२२ कार्तिक २०८३, आइतबार

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी मनोनयनको सम्भावना कति ?

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ बैशाख । पदाधिकारी मनोनयनको निर्णय गर्न नेपाली काँग्रेसको बैठक बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका कारण यसअघि स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

यसअघि यही वैशाख १७ गते पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक पौडेल पक्षले बहिष्कार गरेपछि स्थगित भएको थियो । आजको बैठकमा देउवाले पदाधिकारी मनोनयनको प्रक्रिया अगाडि बडाउने बताइएको छ । १३ औँ महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि देउवाले पार्टीमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेका छैनन् ।

चुनावमा पार्टी पराजित भएपछि तीव्र आलोचना खेपेका देउवाले आफू निकटका नेताहरूलाई नै पदाधिकारीमा ल्याउने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विरोध जनाउँदै आएका छन् ।

उपसभापतिमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारले दाबी पेश गर्दै आएका छन् । गच्छदारलाई चित्त बुझाउनकै लागि पार्टीको विधान नै संशोधन गरी उपसभापतिको पद थप्न देउवाको तयारी छ ।

पौडेल पक्षले महामन्त्रीमा दाबी गर्दै आएको छ तर देउवाले महामन्त्रीमा पूर्णबहादुर खड्काको नाम पहिलो नम्बरमा राखेका छन् । यसैगरी डा. प्रकाशशरण महत, बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की पनि महामन्त्रीको लिस्टमा छन् ।

कांग्रेसको विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयनका लागि सभापतिले केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्नुपर्ने प्रावधान छ । प्रस्तावित नाममा सहमति जुट्न नसके निर्वाचित केन्द्रीय सदस्यको बैठकले त्यसको टुंगो लगाउने विधानमा व्यवस्था छ ।

देउवा विधान नै संशोधन गरी अबको केन्द्रीय समितिमा कम्तीमा दुई उपसभापति तीन महामन्त्री र सात सहमहामन्त्री बनाउने तयारीमा लागेको काँग्रेस स्रोतले जनाएको छ ।