३० आश्विन २०८३, शुक्रबार

के डिआइजी खरेलले राजीनामा दिनु ठीक थियो ?

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल/दैनिक नेपाल

जब साथी फेल हुन्छ र आफू पास भइन्छ दुःख लाग्छ । जब आफू पास भइन्छ र साथी बोर्ड फस्ट हुन्छ अनि झन दुःख लाग्छ । पढेको किताब उही हो, गरेको कर्म त्यहि हो तर, निर्णायक विन्दुमा लिनुपर्ने एउटा मात्र निर्णयले यो नियतीलाई झेल्नै पर्ने हुन्छ । यो नियतीको शिकार डिआइजी रमेश खरेल भएका छन् ।

उनीमात्र होइन यहि दौडका अर्का स्पर्धी पुष्कर कार्की पनि भए । यदि यी ठाउँमा दुई जनाको नाम नभएको भए, अरु कसैको पक्कै हुने थियो । फेरि ३ वर्ष पछि यो नियती भोग्नुपर्ने बाध्यता आइलाग्न सक्छ । त्यसका लागि अहिले सोच्न जरूरी छ ।

आन्तरिक रूपमा सरकार गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रका नेतृत्वको इच्छाको टोकरीका कथा चले पनि संगठनमा योग्यहरूको स्पर्धामा एउटा योग्यले जिम्मेवारी पाएका छन्

नेपाल प्रहरीको महानिरिक्षक (प्रमुख)मा सर्वेन्द्र खनाल बढुवा भइसकेका छन् । अब यो निर्णयको विकल्प नै छैन । त्यसकारण यो निर्णयसँगै दुखेको मन र लिइएको निर्णयका विषयमा रमेश खरेलको चर्चा छ ।

यो चर्चामा रूमल्लिरहेको प्रश्न छ– के रमेश खरेलले राजीनामा दिनु ठीक थियो ?

विनोद ढकाल

हो, खरेलको भावनाको अनुकूलतामा रहेर व्याख्या गर्दा ठीक थियो । उनले सेवा सुरू गर्दा यसै संगठनको उपल्लो तहमा पुगेर संगठनको नेतृत्व गरि परिवर्तनका अथाह सम्भावना ल्याउने रहर पालेका थिए । तुलनात्मक रूपमा उनका व्याची सबैले गरेका थिए ।

भावुक भएर तत्काल राजीनामा दिनुको अर्को कारण आफ्नै साथीको कमाण्डमा कसरी निर्देशन मान्नु ? भन्ने पनि होला । तर, खनालले भनेकै थिए–मिलेर काम गरौं । खरेलको यसमा चित्त नबुझ्नु उनको वैयक्तिक कारण हुनसक्छ । राजीनामा घोषणा उनको नागरिक जीवनमा प्रवेश गर्ने निर्णयको प्राधिकार हो । तर, प्रहरी संगठन र चरित्रका लागि यो ठीक थियो त ?

प्रहरी नेतृत्वको अघिल्लो चरणको स्पर्धा, छापामार शैलीमा निषेध गर्ने षडयन्त्र र सतहमा देखिने गरी राजनीतिक दलका नेता रिझाएको कथा यस पटक देखिएन । आन्तरिक रूपमा सरकार गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेतृत्वको इच्छाको टोकरीका कथा चले पनि संगठनमा योग्यहरूको स्पर्धामा एउटा योग्यले जिम्मेवारी पाएका छन् ।

आइजीको स्पर्धामा रहेका डिआइजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की नै उत्तम पात्र थिए । कसैमा पनि खोट लगाउने ठाउँ छैन, नेतृत्वका लागि । तर पद भन्दा पनि जिम्मेवारी गहन ठाने मात्रै संगठनको मर्यादा जीवित रहन्छ । खरेललाई राम्रोसँग थाहा थियो प्रहरी नियमावलीका अनुच्छेद पनि । भलै अहिलेको आइजी बढुवामा कानुनी रूपमा यी अनुच्छेदको मर्मको प्रभाव त्यति नहोला तर कार्यकौशलताको मूल्यांकन पनि कम आँक्न हुन्न ।

प्रहरी संगठनको लिडर हुनु भनेको अरुको संवेदनाको हेक्का नराखी न्याय र अन्यायको परख गरी अघि बढ्नु हो । खरेलले आफ्नो २९ वर्षको सेवा अवधिमा यहि गतिलाई गीत बनाएर नहिँडेको भए आजको दिनमा प्रमुख वा नेतृत्वका लागि स्पर्धाका पात्र हुने थिएनन्

