३ कार्तिक २०८३, मंगलबार

सरकारलाई सावित्री श्रेष्ठको सुझाव-बालकृष्ण ढुंगेल छाड्ने भए प्रत्येक हत्यारा छाडिदेऊ

23.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विनोद ढकाल/दैनिक नेपाल

काठमाडौं, ७ वैशाख । माओवादीका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी! यो सुन्नासाथ सावित्री श्रेष्ठको मनमा फरक–फरक तरङ्ग पैदा हुन्छन् । धेरै त्रास परिवारको सुरक्षासँग, थोरै घृणा राज्यको संयन्त्रसँग र केही आवेग राजनीतिक व्यवस्थासँग ।

सावित्री उज्जनकुमार श्रेष्ठकी दिदी हुन् जसको ढुंगेलले हत्या गरेका थिए । त्यहि न्यायीक लडाईमा १९ वर्षसम्म निरन्तर लडिरहेकी सावित्रीले ६ महिना अघिमात्र न्याय पाएको महशुस गरिन् जब ढुंगेललाई पक्राउ गरी सदरखोरमा पठाइयो । ‘सुरक्षाको अनुभुति गरिएको थियो । अब यो आममाफीको हल्लाले फेरि त्रसित बनाएको छ । उसले त बारम्बार हामीलाई मार्ने धम्की दिएको छ । मिडिया र युट्युवमा समेत त्यस्तो भाषण अहिले पनि छ’, उनी भन्छिन्,‘के राज्यले हाम्रा परिवारको सुरक्षाको ग्यारेन्टि लिएर आममाफी दिने हो ? यदि हत्याराले माफी पाउने हो भने हरेक हत्यारा जेलबाट निकाल्ने हिम्मत सरकारले राख्नुपर्छ ।’

उज्जनको हत्याको कारण के थियो ? माओवादीले अहिलेसम्म प्रस्ट भन्न सकेको छैन । तर यसलाई युद्धकालको एउटा परिघटनासँग जोडेर सत्यनिरूपणको माग गरिएको छ । सर्वोच्च अदालतले भन्यो,‘यो हत्यामा ढुंगेल दोषी ठहर देखिन्छन् आजीवन काराबास पठाउनू ।’

उज्जन हत्यासँग सावित्रीको लडाईमात्र जोडिएको छैन । उज्जनका सन्तानको बालापनदेखि अहिलेसम्मका तस्बिर जोडिएका छन् । १९ चैत, ०७४ मा डेढ रोपनी जग्गामा बनेको १२ कोठे स्कुलको नयाँ भवनको ठिक अघि थियो शालिक । उज्जनको त्यो शालिकमा एउटा हलक्क बढेको केटोले विभिन्न कोणबाट तस्बिर लिए । र, संस्मरणमा लेखे– सामाजिक कार्य गर्दा खुशी लाग्छ । बुवाको सम्झनाले सुखी बनाउँछ ।

२९ चैत, २०७४ माओवादी कार्यकर्ताहरूको एउटा जत्थाले त्यहि शालिक तोडफोड गरे । र, विजय श्रेष्ठको नाममा फेसबुकमा सानादेखि उज्जनले ब्रतबन्धमा लँगौटी बाँध्दै गरेकोदेखि शालिक अनावरण सम्मका तस्बिर राखेर लेखियो– आखिर के दोष थियो ढुंगाको शालिकको ? परिवारले कहिल्यै आफन्तको सम्मान र मायामा काम गर्न नपाउने हुन्छ ?

हलक्क बढेका केटो विजय नै हुन् । उज्जनकुमार श्रेष्ठका छोरा । इन्जिनियर अध्ययन गर्दैछन् । शालिक अनावरणको दिन आफ्नो वर्षभरीको मिहेनतको परिक्षा रोकेर ओखलढुंगा पुगेका थिए ।

हत्या हुनु तीन महिना अघि छोरा विजयलाई लगौंटी बाँध्दै उज्जन

विजय यतिमा रोकिएनन् । उनले रोषसहितको भावुक प्रश्न ढुंगेललाई गरेका छन् । ‘आखिर सत्ता बल धन पछिपछि हिँड्ने कार्यकर्ता छन् भन्दैमा एउटा परिवार माथि निरन्तर पिडा दिईरहने ? आश्चर्य लाग्यो कम्युनिष्ट भनाउँदा नेपालका नेताहरूको सोच विचारप्रति जो सहिदको सम्मान गर्नुपर्नेमा बुबाको सालिक तोडफोड गर्दै हिँड्छन्’, उनको प्रश्न छ,‘बालकृष्णलाई लाग्दो हो मैले जितें । सोध्न चाहान्छु के जितेका छौ ? खुशी परिवार तहसनहस बनाई पिडा दिएर तिम्रो परिवार खुशी हुनु जित हो ?’

