
बेलायत । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत पब्लिक लाइब्रेरी टास्क फोर्सले नेपालमा पुस्तकालय स्थापनालाई व्यापकता दिने भएको छ ।
टास्क फोर्सका संयोजक नरेश कोइरालाको अध्यक्षतामा बसेको प्रथम पूर्ण बैठकमा आजसम्म विगतमा टास्क फोर्सले गरेका कार्यहरुको समिक्षा गर्नुका साथै आगामी दिनमा गरिने कार्यहरुको विवरण समेत तयार गरिएको छ ।
बैठकमा एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा विभिन्न देशहरुमा रहेका विभिन्न राष्ट्रिय समन्वय परिषदहरुसँग समन्वय गरि नेपालका विभिन्न क्षेत्रहरुमा लाइब्रेरी बिस्तार गरि त्यसलाई प्रभावकारी ढङ्गले संचालनमा ल्याउने निर्णय गरिएको हो ।
देशबाट परदेशिएर संसारको विभिन्न देशहरुमा रहेका नेपालीहरुले इच्छाएको स्थान वा बिद्यालयमा पुस्तकालय संचालन गर्न नेपाल लाइब्रेरी फाउन्डेन, नेपाल समेतको सहभागितामा आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको टास्क फोर्सका संयोजक नरेश कोइराला (क्यानाडा) ले बताए ।
देशको विपन्न विद्यालयमा पढेर आज संसारको सम्पन्न मुलुकमा पुगेका नेपालीहरुलाई कमसेकम पनि आफू पढेको विद्यालयमा पुस्तकालय स्थापना गरौँ भन्ने अभियान चलाउन ‘पढेको स्कुल, बढेको गाउँ, सबै मिलि लाइब्रेरी बनाउँ’, भन्ने नारा तय गरिएको फोर्सका सदस्य शिवजी श्रेष्ठ (बेलायत) ले बताए ।
अहिले लोकप्रिय हुदै गएको इ–लाइब्रेरी सँगै म्यानुयल लाइब्रेरीलाई पनि सँगै अगाडी बढाउन स्थानीय जनता तथा निकायको समेत यसमा सहभागितालाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ ।
नरेश कोइरालाको संयोजकत्वमा गठित टास्क फोर्समा उपसंयोजक चक्रबहादुर थापा ( न्युजिल्याण्ड) सदस्यहरुमा डा.अग्निराज कोइराला (दक्षिण कोरियाका), गंगाराम कंडेल ( आयरल्याण्ड), चुडामणि उप्रेती (क्यानाडाका), मोहन राज मिश्र (डेनमार्कका), डा. कृश हुमागाईं (क्यानाडाका), शिवजी श्रेष्ठ (बेलायत), रबिन थपलिया (क्यानाडा),सुनिल खड्का ( थाईल्याण्डका), बिष्णु हमाल (अष्ट्रेलियाका), राजीवजंग प्रताप केसी (क्यानाडा) रहेका छन् ।















प्रतिक्रिया