्रोसँग अध्ययन नगरी कमेन्ट गर्ने बानी सुधार्न सम्पुर्ण पाठकहरुलाई यही लेखमार्फत म अनुरोध गर्न चाहन्छु । मैले यति लेखिरहँदा समाजमा घटेका वास्तविक घटनालाई जस्ताको तस्तै उतारेर समाजमा सकारात्मक सन्देश दिँदै आएका अनलाइनहरुलाई धन्यवादसँगै सफलताको शुभकामना र पूरै समाचार, लेख राम्रोसँग अध्ययन गरेर मात्र कमेन्ट तथा शेयर गर्ने पाठकहरुप्रति नमन गर्न चाहन्छु । साथै, गलत सन्देश प्रवाह गर्ने मिडियाहरुलाई पनि खबरदारी गर्नका लागि अनुरोध गर्दछु । गलत समाचारका कारण बिना गल्ती र बिना कारण नै गाली खाने धेरै हुनुहुन्छ । मैले लेखिरहेकी यी कुराहरु बाट थोरै भएपनि कम होला भन्ने आशा गरेकी छु ।















प्रतिक्रिया