यसरी भएको थियो उज्जन र गणेश हत्या
विजयको ब्रतवन्ध भएको तीन महिनापछि उज्जनको हत्या गरिएको थियो । १० असार, ०५५ ओखलढुंगाको टार केराबारी खहरे खोलामा भेटियो उनको लास । लाससँगै विजयको भविष्यको ढोका लड्यो, परिवारका मियोँको हत्यासँग जोडियो त्यस परिवार र माओवादीबीचको नकारात्मक सम्बन्ध ।

न्यायका लागि उजुरीका थाक बोकेर यता र उता गरिरहेका थिए, उज्जनका दाजु गणेश । कहिले प्रहरी, कहिले सेना त कहिले पार्टीका नेतामार्फत न्यायका लागि हिँडिरहेका थिए । एमाले कार्यकर्तामात्र होइन वडा अध्यक्ष नै बनिसकेका गणेश रामेछापमा रहेको हिमगंगा माध्यमिक विद्यालय साँगुटारका सञ्चालक समितिका अध्यक्ष पनि थिए । ‘उजुरी नगर्नका लागि माओवादीले धम्की दिइरहेका थिए । तर, न्यायका लागि लड्नु थियो ।

भाईमात्र मारिएको थिएन भाईसँगै गुमेको उनका सन्तानको छत, बाबुआमाको रहर, हामी दिदीबहिनीको माइतीको सम्बन्ध र भावना पनि लडेको थियो’, सावित्री थप्छिन्,‘त्यहि न्यायका लागि लड्दालड्दै हामीमाथि बज्रपात हुनेगरी माओवादीले दाजुको पनि हत्या गरिदिए ।’ ६ मंिसर, ०५९ सालमा गणेशको हत्या भएको थियो ।

उज्जन र गणेशको हत्यापछि माओवादीले उनीहरूको जायजेथासहित घरलाई पार्टी कार्यालय बनाए । ‘माओवादीको पार्टी कार्यालय भएपछि नेपाली सेना आएर बम पड्काएर ध्वस्त बनाइदिए घर’, गहभरी आँशु पारेर सावित्रि सम्झन्छिन्,‘त्यसपछि परिवार तहसनहस भयो । जायेजेथा माओवादीले लुटीसकेका थिए । सुनचाँदी सम्पत्ती केही बाँकी थिएन ।’

अहिलेको लिखु गाउँपालिका–९ मा त्यो घरमात्र छ । सेनाले जसरी लडाएको थियो त्यहि अवस्थामा । ‘हामीले अहिलेसम्म त्यहाँ चलाएका छनौं । त्यो हेर्दा नै कहालीलाग्दो विगत तस्बिर बनेर आउँछ ।’, उनी थप्छिन्,‘त्यो घरसँग जोडिएका लालाबालाका यादहरू पनि आउँछन् ।’

सावित्री भन्छिन्– यो राज्यमा बस्नेहरूको मुटु पोलिरहेको छ की छैन ?

०५७ मा १५/१६ जनाको परिवार काठमाडौं छिर्यो । माओवादी र सेनाको चपेटामा परेपछि उज्जनसँगै बस्ने बाबु–आमा र परिवारका सदस्यहरू रातोपुलमा २ कोठामा कोच्चिएर बस्नु पर्यो । ‘आपतमा आफन्तले पनि साथ दिँदा रहेनछन् । माओवादीले मार्छन् भन्ने त्रास पनि थियो होला, ति कहालीलाग्दो रातका उदास कथा धेरै छन् ।’, उनी भन्छिन्,‘भाईको हत्यापछि आमा डिप्रेशनमा जानुभयो । सम्हाल्न कठिन भयो ।’

१९ चैतमा शालिक अनावरणपछि उज्जनका छोरा विजय

तीन महिनाअघि बाबुको पनि निधन भयो । भाईको परिवार सम्हाल्दा सम्हाल्दै सावित्रीले द्वन्द्व र पीडामा परेका हरेक परिवारका पीडालाई पनि हातेमालो गर्दै आएकी छन् । ‘हामी न्यायका लागि दुई दशक लड्यौं । न्याय नपाएकाको हात समाउन पाउँदा पनि राम्रो कर्म गरे जस्तो लाग्छ ।’, उनी भन्छिन् ।

बार्षिक ४ देखि ५ जना पीडित र द्वन्द्वपीडित परिवारका बालबालिकालाई विद्यालयमा आफ्नो खर्चमा पढाउने गरेकी छन्, उनले । भन्छिन्,‘सबैका अनुहार हेर्दा मेरो परिवार, भदाभदैनी जस्तो लाग्छ । आफैं पनि द्वन्द्वपीडित भएर त्यस्तो लागेको हो ।’

पीडा दिने र अपराध गर्नेहरू राजनीतिक आवरणमा उन्मुक्तितिर लम्किँदा उनलाई उदेक पनि लाग्छ । ‘बालकृष्ण छाड्ने हल्ला आएको छ । राज्य यस्तो गर्न किन आतुर हुन्छ । के अपराधको सीमा पीडितलाई झन पीडित बनाउनेसम्म हो’, उनी थप्छिन्,‘एउटा अपराधी छाड्दा कति पीडा हुन्छ ? त्यसका अगाडी शिर झुकाउनुपर्ने ? यो राज्यमा बस्नेहरूको मुटु पोलिरहेको छ की छैन ?’