
काठमाडौँ, २१ बैशाख । गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै उनीहरु पक्राउ पर्न थालेका छन् ।
अत्यावश्यक सेवा ठप्प पारेको आरोपमा पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवनकुमार बन्जाडे बुटवलबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलले बन्जाडेलाई बुटवल बजारबाट नियन्त्रणमा लिएको छ ।
ट्राफिकचोकस्थित आफ्नै पसल नजिकै चिया पिउँदै गरेको अवस्थामा प्रहरी टोलीले बञ्जाडेलाई पक्राउ गरेको हो । यसैगरी संघका महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको छ । गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् । यसैगरी, नारायणी यातायातका अध्यक्षसहितको खोजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै व्वसायीहरु आजदेखि आन्दोलनमा उत्रिएका छन् । लगत्तै गृहमन्त्री थापाले सेवा ठप्प पार्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
व्यसायीहरुको आन्दोलन हालै मात्र सरकारबाट जारी भएको अत्यावश्यकीय वस्तुमा हड्ताल निषेधको आदेश, सर्वोच्च अदालतको फैसला, नेपालको संविधान र अन्य ४ कानून विपरीत छ ।
नेपालको संविधानमा प्रतिस्पर्धाको आधारमा पेशा र व्यवसाय गर्न पाउने हक मौलिक हकअन्तर्गत सुनिश्चित गरिएको छ । निर्वाधरुपमा एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्न पाउने हक समेत संविधानमा सुनिश्चित छ । यातायात व्यवसायीहरुले सिन्डिकेट खारेजीविरुद्ध हड्तालमा उत्रिए यी व्यवस्था विपरीतको कार्य हुने काननु व्यवसायीहरुको तर्क छ ।
यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्यविवधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । त्यस्ता व्यसायीहरुको रुट परमिट खारेजीको तयारी समेत भइरहेको छ ।















प्रतिक्रिया