काठमाडौं । ‘आजभोली बद्री पंगेनी चलेको छ, बाँकी केही चलेको छैन’, लोक गीतका विरासत गायक कुमार बस्नेतको जीवनका चुरो खोज्नेक्रमको संवादको पहिलो शव्द घुयँत्रो । जीवनको उत्तरार्ध, हृदयको पूर्वाद्धमा नै छन् उनी । बोलीमा रस छ, शव्दमा जोश छ । गालाका छाला थोरै चाउरी परेका छन्, बाँकी तात्विक परिवर्तन छैन उनमा ।
बस्नेतको सांगितक विगत निक्कै रमाइलो छ । कलाकारितामा प्रवेश गर्ने उनको रहरको यात्राका उतारचढाव पनि छन् । टिठ लाग्ने त्यस्तो केही छैन, प्रित लाउने काम ज्यादा छन् । रमाईला किस्सा छन्, घटनाक्रमका ऐतिहासिक हिस्सा छन् । गीत गाउन जाँदा जामा लगाएर मञ्चमा छिरेदेखि ३५ रूपियाँको बकससम्मका ।
सुन्दा काउकुती पनि लाग्ने, ठट्यौली पनि लाग्ने तर यथार्थ चित्रण भएका गीतमा उनको पृथक स्वरस्वाद त छँदै थियो । रेडियो सुन्नेहरूको परम्परागत समाजले ‘छ्या कति उल्पट्याङ कुमार बस्नेत’ नभन्ने कुरै थिएन । यस्ता झिना मसिना टिप्पणीले उनको गीतियात्रा रोकिएन । अझै गीतमा रमाउने बस्नेत भन्छन्,‘अमेरिका, अष्ट्रेलियालगायतका ठाउँमा त बोलाइरहेका हुन्छन् । कतै कतै जाने गरेको छु ।’
७४ को उमेर योगमा पनि छन्, कुमार । नयाँ पुस्ताको ठट्यौली युगमा पनि छन्, कुमार । त्यसैले निर्विकल्प ‘कुमार’कै बिम्बजस्ता देखिन्छन् । अन्तरवार्ताका लागि समय दिने वा धाइरहने उनको सौख होइन, बानी पनि छैन । असाधारण क्षमता र श्रेय छ तर पनि साधारण जीवन मन पर्छ, उनलाई । विस्तारै खुल्दै गए । तपाईको खास परिचय के हो ? प्रश्न खस्न नपाउँदै उत्तरको झटारो हाने,‘म ५० प्रतिशत गायक र ५० प्रतिशत ह्यान्डसम हुँ ।’ अर्थात् शतप्रतिशतमा ‘ह्यान्डसम गायक’ ।
अहिलेको लोकबजारलाई हेर्ने हो भने उनी ‘ग्ल्यामर’ लोकका क्रान्तिनायक मान्नुपर्छ । गीतमा छाडापन होइन, मिठो ग्ल्यामर अपिल हुनुपर्ने उनी ठान्छन्
दरबारदेखि जंगलसम्मका अनेक अनुभव छन्, बस्नेतसँग । तत्कालीन उपसचिव गंगाबहादुर बस्नेत र आमा मनकुमारी बस्नेतका सन्तान (जन्म विसं २०००) ‘सेक्सी’ प्रस्तोता हुन् । काठमाडौंको कमलपोखरी कुमारी हल नजिक उनले पृथ्वीमा अवतरण गरे, गंगाबहादुरपुत्रका रूपमा ।

लामो समयसम्म प्रतिलिपि अधिकारको अध्यक्ष, संगीत संघको अध्यक्षका रूपमा पनि काम गरेका कुमार बस्नेत एउटा कालखण्डकै आधुनिक पात्र हुन् । कैयौं केटी मरिहत्ते गर्थे । तीन छोरा तीन छोरीका धनी कुमार बस्नेतका गीत सुनेर समय–समयमा उनलाई भल्गर पनि भनियो । तर, अहिलेको लोकबजारलाई हेर्ने हो भने उनी ‘ग्ल्यामर’ लोकका क्रान्तिनायक मान्नुपर्छ । गीतमा छाडापन होइन, मिठो ग्ल्यामर अपिल हुनुपर्ने उनी ठान्छन् ।
लै बरी लै लै बरी लै, गाउँकी ठिटी सबैलाई
शनि सातको दशाले घुमाउँदा, हेलामा गर्छन् हामीलाई
यहि गीतको भाव तत्कालिन समाजको प्रतिबिम्ब थियो । ‘यसले परिचयको दायरा फराकिलो त बनायो नै, मेरो शैलीलाई मध्यम पनि राख्यो ।’, बस्नेत भन्छन् ।
जीवनमा गाएको पहिलो पपगीतले निम्त्याएका घटनाक्रम पनि बडो रोचक छन् । ‘दिउँला यो जोवन तिमीलाई दिउँला’ भन्ने पपगीतको निकै चर्चा भयो । राष्ट्रिय नाँचघरमा ५ पटकसम्मको ‘वान्स मोर’लाई त पूरा गरें । छैटौं पटक गाउन नै सकिनँ । पछि थाहा भयो मैले गीत नगाएका कारणले दर्शकले नाचघर तोडफोड नै गरेछन् । त्यसपछि यो गीत गाउन नै ब्यान्ड गरियो ।’
नाचघरका तत्कालिन स्टेज म्यानेजर यमबहादुर खड्काले उनलाई त्यो गीत गाउन प्रतिबन्ध लगाएका थिए । एउटा गीतमा एक ठाउँको प्रतिबन्धले लक्ष्यको गोरेटो बन्द हुन्छ र ? उनको कयन लोक गीत नै तत्कालिन स्रोताको जिब्रोमा झुन्डियो । ०४८ सालको गीत–
छोरी भन्दा आमा तरूनी लिपिस्टिक पाउडरले
लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले
बोलको गीत युगकै सफल भयो । नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतको प्रशंसा बटुलेका कुमार बस्नेर्त गायकभन्दा पहिला कुशल ‘डान्सर’ थिए । ‘आठ वर्षको उमेरदेखि नै मैले नाँचेको थिएँ । म केटी बनेर पनि कत्ति समयसम्म नाँचेँ । नेपालमा हुने नाटकमा त नाँचे नै भारतको आसामलगायत ठाउँमा पनि पुगेर नाच देखाएँ’, उनी भन्छन् ।
डा. के आई सिंहको पार्टीको चुनावका बेला भैरहवामा गिटार किनिदिने प्रलोभनमा नाँच्न गायक धर्मराज थापासँग पुगेका बस्नेतलाई ३५ रूपैयाँ दिएर फर्काएपछि उनी राजनीतिक दलका कार्यक्रममा जान छाडे
कलाकारिताको प्रवेश भीमनिधि तिवारीले गराएको स्मरण गरेका बस्नेत ‘अमरसिंह’ नाटकमा नाँच्न लालदरबार (अहिलेको याक एन्ड यती) होटलमा पुगेका थिए । उनले त्यस नाटकमा नाँचेनन् तर करिअर भने सुरू गरेका थिए । तत्कालीन भारतीय नेता जवाहरलाल नेहरू २ पटक नेपाल आउँदा नाँचेर देखाएका उनले बेलायतकी महारानी एलिजावेथ नेपाल आउँदा पनि राणाको सिंहदरबारमा रहेको नाचघरमा पनि नाँचे ।’
बालकृष्ण समका छोरा जनार्दनसँगै गीत गाएका बस्नेतले २ सय बढी गीत रेकर्ड गराइसकेका छन् । आफ्नो यौवनावस्थाको संघर्षबारे भन्छन्, ‘त्यसबेला जय नेपाल हलमा गाउँथ्यौं हामी । तारादेवी, कोइली देवीहरू गायिका थिए । तैपनि, म महिलाको आवाज निकालेर गाउँथेँ ।’