यी बाहेक अन्य नौ जना पनि नेपाल सरकारका डिआइजी नै थिए । उनीहरूमा पनि आइजी बन्ने आकांक्षा थियो होला । सबैले राजीनामा दिँदै बस्ने हो भने संगठनको मार्यादा र सीमाको ख्याल कसले गर्दछ ? कस्तो संस्कारबाट नेपाल प्रहरी गुज्रिएला ? राजीनामासँग यस्तो प्रश्न स्वभाविक भएर जोडिन्छ ।

प्रहरी संगठनको लिडर हुनु भनेको अरुको संवेदनाको हेक्का नराखी न्याय र अन्यायको परख गरी अघि बढ्नु हो । खरेलले आफ्नो २९ वर्षको सेवा अवधिमा यहि गतिलाई गीत बनाएर नहिँडेको भए आजको दिनमा प्रमुख वा नेतृत्वका लागि स्पर्धाका पात्र हुने थिएनन् । खरेलको मन जति बिझेको छ, यदि उनलाई प्रमुखको जिम्मेवारी दिएको भए अरूको मन कति बिझ्थ्यो हेला ? यस कुराको पनि हेक्का राखेर संगठनमा अघि बढ्नुपर्ने थियो । भावना र आवेशका कारणले आफूले पाउने सेवा निवृत्तको पुरस्कारबाट आफैं मात्र बञ्चित भएका छैनन्, उनी ।करिअरको उत्तरार्धमा लिएको निर्णयले जति कार्यकौशलता भए पनि पद नै ठूलो हो भन्ने ‘मूलायम सन्देश’ प्रवाह गरिरहेका छन् ।

प्रहरी प्रमुखको दौड जहिले पनि ‘कतारका सहरका विराला’को जस्तो देखिन्थ्यो । यस पटक त्यस्तो देखिएन । यो भद्र दौड हुँडलिएको तीतोभित्र पनि भद्र बहिर्गमनको बाटो समात्ने प्रयत्न भएको छ । भद्र बिरोधको प्रारूपमा अधरमा आँसु लुकाएजस्तो देखिएको छ । नेतृत्वका लागि दौडँदा केही इञ्चको फरकका निर्णय भएका कारणले चित्त दुखाउनुपर्ने कारण छैन । यहाँ नियतको जालझेल पनि हुनसक्छ तर धेरै नियतीको प्रभाव छ । कार्य सम्पादन र मूल्याङ्कनका आधारलाई टेक्ने ठोस लिफाफा बनिसकेको थिएन ।

गीतामा भनाई छ– जे भयो ठीक भयो, जे भइरहेको छ ठीक भइरहेको छ । जे हुनेछ ठीक हुनेछ । यसलाई अलिकति मिलाएर भन्नुपर्छ अब– जे हुनेछ त्यसलाई ठीक बनाउने प्रयत्न गरिनेछ, प्रहरीभित्र । यो चुनौती बधाई थाप्दै गरेका प्रहरी महानिरीक्षक खनालका सामु छ ।

गलत कार्यविधि र नियमावलीले चलिरहेको संगठनभित्र अर्को विकल्प हुनै सक्तैनथ्यो । यो गल्ती अघिल्लो आइजी बढुवाका क्रममा विद्यमान थियो । यसलाई सकार्नका लागि स्वयम् खरेलले पनि यति समयसम्म कुनै पहलचाहीँ गरेनन् । बरु, मौन बसे । त्यो मौनताले जन्माएको यो परिस्थितिमा खरेलजस्तो कर्मठ प्रहरी अधिकारीले हठात् राजीनामा दिनु ठीक थिएन ।

गीतामा भनाई छ– जे भयो ठीक भयो, जे भइरहेको छ ठीक भइरहेको छ । जे हुनेछ ठीक हुनेछ । यसलाई अलिकति मिलाएर भन्नुपर्छ अब– जे हुनेछ त्यसलाई ठीक बनाउने प्रयत्न गरिनेछ, प्रहरीभित्र । यो चुनौती बधाई थाप्दै गरेका प्रहरी महानिरीक्षक खनालका सामु छ ।

अबको नेतृत्वले यस्तो मन दुखाउने, चित्त बिझाउने प्रणालीको अन्त्य गर्ने नयाँ कार्यविधि तयार पारोस् । जसरी नेपाली सेनामा आगामी नेतृत्वकर्ता पहिले नै थाहा हुन्छ त्यसरी नै थाहा पाउने गरी विधिको प्रयोग होस् । अबको कार्यविधि खरेलको जस्तै मन दुख्ने, दुखाउने, बिझाउने, भिजाउने प्रकारको नहोस्, सबैको दिल रिझाउने कागजी बकपत्र बनोस् ।