धादिङ, २१ वैशाख । होटलमा खाजा खान आएका ग्राहकलाई जातीय छुवाछूत गरेको आरोप लागेका व्यापारीलाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ ।
गजुरी गाउँपालिका – ३ का २८ वर्षीय ज्ञानेन्द्रबहादुर मगरलाई जिल्ला अदालतको आदेशले रु १० हजार धरौटीमा रिहा गरेको हो । मगरको होटलमा चाउचाउ खान गएका सोही स्थानका ३४ वर्षीय चन्द्रबहादुर विकलाई होटलमा जातीय छुवाछूत गरी होटलबाट बाहिर बस्न लगाएका थिए । आफूलाई जातीय छुवाछूत गरेको जनाउँदै विसं २०७४ चैत २५ गते विकले जाहेरी दिएका थिए । अभियुक्त मगरलाई प्रहरीले वैशाख १२ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।
गाँजासहित पक्राउ
लागुऔषध कारोवार गरेको आरोपमा गाँजा र मोटसाइकलसहित प्रहरीले दुई जनालाई गल्छी गाउँपालिका वडा नं २ कल्लेरीबाट पक्राउ गरी शुक्रबार मुद्दा दर्ता गरेको छ । मोटरसाइकलमा सात किलोग्राम ५०० ग्राम गाँजा ओसारपसार गरिरहेका अवस्थामा बा ६७ प ४५०३ नं को मोटसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक राजु केसीले जानकारी दिनुभयो ।
मोटरसाइकलमा राखेर लुकाइछिपाई निकासी गरेर बिक्रीका लागि लान लागेको अवस्थामा सो सामान जाँचका क्रममा बरामद भएको हो । गाँजासहित प्रहरीले गल्छी – ६ का जयराम अधिकारी र गल्छी – ७ का गंगा श्रेष्ठलाई बिहीबार पक्राउ गरी शुक्रबार लागुऔषध ओसारपसार तथा कारोवार ऐनअन्तर्गत पक्राउ गरी मुद्दा दर्ता गरिएको हो । –रासस












प्रतिक्रिया