कवि वासु शशिले केटी बनाएर नचाए, लक्ष्मीप्रसाद देवकोटाहरूलाई नाँचेर देखाउथे । राजनीतिक दलसँग सानैदेखि चिढिएका उनलाई लाग्छ, राजनीति कार्यकर्ता भनेका नेताका लँगौटी हुन् । डा. के आई सिंहको पार्टीको चुनावका बेला भैरहवामा गिटार किनिदिने प्रलोभनमा नाँच्न गायक धर्मराज थापासँग पुगेका बस्नेतलाई गिटारको साटो ३५ रूपैयाँ दिएर फर्काएपछि उनी राजनीतिक दलका कार्यक्रममा जान छाडे ।
सन् १९६५ मा पहिलो पटक नेपाल सरकारको डेलिगेसनका रूपमा चीन पुुगेका थिए उनी । ‘चीनको अध्ययन गर्न पाइयो । माओत्सेतुुङ, चाउन लाइनले गरेका काम देख्न पाइयो । चीन विकासको क्रममा थियो’, उनी भन्छन् । हिमालयसमशेर राणाले राष्ट्र बैंकमा ०१६ सालमा मासिक ८० रूपैयाँमा जागिर लगाइदिएको स्मरण गरेका बस्नेत थप्छन्, ‘त्यसपछि कर्मचारी सञ्चय कोषमा त्यति नै रकममा काम गर्न थालेँ । ३९ वर्ष काम गरेर ०४९ सालमा मैले कर्मचारी सञ्चयकोषबाट स्वेच्छिक अवकाश लिएको हुँ ।’
उनको मन आधा शताव्दि र दुई दशक बढीको उमेरमा पनि ‘कुमार’ नै छ । मन कुमार भएपछि भै’गो नि ! तन बुढो भएर के हुन्छ र ?
बस्नेत अक्सर शिकार खेल्ने सौखमा हुर्किएका थिए । काठमाडौंमात्र होइन, धादिङदेखि नुवाकोटसम्मका त्यस्ता जङ्गल नहोलान्, उनले जहाँ शिकार नखेलेका हुन् । ‘शिकार खेल्न कति हिँडियो, कहिले बाघसँग साक्षात्कार भयो, कहिले स्यालसँग जम्काभेट’, उनी स्मरण गर्छन्,‘लक्का जवानमा गर्ने काम धेरै गरिए ।’
जवानीका सुर र ताल अहिले झन् जवान छन् । न उनको शैली कसैको खोस्न सक्छ, न व्यवाहार । बरु, उनीजस्तो सदाबहार खुशी हुने हिम्मत सबैमा नहुन सक्छ । त्यसैले संगीत बजार धेरै उचाईमा पुगेकाहरूले भुईँतिर नियाँल्दा आफूलाई भूईमान्छे नै देखाउने तत्व बनेका छन् बस्नेत ।
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के–को दोष ?
०५३ सालमा यहि गीतले उनको लोकसत्ता स्थायी बनाएर कायम राख्यो ।
सम्झनै नसक्ने गरी विश्वका धेरै देशका स्टेज तताएका उनीसँग अनौपचारिक भेटवार्ताको निरन्तरताको उपज हो, सम्बोधनमा ‘कुमार दाई’ । उनी खुसी हुन्छन् । त्यसैले उनको मन आधा शताव्दि र दुई दशक बढीको उमेरमा पनि ‘कुमार’ नै छ । मन कुमार भएपछि भै’गो नि ! तन बुढो भएर के हुन्छ र ?















प्रतिक्रिया