
– विनोद ढकाल / दैनिक नेपाल
समाचार टिप्पणी
विश्वेश्वरप्रसाद कोइरालाका अन्तिम चिनो अर्थात नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएपछि समग्र कांग्रेसजनमात्र होइन, उनलाई निर्दोष ठान्ने प्रत्येक समुदाय दुःखी छ । खासगरी मूलधारको राजनीतिक दलभित्र हिन्दू धर्म सापेक्षताको नारा लगाउनेहरूका विक्षिप्तताको प्रतिशत धेरथोर छ ।
कांग्रेस १२ औं महाधिवेशनका तीन पिल्लर मध्ये एक थिए उनी । यदि सभापति शेरबहादुर देउवाले महाधिवेशनका बेला उनको साथका लागि नगुहारेको भए परिस्थिति फरक बन्न सक्थ्यो । भ्रष्टाचारको मुद्दाको सजाय भोग्दा पनि जेलमा बसेर एउटा पिल्लरको नेतृत्व गरेका खुमबहादुरको कांग्रेस इतिहास विश्वेश्वरप्रसाद कोइरालासँग जोडिएका कारण उनले गिरिजाप्रसाद कोइरालालाई पनि त्यति मानेनन् । शेरबहादुर परिस्थितिजन्य घडीको लामो सुई बनेका थिए ।
आफ्ना कार्यकर्ता, प्रहरी संगठन लगायत उनका नजिकका पात्रहरूले खुमबहादुरलाई दिलदार भनेर चिन्छन् । निर्दलीय पञ्चायत व्यवस्थाविरूद्ध संघर्ष गर्दै लामो इतिहास बनाएका खड्का बहुदल आएपछि पार्टी पङ्तिमा असाध्यै मित्रवत प्रकृतिका लोकप्रिय नेता थिए । नेपाली कांग्रेसका संस्थापक नेता वीपीसँगै खड्काले भारतमा निर्वासन जीवन विताए । २०३३ सालमा वीपीसँगै मेलमिलाप नीति लिएर उनी स्वदेश फर्केपछि लामो समय राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएका थिए । प्रजातन्त्र स्थापनापछि उनी तीनपटक आम चुनावमा दाङबाट निर्वाचित भएका थिए । खड्का सत्ता राजनीतिमा माहिर खेलाडी थिए ।
पछिल्लोपटक कांग्रेस विभाजनका क्रममा उनको गिरिजाप्रसाद कोइरालासँग कुरा नमिल्दा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसमा महामन्त्री बनेका खड्का कांग्रेस एकतापछि पनि महासमितिमा बहुमतमा थिए । कांग्रेसले धर्म निरपेक्षता स्वीकारे पनि खड्का एक्लै धर्म सापेक्षताका अभियन्ता थिए, जसले कांग्रेसको छाताभित्र हिन्दू धर्मका लागि विभिन्न अभियानमा सक्रियता अपनाए, कसैले रोकेनन् । २०५९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बक्राहा नदी नियन्त्रण आयोजना लगायतमा भ्रष्टाचारको मुद्दामा जेल चलान गरेपछि खड्काले महामन्त्री पदबाट राजीनामा गर्नुपरेको थियो । त्यही बेलादेखि उनको जीवनले ओरालो यात्रा सुरु गर्यो ।
अख्तियारले मागेको तीन करोड धरौटी २०५९ पौष १९ मा बुझाएर धरौटीमा रिहा भएपछि उनी आक्रामक रूपमा राजनीतिमा उदाएका थिए । तर, सर्वोच्च अदालतले खड्कालाई २०६८ साल साउन ३० गते भ्रष्टाचारी ठहर गरेर जेल पठाएपछि उनको राजनीतिक जीवनमा कालो धब्बा नै लाग्यो । खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो तथा त्यतिनै जरिवाना गरेको थियो ।
तत्कालीन न्यायाधीशहरु कल्याण श्रेष्ठ र को वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको मुद्दामा दोषी मान्दै खड्कालाई भ्रष्टाचारी ठहर गरेको थियो । पटक पटक गृहमन्त्री हुँदा उनले प्रहरीदेखि अन्य सुरक्षानिकायमा आफूनिकट सयौँ सर्वसाधरणलाई भर्ना गराएका थिए । भ्रष्टाचारको मुद्दा लाग्नुअघि लोकप्रियताको शिखरमा रहेका उनी त्यसपछि रातारात भिलेन बन्न पुगे ।















प्रतिक्रिया