
काठमाडौं, २० बैशाख । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने सहमति भएको छ ।
दुई अध्यक्षबीच बिहीबार भएको भेटमा एमालेको चुनाव चिन्ह ‘सूर्य’लाई नै एकीकृत पार्टीको चिन्ह बनाउने सहमति भएको माओवादीको उच्चस्तरीय स्रोतले बतायो । यसअघि माओवादीले सूर्यभित्र हसिँया हतौडा राख्नुपर्ने प्रस्ताव गरेको थियो ।
यसैगरी, पार्टी एकताका लागि चार बुँदामा दुई नेताहरु लगभग सहमतिमा पुगेको उच्चस्तरीय स्रोतले जानकारी दियो । दुई अध्यक्षबीच बिहीबार बिहान र दिउँसो दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।
यस्तो छ सहमतिका लागि प्रस्तावित ४ बुँदा
१. कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन उचित भएकाले त्यसको अनुमोदनका लागि सामान्य भाषा परिमार्जनसहित पार्टी एकता संयोजन समितिमा पेश गर्ने।
२. माओवादी ‘जनयुद्ध’ बारे राजनीतिक प्रतिवेदनमा जुन स्पिरिटमा उल्लेख गरिएको छ, त्यही स्पिरिटमा विधानमा पनि उल्लेख गर्ने।
३. एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य नै राख्ने।
४. बराबरीको मान्यतका आधारमा कम्तीमा पनि ३७५ सम्मको एकीकृत केन्द्रीय समिति निर्माण गर्ने।















प्रतिक्रिया